Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

लामो समयदेखि संवैधानिक इजलास प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामो समयदेखि संवैधानिक इजलास प्रभावित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विगत डेढ महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास गठन हुन नसक्दा अढाइ सय मुद्दाहरू प्रभावित भएका छन् । इजलास गठन गर्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद देखिएपछि संवैधानिक विवादसँग सम्बन्धित २४६ मुद्दाहरू प्रभावित भएका हुन् । प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक गत २१ असोजमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । तर, न्यायाधीश हरिप्रसाद फुँयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसयता संवैधानिक इजलास गठन हुन सकेको छैन । इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी १९ सहित विभिन्न प्रकृतिका २४६ मुद्दा विचाराधीन छन् । तीमध्ये ३८ मुद्दा पाँच वर्षभन्दा पुराना छन् भने करिब ३० मुद्दाले पहिलो सुनुवाइकै अवसर पाएका छैनन् । संविधानको धारा १३७ मा संवैधानिक इजलासको व्यवस्था छ । यसले संविधानको व्याख्या, राज्य सञ्चालन तथा संवैधानिक विवादसँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्छ । तर, इजलास गठनमै अन्योल कायम रहँदा महत्त्वपूर्ण संवैधानिक मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । इजलास गोलाप्रथा वा वरिष्ठताका आधारमा गठन गर्ने भन्नेमा छैन एकमतसंवैधानिक इजलास गठनका लागि प्रधानन्यायाधीशले न्यायाधीश तोक्ने, वरिष्ठताका आधारमा इजलास गठन गर्ने वा गोला प्रक्रिया अपनाउने भन्ने विषयमा न्यायाधीशहरूबीच सहमति जुट्न सकेको छैन । प्रधानन्यायाधीश शर्मा संविधानले आफूलाई इजलास गठन गर्ने अधिकार दिएको भन्दै संवैधानिक व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्ने पक्षमा रहँदै आउनुभएको छ । तर, अधिकांश न्यायाधीशले गोला प्रक्रिया लागू गर्नुपर्ने धारणा राख्दै अएका छन् भने केहीले वरिष्ठताका आधारमा न्यायाधीश तोक्नुपर्ने अडान लिएका छन् । संवैधानिक इजलासको रोस्टरमा प्रधानन्यायाधीश शर्मासहित १० जना छन् । जसमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र सुनीलकुमार पोखरेल छन् । उनीहरूमध्येबाट प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन हुन्छ । तर, चार न्यायाधीश कसरी तोक्ने भन्नेमा एकमत छैन । यस्ता छन् सुनुवाइ प्रभावित भएका विचाराधीन मुद्दाहरूसर्वोच्च अदालतको तथ्यांकअनुसार संवैधानिक इजलासमा २०७५/७६ देखि विचाराधीन २४६ निवेदनमध्ये ३८ वटा पाँच वर्षभन्दा पुराना छन् । सबैभन्दा पुरानो सूर्य नेपाल प्रालिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाएर २२ साउन २०७५ मा दर्ता गरेको रिट हो । पहिले सातामा दुई पटक संवैधानिक इजलास गठन हुने गरेकामा शर्मा प्रधानन्यायाधीश बनेपछि बुधबार गठन हुन थालेपछि रिटले पालो पाउनै गाह्रो पर्दै गएको थियो । सर्वोच्च अदालतका अनुसार संवैधानिक इजलासमा अड्किएका मुद्दा १४ प्रकारका छन् । जसमा कर, ज्येष्ठ नागरिक, निजामती, निर्वाचन, बेपत्ता पारिएका व्यक्ति र संक्रमणकालीन न्याय, राजनीतिक दल, शिक्षा ऐन, संसद् पुनःस्थापना, सम्पत्तिसम्बन्धी हक, स्थानीय तह विवाद, सुर्तीजन्य पदार्थको बिक्री–वितरण, समलिंगी विवाह, स्तरवृद्धि (समायोजन) र अन्य रिट । यसमा सुशीला कार्की नेतृत्वको सरकार र बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट पनि छन् । शिक्षासम्बन्धी ३९ रिट छन् । गत वर्ष (२०८२ भदौ २३-२४) को ‘जेन-जी’ आन्दोलनपश्चात् बनेको अन्तरिम सरकार र भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै दायर भएका १६ वटा रिट निवेदन संवैधानिक इजलासमा विचाराधीन छन् । इजलास अवरुद्ध हुँदा राजनीतिक र संवैधानिक दृष्टिले अत्यन्त संवेदनशील मानिएको यो मुद्दा लामो समयदेखि अनिर्णीत बनेको छ । सरकारले २०८३ वैशाख २ गते पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठन गरेको सम्पत्ति छानविन आयोगको क्षेत्राधिकार (अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारसँग बाझिएको भनिएको विषय) विरुद्धका रिटहरूको सुनुवाइ पनि रोकिएको छ । संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको यो मुद्दा प्रधानन्यायाधीशको प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा लगिएपछि विवाद भएको थियो । त्यसविरुद्ध अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको पूरक रिटसमेत अनिर्णयको चेपुवामा परेको छ । त्यस्तै, सरकारले अध्यादेश र मन्त्रिपरिषद्को निर्णयमार्फत गरेका विभिन्न विवादित कदमहरू संवैधानिक इजलासमा परीक्षणको पर्खाइमा छन् । निजामती कर्मचारीका ट्रेड युनियन खारेजी, विद्यार्थी संगठन विघटन, अध्यादेशमार्फत पदाधिकारीहरूको पदमुक्ति तथा सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी निर्णयविरुद्धका रिटहरूको अन्तिम टुंगो लाग्न सकेको छैन । अझ मंसिर २ गते ट्रेड युनियन खारेजी विवाद पुनः संवैधानिक इजलासमा पठाउने आदेश भएपछि इजलास नबसेसम्म यो विषय पनि अलपत्र नै रहने निश्चित भएको छ । अव्यवस्थित बसोवासीका नाममा सरकारी, सार्वजनिक र वन क्षेत्रको जग्गा न्यूनतम मूल्यांकनको १० प्रतिशत दस्तुरमा लालपुर्जा वितरण गर्ने कानुनी व्यवस्थाविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी भए पनि संवैधानिक इजलास नबस्दा अन्तिम सुनुवाइ अघि बढ्न सकेको छैन । असोज २१ गते सुनुवाइका लागि पेसी तोकिएका ३२ वटा मुद्दा इजलास वहिष्कार/असहमतिकै कारण एकैपटक स्थगित भए । त्यसमा विभिन्न कानुनको संवैधानिक परीक्षण, मौलिक हक हनन र वर्षौंदेखि थन्किएका पुराना संवैधानिक विवादहरू समेत समावेश थिए । उक्त दिन फोहोरमैलासँग जोडिएका मुद्दा, स्वास्थ्यसँग जोडिएका र नियुक्ति र संवैधानिक जटिलतासँग जोडिएका मुद्दाहरू सुनुवाइका लागि पेसी तोकिएको थियो । असोज २१ यता इजलास नबस्दा विशेषगरी राज्य सञ्चालन, कार्यपालिकाको अधिकार, मौलिक हक र संघीयतासँग प्रत्यक्ष जोडिएका विभिन्न प्रमुख र संवेदनशील प्रकृतिका मुद्दाको सुनुवाइ अवरुद्ध भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यार्थीबाट उठाएको शुल्कमा अनियमितता
Latest NewsJust now

विद्यार्थीबाट उठाएको शुल्कमा अनियमितता

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ११ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा आर्थिक अनियमितता भएको आशङ्कामा... ...

गोरखापत्र
श्रीलंकासँग पराजित हुँदै राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो
Latest NewsJust now

श्रीलंकासँग पराजित हुँदै राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । ...

कान्तिपुर
फोहोरमा ऊर्जा खोज्दै महानगर
Latest NewsJust now

फोहोरमा ऊर्जा खोज्दै महानगर

काठमाडौँ, मङ्सिर ११ गते । राजधानीलगायतका सहरमा फोहोर विसर्जन र व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखा पर्दै आएको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा स्थानीयस्तरमा द्वन्द्व निम्तिने जोख... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement