विराटनगर। सामाजिक सञ्जाल टिकटक स्क्रोल गर्ने क्रममा देखिएको एउटा आकर्षक भिडियोले धनकुटाका २७ वर्षीय श्याम लिम्बू (परिवर्तित नाम) लाई उज्ज्वल भविष्यको सपना देखायो। युरोपेली मुलुक सर्बियामा आकर्षक तलब र सुविधासहित रोजगारी खुलेको विज्ञापन थियो त्यो। मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभनमा श्याम मात्र होइन, उनकी फुपूका दुई छोरी सुनसरीको इटहरीका ३० वर्षीया सीता र शर्मिला (परिवर्तित नाम) पनि विदेशिने निर्णयमा पुगे। यो घटना तीन जना युवाको ठगीको कथा मात्र होइन। सामाजिक सञ्जालको दुरुपयोग गरी वैदेशिक रोजगारीका नाममा मौलाउँदै गएको सङ्गठित ठगी र मानव ओसारपसारको एउटा प्रतिनिधि उदाहरण हो। तर उज्ज्वल भविष्यको सपना देखाएर उनीहरूलाई युरोप त पुर्याइएन नै, उल्टै भारतको नयाँ दिल्लीस्थित एउटा साँघुरो होटलको कोठामा करिब ४५ दिन बन्धकजस्तै अवस्थामा बिताउन बाध्य पारियो। उद्धारपछि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा परिवारको जिम्मा लगाइँदा उनीहरूको अनुहारमा घर फर्किन पाएको झिनो खुसी देखिन्थ्यो। तर लाखौँ रुपैयाँ गुमाएको र मानसिक यातना भोगेको पीडा पनि उत्तिकै गहिरो थियो। “हामी त बाँच्नै मुस्किल पर्ने अवस्थाबाट फर्किएर आएका छौँ,” मन्त्रालय परिसरमा भेटिएका श्यामले भने, “कामको लोभ देखाएर पहिले आधा पैसा असुले। पछि दिल्ली पुर्याएर अलपत्र पारे। होटलको ढोका ढकढक्याउँदै पैसा नतिरी नेपाल जान पाउँदैनस् भनेर धम्की दिँदा अब यतै मरिन्छ कि जस्तो लाग्थ्यो।” यो घटना तीन जना युवाको ठगीको कथा मात्र होइन। सामाजिक सञ्जालको दुरुपयोग गरी वैदेशिक रोजगारीका नाममा मौलाउँदै गएको सङ्गठित ठगी र मानव ओसारपसारको एउटा प्रतिनिधि उदाहरण हो। उद्धार गरिएका महिला र पुरुषलाई परिवारको जिम्मा लगाएपछि घर लैजान मन्त्रालयको गाडीमा राखिँदै। पैसा लिएपछि गायब भयो म्यानपावर श्यामले टिकटकमा देखेको विज्ञापनमा काठमाडौंस्थित ‘न्यु समृद्धि म्यानपावर’को नाम जोडिएको थियो। भिडियोमा दिइएको सम्पर्क नम्बरमार्फत उनीहरू काठमाडौं पुगे र म्यानपावरको कार्यालयमा बुझबुझारथ गरे। म्यानपावरका प्रतिनिधिले सर्बियामा मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म तलब हुने र अतिरिक्त समय काम गर्दा दुई लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाए। त्यसका लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँभन्दा बढी, करिब साढे आठ लाख रुपैयाँ लाग्ने बताइयो। केही समयपछि भिसा र कागजात तयार भएको भन्दै उनीहरूलाई खबर गरियो। “तपाईंहरूको कागज आयो, भिसा लाग्यो, अब छिट्टै आउनुस् भने,” श्यामले सुनाए, “नेपालको विमानस्थलबाट उड्न नमिल्ने भएकाले भारतको बाटो हुँदै पठाउनुपर्छ भन्ने सर्त राखे।” वैदेशिक रोजगारीको आवरणमा हुने अवैध ओसारपसारमा संलग्न एजेन्टले प्रायः नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छल्ने गरेको पाइन्छ। उनीहरूको हकमा पनि त्यही भयो। विदेश जाने पक्कापक्की भएपछि तीनै जनाले प्रतिव्यक्ति चारदेखि पाँच लाख रुपैयाँका दरले अग्रिम रकम बुझाए। बाँकी रकम उड्ने बेलामा दिने सहमति भएको थियो। तर भारत पुगेपछि उनीहरूले काठमाडौंमा रहेको भनिएको म्यानपावरबारे बुझ्दा कार्यालय र बोर्ड नै हटाइसकिएको