काठमाडाैं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेपछि उनको चर्चित जर्सी नम्बर ७ को भविष्यलाई लिएर चर्चा चुलिएको छ । पोर्चुगल फुटबल महासंघले रोनाल्डोको विरासतलाई सम्मान गर्ने भन्दै सात नम्बरको जर्सीमा नयाँ डिजाइन ल्याएको छ । तर, महासंघको यो निर्णयले समर्थक असन्तुष्ट बनेका छन् । राष्ट्रिय टोलीबाट बिदाइको घोषणा गर्दै रोनाल्डोले आफूले लगाउँदै आएको सात नम्बरको जर्सी राष्ट्रिय टोलीलाई फिर्ता गर्ने समय आएको बताएका थिए । करिब दुई दशक सात नम्बरको जर्सी लगाएका उनले पोर्चुगलका लागि १४६ गोल गरेका छन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप र सन् २०१९ तथा २०२५ मा नेसन्स लिगको उपाधि जितेको थियो । रोनाल्डोको योगदानलाई अमर बनाउने उद्देश्यले महासंघले सात नम्बरको जर्सीमा नयाँ डिजाइन सार्वजनिक गरेको हो । नयाँ जर्सीको सात अंकको बीचमा तेर्सो धर्सा थपिएको छ । अब भविष्यमा सात नम्बरको जर्सी लगाउने खेलाडीले यही नयाँ डिजाइन प्रयोग गर्नेछन् भने रोनाल्डोले लगाएको पुरानो डिजाइनलाई उनको विरासतका रूपमा सुरक्षित राखिने सन्देश महासंघले दिएको छ । महासंघले सामाजिक सञ्जालमा ‘अब नयाँ सात नम्बर सार्वजनिक गर्ने समय आएको छ, किनकि एउटा सात नम्बर सधैँ अमर रहनेछ’ भन्दै भिडियो सार्वजनिक गरेको थियो । त्यसमा रोनाल्डोलाई संकेत गर्दै ‘गोट’ अर्थात् सर्वकालीन महान् खेलाडीको प्रतीकसमेत प्रयोग गरिएको थियो । तर, यो निर्णयले रोनाल्डोका समर्थकलाई सन्तुष्ट बनाउन सकेन । सामाजिक सञ्जालमा धेरै समर्थकले रोनाल्डोसँग जोडिएको ऐतिहासिक जर्सीको डिजाइन परिवर्तन गर्ने निर्णयलाई हतारिएको र असंवेदनशील कदम भन्दै आलोचना गरेका छन् । विवादका बीच डेनमार्कविरुद्धको खेलमा पोर्चुगलले विशेष सम्मानसमेत प्रकट गर्यो । ब्रागामा भएको खेलअघि पोर्चुगलका सुरुआती ११ खेलाडीले ‘POR7UGAL’ लेखिएको विशेष जर्सी लगाएर मैदान प्रवेश गरेका थिए । तर, रोनाल्डोको सम्मानमा आयोजित उक्त खेलमा पोर्चुगल घरेलु मैदानमै डेनमार्कसँग ४–१ गोलले पराजित भयो ।
रोनाल्डोको सम्मानमा पोर्चुगलले ७ नम्बर जर्सीको नयाँ डिजाइन गर्दा विवाद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






