काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादान काठमाडौं उपत्यकाको धर्म, संस्कृति र परम्परासँग जोडिएको विशिष्ट एवं पवित्र पर्व भएको बताए। उनले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणको कामना गर्दै आयोजना गरिने यस्तो धार्मिक तथा सांस्कृतिक परम्पराले सामाजिक एकता र सद्भावलाई समेत बलियो बनाउने बताए। बिहीवार शीतलनिवासमा काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सम्यक महादानको मौलिकता र महत्त्वको प्रशंसा गरे। सम्यक महादान बौद्ध धर्ममा दानको महत्त्वपूर्ण अभ्याससँग जोडिएको पर्व हो। यस अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका दीपङ्कर बुद्धका मूर्तिसहित प्रमुख बौद्ध मन्दिरका देवीदेवताहरूलाई निमन्त्रणा गरी पूजापाठ तथा दान–दक्षिणा अर्पण गर्ने परम्परा छ। नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षुलगायत बौद्ध संघका सदस्यलाई दान अर्पण गर्नु पनि यसको प्रमुख पक्ष हो। सम्यक महादानलाई बौद्ध परम्परामा महत्वपूर्ण, कठिन र दुर्लभ दान पर्वका रूपमा लिइन्छ। ठूलो संख्यामा दीपङ्कर बुद्धका मूर्ति तथा अन्य बौद्ध देवदेवीलाई एकै स्थानमा विराजमान गराउने, धार्मिक विधि पूरा गर्ने र सहभागी संघ तथा श्रद्धालुलाई दान अर्पण गर्ने भएकाले यसको आयोजना धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ। काठमाडौंमा यस्तो महादान पछिल्लो पटक २०६१ सालमा आयोजना भएको थियो। त्यसपछि लामो समय रोकिएको यो परम्परा पुनः निरन्तरता पाउन लागेको हो। महानगरपालिकाले यसलाई काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक पहिचानसँग जोडिएको परम्पराका रूपमा अघि बढाउँदै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्य राखेको छ। राष्ट्रपति पौडेलले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताए। “हाम्रो धर्म, संस्कृति, परम्परा, सम्यक महादानको महिमा विशिष्ट खालको छ। यो पुनीत कार्यको सफलताको शुभकामना पनि व्यक्त गर्दछु,” उनले भने। उनले सम्यक महादानको सफल आयोजनाका लागि शुभकामना दिए।
राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