थाहा पाए। “पहिले जाँदा कार्यालय र बोर्ड थियो। पछि बुझ्दा त त्यहाँ म्यानपावर नै हटाएर गायब भइसकेको रहेछ,” श्यामले भने। दिल्लीको होटलमा बन्धकजस्तै अवस्था वैदेशिक रोजगारीको आवरणमा हुने अवैध ओसारपसारमा संलग्न एजेन्टले प्रायः नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छल्ने गरेको पाइन्छ। उनीहरूको हकमा पनि त्यही भयो। गत अक्टोबर १ (असोज १५) मा तीनै जनालाई झापाको काँकडभिट्टा नाका हुँदै भारत लगियो। सिलिगुडीस्थित बागडोग्रा विमानस्थलबाट हवाईजहाज चढाएर उनीहरूलाई नयाँ दिल्ली पुर्याइयो। उनीहरूलाई अक्टोबर ३ को हवाई टिकटसमेत दिइएको थियो। यसले उनीहरूमा यात्रा पक्का भएको विश्वास जगाएको थियो। दिल्ली विमानस्थलमा उनीहरूलाई लिन धनबहादुर गुरुङ पुगे। गोरखा घर बताउने गुरुङलाई उनीहरूले काठमाडौंमा कहिल्यै भेटेका थिएनन्। दिल्लीमा पहिलोपटक भेटेका गुरुङले उनीहरूलाई एउटा होटलमा पुर्याए। दिन बित्दै जाँदा दिल्लीको होटलमा खाना र बसोबासको बिल बढ्दै गयो। करिब डेढ महिना अर्थात् ४५ दिनमा तीन जनाको होटल बिल ६० हजार भारतीय रुपैयाँ, नेपाली करिब ९६ हजार रुपैयाँ पुगेको थियो। “बेलुका होटलमा राखेपछि तपाईंहरूको उडान एक–दुई दिन पछाडि सरेको छ, कागजपत्र मिलाउन समय लाग्छ भनियो,” श्यामले ती दिन सम्झिए, “नयाँ ठाउँ, भाषा नबुझिने, हामीले के पो गर्न सक्थ्यौँ र ! एक–दुई दिन भन्दै कुर्न थाल्यौँ।” तर गुरुङले भनेको ‘एक–दुई दिन’ हप्ता र महिना बित्दा पनि सकिएन। सुरुमा खाना र बसोबासको चिन्ता नगर्नू, पैसा आफूले तिर्ने बताएका गुरुङ बिस्तारै सम्पर्कविहीन हुँदै गए। “फोन गर्दा दुई–तीन दिनमा एकपटक उठाउँथे। पछि त फोन नै उठाउन छाडे,” सीताले भनिन्, “उनी कहाँ बस्छन्, कोठा कहाँ हो भनेर सोध्दा पनि कहिल्यै बताएनन्।” दिल्लीबाट उद्धार भएपछि पीडितलाई सहजीकरण गर्ने विषयमा छलफल गर्दै सामाजिक विकासमन्त्री गीता तिम्सिना। एक छाक खाएर बिताए ४५ दिन दिन बित्दै जाँदा दिल्लीको होटलमा खाना र बसोबासको बिल बढ्दै गयो। करिब डेढ महिना अर्थात् ४५ दिनमा तीन जनाको होटल बिल ६० हजार भारतीय रुपैयाँ, नेपाली करिब ९६ हजार रुपैयाँ पुगेको थियो। एजेन्ट गुरुङ सम्पर्कविहीन भएपछि होटल सञ्चालकले उनीहरूमाथि दबाब दिन थाले। “होटलवाल आएर ढोका ढकढक्याउने, बाहिर निस्कन नदिने गर्न थाले,” सीताले भनिन्, “तिमीहरूको मान्छेले पैसा तिरेन भने तिमीहरूले नै जसरी हुन्छ घरबाट मगाएर तिर्नुपर्छ, नतिरेसम्म नेपाल फर्किन दिन्नौँ भनेर थर्काउँथे।” खर्च अभाव भएपछि उनीहरूले घरबाट थोरै–थोरै पैसा मगाएर गुजारा गर्न थाले। नेपालबाट तीन हजार पाँच सय रुपैयाँ पठाउँदा विनिमय र कमिसन कटाएर दिल्लीमा मुस्किलले दुई हजार भारतीय रुपैयाँ मात्र हात पर्थ्यो। पैसा जोगाउन उनीहरूले दिनमा एक छाक मात्र खान थाले। होटलबाहिर निस्कन नदिने, कोठामा थुनेर राख्ने र बिल तिर्न दबाब दिने क्रम बढेपछि उनीहरू चरम मानसिक तनावमा परे। “बेलुका खायो भने बिहान खाँदैनथ्यौँ, बिहान खायो भने बेलुका खाँदैनथ्यौँ,” श्यामले भने, “त्यसमाथि होटलको खाना अति पिरो र तेलको झोल मात्र हुने। खाँदाखाँदै हामी बिरामीसमेत भयौँ।” होटलबाहिर निस्कन नदिने, कोठामा थुनेर राख्ने र बिल तिर्न दबाब दिने क्रम बढेपछि उनीहरू चरम मानसिक तनावमा