काठमाडौं । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी–प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको नेपाली कथानक फिल्म ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ । फिल्म निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् । साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको फिल्मले जातीय विभेदका कारण प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ । वर्तमान सामाजिक परिस्थितिलाई यथार्थपरक ढंगले पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण भइरहेको निर्माता शेखर लामाले बताए । जातकै कारण प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता लामाको भनाइ छ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ । फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन् । फिल्ममा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ । शेखर लामा निर्माता रहेको फिल्मको निर्देशन नवराज श्रेष्ठले गरिरहेका छन् ।
लमजुङबाट सुरु भयो फिल्म ‘लुसु’को छायांकन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






