अमेरिका र भारतले विश्वव्यापी लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। अमेरिकी कन्सुलेट जनरल मुम्बईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार अमेरिकी लागुऔषध नीति कार्यालय (ओएनडीसीपी) की उपनिर्देशक डेबी सेगुइनले मुम्बईस्थित जवाहरलाल नेहरू बन्दरगाह प्राधिकरणको भ्रमण गरेकी छन्। भारतको कुल कार्गोमध्ये करिब एकतिहाइ प्रशोधन गर्ने उक्त बन्दरगाहको भ्रमणका क्रममा अमेरिका–भारत लागुऔषध नीति रूपरेखाअन्तर्गत भइरहेको सहकार्यबारे जोड दिइएको छ। दुई देशबीचको सहकार्यले लागुऔषध तस्करी नियन्त्रण, लागुऔषध कारोबारसँग जोडिएको आतंकवादविरुद्धको अभियान र नागरिकको सुरक्षामा योगदान पुर्याउने अमेरिकी पक्षले जनाएको छ। अमेरिका र भारतले अन्तर्राष्ट्रिय लागुऔषध सञ्जाल नियन्त्रण गर्न बन्दरगाह तथा सीमाक्षेत्रमा निगरानी र सहकार्यलाई महत्त्व दिँदै आएका छन्।
लागुऔषध तस्करी नियन्त्रणमा अमेरिका र भारतबीच सहकार्य

Read Complete Original Article
Published originally on पर्दाफास






