काठमाडौं । भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट पनि नेपालका वनस्पति घ्यू तथा तेल उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली उद्योगीहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि उद्योग क्षेत्रले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बुधबार विज्ञप्ति जारी गर्दै काण्डला बन्दरगाहबाट क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न पाउने व्यवस्था भएकोमा स्वागत गरेको छ। यसअघि नेपाली उद्योगहरू भारतका वजवज, कलकत्ता र हल्दिया बन्दरगाहमा मात्रै निर्भर रहँदै आएका थिए। सीमित बन्दरगाहमा निर्भर हुनुपर्दा उद्योगहरूले ढुवानी खर्च, समय र आयात लागतमा विभिन्न समस्या भोग्दै आएका थिए। बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडसहितको प्रतिनिधिमण्डलले पटक–पटक नेपाल सरकारका सम्बन्धित निकायसँग माग राख्दै आएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली उद्योगहरूको माग उच्चस्तरीय वार्तामा उठेपछि काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयातको बाटो खुलेको संघले जनाएको छ। नयाँ व्यवस्थाले नेपाली उद्योगहरूलाई थप वैकल्पिक आयात मार्ग उपलब्ध गराउनुका साथै ढुवानी लागत घटाउन, आपूर्ति सहज बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने संघको विश्वास छ। यसका लागि भारतसँगको वार्तामा नेपाली उद्योगको मागलाई प्राथमिकताका साथ उठाएको भन्दै संघले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेको छ। साथै, पहलमा सहयोग गर्ने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा अन्य पक्षलाई पनि धन्यवाद दिएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगको विकास र विस्तारका लागि यस्ता पहललाई निरन्तरता दिनुपर्ने संघले जनाएको छ।
लामो समयदेखि उद्योगीले राखेकाे माग पूरा, काण्डला बन्दरगाह खुला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






