काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईसँग भेटवार्ता गरेको छ । मंगलबार चीनको चेङ्दुमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई विकास र साझा समृद्धिमा केन्द्रित गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटका क्रममा रास्वपा प्रतिनिधिमण्डलले सीमापार यातायात पूर्वाधार, पर्वतीय विज्ञान तथा विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा र हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल नवप्रवर्तनलाई सहकार्यका पाँच प्राथमिक क्षेत्रका रूपमा प्रस्ताव गरेको छ । नेपाली प्रतिनिधिमण्डलले पछिल्ला प्राकृतिक विपद्ले बाह्रै महिना सञ्चालन गर्न सकिने सीमापार सडक, सुक्खा बन्दरगाहको विस्तार र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको उल्लेख गरेको थियो । त्यस्तै, मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण तथा विपद् पूर्वतयारीमा सिचुवानसँग ज्ञान र सूचना आदानप्रदान गर्न प्रस्ताव गरेको छ । स्वच्छ ऊर्जातर्फ नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोड्दै लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्ने प्रस्ताव गरिएको छ । हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा समेत सहकार्यको सम्भावना औँल्याइएको छ । त्यसैगरी, चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवाका लागि थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ । नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाको चीनमा निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचमा सहयोग गर्न पनि प्रस्ताव गरिएको छ । कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्नुपर्ने विषयसमेत उठाइएको छ । भेटमा सिचुवान प्रान्तीय सचिव वाङले नेपाल र चीन असल छिमेकी तथा साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको ऐतिहासिक मित्रतालाई थप बलियो बनाउनुपर्ने बताए । उनले रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा गएको बाढीबाट दुवै देशमा भएको जनधनको क्षति स्मरण गर्दै विपद्का बेला चीनले नेपाललाई उपलब्ध गराएको सहयोगलाई दुई देशबीचको परम्परागत मित्रताको उदाहरणका रूपमा प्रस्तुत गरे । वाङले नेपालसँग निकट सम्बन्ध रहेका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक भएको उल्लेख गर्दै दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता जनाए । स्थानीय तहमा पार्टी तथा सरकारी सम्बन्ध विस्तार गर्दै नयाँ क्षेत्रमा रणनीतिक सहकार्य अघि बढाउन पनि आफूहरू इच्छुक रहेको उनको भनाइ थियो । महामन्त्री आचार्यले चीनले नेपालको विकासमा लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिँदै सिचुवानलाई नेपालको विश्वासिलो र दीर्घकालीन साझेदारका रूपमा प्रस्तुत गरे । उनले फरक राजनीतिक प्रणाली र दर्शन भए पनि नागरिकको हित तथा समृद्धिका लागि काम गर्ने विषय दुवै देशका साझा प्राथमिकता रहेको बताए । प्रतिनिधिमण्डलले नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित नेपाल–चीन सम्बन्धप्रति प्रतिबद्धता दोहोर्याएको छ । एक–चीन सिद्धान्त नेपालको दशकौँदेखिको स्थिर अडान भएको उल्लेख गर्दै नेपाली भूमि चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा पनि राखेको छ । रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक तथा शासन अनुभवलाई खुला र जिज्ञासु दृष्टिले अध्ययन तथा अवलोकन गर्न चाहेको समेत प्रतिनिधिमण्डलले जनाएको छ । भ्रमणअघि प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेको जानकारी दिँदै पार्टी तथा सरकार दुवै चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहेको बताएको छ ।
रास्वपा प्रतिनिधिमण्डलको सिचुवान सचिव वाङसँग भेट, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






