बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । सन् २०२६ को अक्टोबरसम्म झण्डै आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख ९२ हजार १८८ पर्यटक लुम्बिनी आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५० हजार ६१० ले बढी हो । गत वर्ष अक्टोबरसम्म सात लाख ४१ हजार ५७८ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । कोषको तथ्यांकअनुसार यस वर्ष लुम्बिनी आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा आन्तरिक पर्यटकको छ । अक्टोबरसम्म पाँच लाख ९८ हजार ९५२ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । दुई लाख २१ हजार ५७० भारतीय र तेस्रो मुलुकका ९७ हजार ८५६ पर्यटक लुम्बिनी पुगेका छन् । गत वर्षको तुलनामा नेपाली पर्यटकको संख्या ६२ हजारभन्दा बढीले बढेको छ । भारतीय पर्यटकको आगमनमा पनि १३ हजार ८०० भन्दा बढीको वृद्धि देखिएको छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको कोषका सूचना अधिकारी डा. हरि राईले जानकारी दिए । लुम्बिनीमा आन्तरिक पर्यटकको आकर्षण बढ्नुका साथै अन्तर्राष्ट्रियस्तरमा बुद्ध जन्मस्थलको प्रचारप्रसार विस्तार हुँदै जानुले पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको डा. राईको भनाइ छ । बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनी धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य हो । पछिल्लो तथ्यांकले लुम्बिनीमा आन्तरिकसँगै अन्तर्राष्ट्रिय पर्यटकको आवागमनसमेत बढिरहेको देखाएको छ ।
लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






