काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, बुधबारदेखि देशभर विभिन्न कार्यक्रमसहित सुरु भएको छ । अभियानको शुभारम्भसँगै सरोकारवालाले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन, पीडितलाई संरक्षण तथा न्याय सुनिश्चित गर्न र कानुनमा आवश्यक सुधार गर्न जोड दिएका छन् । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितको संरक्षण, दोषीलाई कारबाही र न्याय सुनिश्चित गर्न सबै पक्ष एकजुट हुन आह्वान गर्नुभएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ को शुभारम्भका अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उहाँले हिंसामुक्त, विभेदरहित र सुरक्षित समाज निर्माण सरकारको प्राथमिकता भएको बताउनुभयो । उहाँले घरेलु तथा यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, जातीय विभेद, मानव बेचबिखन र डिजिटल हिंसा अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै पीडितलाई उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श र पुनःर्स्थापनाको व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सोही अवसरमा लैंगिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय कार्ययोजना विमोचन गर्दै मन्त्री बादीले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । साथै, पहुँच र शक्तिका आधारमा हिंसा गर्ने व्यक्तिले कानुनी उन्मुक्ति पाउन नहुने उहाँको भनाइ थियो । मंसिर १० देखि पुस २५ (नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म सञ्चालन हुने यस वर्षको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरिएको छ । कानुन सुधार र दण्डहीनता अन्त्यमा जोडबुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनमा सुधार आवश्यक रहेको बताएका छन् । सरकारले प्रस्ताव गरेको मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकले पनि यौन हिंसासँग सम्बन्धित सबै विषय समेट्न नसकेको उनीहरूको भनाइ थियो । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले यौन हिंसाका पीडकलाई कडा कानुनी व्यवस्था हुनुपर्ने बताउँदै जन्मकैदको अर्थ २५ वर्ष मात्र रहने र विभिन्न छुटका नाममा छिट्टै बाहिर निस्कने अवस्था सुधार्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र नपुग्ने भन्दै विशेष सजायको व्यवस्था हुनुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्डको सजाय राख्नुपर्ने माग उठे पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएकाले नेपालमा संविधान र कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड सम्भव नभए पनि कठोर सजायको व्यवस्था गरिनुपर्ने बताउनुभयो । नेकपा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थिति र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर पीडकलाई सजायको बोध हुनेगरी कठोर कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा भएका कुल अपराधमध्ये २९ प्रतिशत घटना लैंगिक हिंसासँग सम्बन्धित रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार ती घटनामा ७८.५ प्रतिशत पीडक पीडितका परिचित व्यक्ति रहेका र ६२.४ प्रतिशत बालिका पीडित भएका छन् । अर्का अधिवक्ता विनोदचन्द्र देवकोटाले संवेदनशील विषय भएकाले हतारमा कानुन बनाउनुभन्दा व्यापक छलफल गरेर प्रक्रिया अघि बढाउनु उपयुक्त हुने सुझाव दिनुभयो । फेरिँदो हिंसाको स्वरूपअभियानको पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा युथ एड्भोकेसी नेपालको आयोजनामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न, राज्यका प्रत्येक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न, रोजगारी तथा स्वरोजगारमा पहुँच बढाउन र बालबालिकाका लागि समावेशी तथा गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । त्यस्तै, डिजिटल हिंसा, घृणा र बुलिङ अन्त्य गर्नुपर्ने मागसहित जनचेतनामूलक नाटकसमेत प्रस्तुत गरिएको थियो । यता, जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा वसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियान सुरु गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको उक्त कला तीन युवा महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पार्नुभएको हो । ‘उनका धेरै झोला छन्, सबैले देख्छन् । तर, सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित कलाले महिला तथा किशोरीले भित्रभित्रै सहने पीडा र डरलाई उजागर गरेको छ । कार्यवाहक प्रमुख डंगोलले हिंसा र विभेद अन्त्य गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । क्लबकी अध्यक्ष मृदुला राजभण्डारीले ‘जोन्टा सेज नो’ अभियानमार्फत संवादलाई व्यावहारिक परिवर्तनमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो भने समितिकी अध्यक्ष दिप्ती आचार्यले कलाले अदृश्य पीडालाई सार्वजनिक बहसमा ल्याएको उल्लेख गर्नुभयो । अभियान अवधिभर वसन्तपुरमा कला प्रदर्शनी खुला रहने र काठमाडौं तथा दाङमा सामुदायिक दौड, फ्ल्यास मोब, सामुदायिक संवाद तथा कार्यशाला आयोजना गरिने जनाइएको छ । अर्कातर्फ, राष्ट्रियसभा सदस्यद्वय रामकुमारी झाँक्री र कमला पन्तले हिंसाको स्वरूप बदलिँदै गएको र सामाजिक सञ्जाल तथा साइबर हिंसा गम्भीर चुनौती बनेको बताउनुभएको छ । झाँक्रीले हिंसाका घटना बढेको भन्दा पनि सचेतना र उजुरी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अनुसन्धान र प्रमाणका आधारमा न्याय निरूपण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भिडको दबाब र अपुष्ट धारणाले न्याय प्रक्रियालाई प्रभावित पार्न नहुने, सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने र कानुनको दुरुपयोग तथा वास्तविक पीडित अन्यायमा पर्ने दुवै अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य कमला पन्तले भने महिला हिंसाको प्रकृति परिवर्तन भई साइबर अपराध, चरित्र हत्या, फोटो जोडेर गलत प्रचार गर्ने प्रवृत्ति र राजनीतिक हिंसा बढेकाले अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयन, निष्पक्ष अनुसन्धान, उजुरीमाथि गम्भीर छानविन तथा आर्थिक र सामाजिक अवस्थाका आधारमा हुने विभेद अन्त्य गरी पीडितलाई समान न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






