काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान लिन खोजिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौं क्षेत्र नम्बर ६ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकार बनेको आठ महिनामै राज्यसत्ताको दुरुपयोगका घटना दोहोरिन थालेको आरोप लगाए । उनले प्रधानमन्त्री शाहलाई सरकार सञ्चालन गरिरहेको हो वा गुण्डाराज चलाइरहेको भन्दै प्रश्न गरे । जेलभित्र रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान दिन बाध्य पारिएको दाबी गर्दै उनले उक्त घटना प्रधानमन्त्रीकै निर्देशनमा भएको हो वा मातहतका कर्मचारीले स्वेच्छाले गरेको हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे । प्रधानमन्त्रीकै निर्देशनमा यस्तो काम भएको भए सरकारमा बसेर त्यसो गर्न नमिल्ने र कर्मचारीको स्वेच्छाले भएको भए सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो । पौडेलले राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई फसाउने वा ठेगान लगाउने प्रयास भइरहेको आरोपसमेत लगाए । यस्ता घटना एउटा घटनामा मात्रै सीमित नरहेको भन्दै उनले जेलभित्रका व्यक्तिलाई धम्की दिएर बयान लिने र आफूअनुकूल प्रमाण जुटाउने काम भइरहेको दाबी गरे । जेलभित्र रहेका व्यक्तिको मोबाइल खोसेर आफूलाई आवश्यक पर्ने सामग्री राख्ने र अनावश्यक सामग्री मेटाउने गरिएको आरोप लगाउँदै उनले त्यसप्रति पनि आपत्ति जनाए । सरकारले यस्ता गतिविधिमार्फत नेपाली कांग्रेसलाई तर्साउन खोजिरहेको पौडेलको आरोप छ ।
राज्यसत्ताको दुरुपयोग गरेर कांग्रेसलाई तर्साउन खोजिएको छ : प्रदीप पौडेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






