काठमाडाैँ । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनैपनि महामारी नदेखिएको जनाएको छ । मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको बताएका हुन्। उनकाअनुसार हाल १४ वटाहोल्डिङ सेन्टरमार्फत २१ हजार ३ सय ९१ जनालाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ । त्यस्तै, ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान भइरहेको निमित्त महानिर्देशक पौडेलले बताए । उनले हालसम्म रसुवाको बाढी प्रभावित ९ हजार ३ सय ६८ जनाले मानसिक स्वास्थ्य परामर्श सेवा गरेको बताए । बाढी प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १ सय ३९ जना मानसिक स्वास्थ्य जनशक्ति परिचालन गरिएको समेत उनले बताए । उनले परामर्श लिएका कतिपय बाढी प्रभावित प्रभावितलाई औषधि उपचारसमेत आवश्यक देखिएको जानकारी दिए । निमित्त महानिर्देशक पौडेलले बाढी प्रभावित विभिन्न क्षेत्रबाट संकलन गरिएका १५ वटा पानीका नमुनामध्ये पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएपछि क्लोरिनेसन तथा पानी शुद्धीकरण अभियान चलाइएको उल्लेख गरे । पानी दूषित भेटिएपछि हैजाको सम्भावित जोखिम नियन्त्रण गर्न रसुवामा २१ हजार ६ सय र नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब एक लाख दुई हजार नागरिकलाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप खुवाइएको समेत जानकारी दिए । उनले रोगको सम्भावित प्रकोप पहिचान तथा नियन्त्रणका लागि सात वटा निगरानी टोली परिचालन गरिएको समेत बताए ।
रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा, महामारीको जोखिम नरहेको स्वास्थ्य विभागको दाबी

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






