दाङ। राप्ती गाउँपालिकाले तिहारलाई लक्षित गर्दै गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा कृत्रिम माला प्रयोग नगर्न आग्रह गरेको छ। गाउँपालिकाले प्राकृतिक फूलको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि तिहारमा प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न आग्रह गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आउँदै गरेको हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार)को अवसरमा गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा खरजंग्य माला प्रयोग नगरी प्राकृतिक फूलमाला प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। प्राकृतिक फूलमालाको सहज बिक्री–वितरणका लागि गाउँपालिकाले क्षेत्रभित्र फूल खेती गर्दै आएका व्यावसायिक कृषकहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। गाउँपालिकाले प्राकृतिक फूलमाला खरिद गर्न इच्छुकलाई सम्बन्धित कृषकसँग सम्पर्क गर्न आग्रह गरेको छ। गाउँपालिकाका अनुसार प्राकृतिक फूलमालाको प्रयोगले फूल खेती प्रवर्द्धन हुनुका साथै स्थानीय कृषकलाई बजार उपलब्ध गराउन र वातावरण संरक्षणमा समेत सहयोग पुग्नेछ। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार राप्ती–३ वसन्तपुरकी मनु कुमारी मल्ल, राप्ती–३ मसुरियाकी दुर्गा भवानी आधारभूत विद्यालय, राप्ती–४ मौरीघाटका श्याम गिरी, राप्ती–४ मझनीगढका हिमाल वली, राप्ती–७ अर्नहनपुरकी स्नेहा थारू चौधरी, राप्ती–४ थकरीकोटका गुमानसिंह थापा र भीमबहादुर समाल मगर तथा राप्ती–२ लालमटियाका धर्मबहादुर बोहरासँग प्राकृतिक फूल खरिदका लागि सम्पर्क गर्न सकिने जनाएको छ। गाउँपालिकाले तिहारमा प्लास्टिक तथा कृत्रिम मालाको प्रयोग नगरी स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न अनुरोध गरेको छ।
राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