परे। “हामीमाथि शारीरिक दुर्व्यवहार त भएको थिएन, तर अझै केही दिन त्यहाँ अडिएको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो,” श्यामले थपे। ‘किङ इन्डिया’को सहयोगमा उद्धार सबै उपाय सकिएपछि र एजेन्ट फर्कने आशा मरेपछि उनीहरूले भारतमा अलपत्र परेका नेपालीको उद्धारमा सक्रिय संस्था ‘किङ इन्डिया’का प्रतिनिधि ‘नवीन सर’को सम्पर्क नम्बर फेला पारे। फोनमार्फत आफ्नो पीडा सुनाएपछि संस्थाले उनीहरूलाई नआत्तिन आश्वासन दियो। करिब एक साताको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई भैरहवा नाका हुँदै नेपाल ल्याइयो र विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा पुर्याइयो। नोभेम्बरको अन्तिम सातातिर संस्थाका प्रतिनिधि भारतीय प्रहरीको सहयोगमा होटल पुगे र तीनै जनालाई उद्धार गरे। उद्धारपछि सीता र शर्मिलालाई दिल्लीस्थित संस्थाको सुरक्षित आवास गृहमा राखियो। पुरुषलाई आवास गृहमा राख्ने व्यवस्था नभएकाले श्यामलाई अर्को सुरक्षित होटलमा राखिएको थियो। करिब एक साताको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई भैरहवा नाका हुँदै नेपाल ल्याइयो र विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा पुर्याइयो। किङ इन्डियाका कोशी प्रदेश संयोजक महेन्द्रकुमार भट्टराईले भारतबाट उद्धार गरिएका दुई महिला र एक पुरुषलाई मन्त्रालयको रोहबरमा परिवारको जिम्मा लगाइएको जानकारी दिए। “विगत चार वर्षको अवधिमा हामीले भारतका विभिन्न सहरबाट अलपत्र पारिएका तथा बेचबिखनको जोखिममा परेका एक हजार दुई सयभन्दा बढी नेपालीको उद्धार गरी परिवारमा पुनर्मिलन गराइसकेका छौँ,” भट्टराईले भने। वैदेशिक रोजगारीका नाममा ठगीमा परेर भारतको नयाँ दिल्लीमा बन्धक बनाइएका दुई महिला र एक पुरुष उद्धारपछि सामाजिक विकास मन्त्रालयमा। सामाजिक सञ्जालबाट फैलिँदै ठगीको जालो पछिल्लो समय युरोप, अमेरिका तथा खाडी मुलुकमा आकर्षक रोजगारी दिलाउने भन्दै टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति बढेको छ। वैदेशिक रोजगार विभागको अनुमतिबिनै नक्कली विज्ञापन बनाउने, म्यानपावर कम्पनीको नाम प्रयोग गरेर वा झोले कार्यालय खोलेर रकम असुल्ने र पछि कार्यालय नै बन्द गरेर भाग्ने गिरोह सक्रिय देखिएका छन्। सरकारले तेस्रो मुलुकमा रोजगारीका लागि जाँदा भारतको विमानस्थल प्रयोग गर्नुपर्ने अवस्थामा दिल्लीस्थित नेपाली दूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने व्यवस्था गरेको छ। तर मानव तस्कर र ठगीमा संलग्न एजेन्टले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने श्रम स्वीकृति र अध्यागमनको जाँच छल्न काँकडभिट्टा, जोगबनी, भैरहवा र गड्डाचौकी नाका हुँदै भारत प्रवेश गराउने गरेका छन्। त्यसपछि बागडोग्रा, दिल्ली र मुम्बईका विमानस्थल प्रयोग गर्ने गरेको उद्धारकर्मी बताउँछन्। कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले उद्धार कार्यमा खटिएको संस्थालाई धन्यवाद दिँदै दोषीमाथि कारबाहीका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाइन्। यस्ता गिरोहले पीडितलाई विश्वास दिलाउन नक्कली भिसा र ‘डमी’ हवाई टिकटसमेत उपलब्ध गराउँछन्। दिल्ली वा मुम्बईका होटलमा पुर्याएपछि कागजात नमिलेको बहाना बनाएर महिनौँ झुलाउने, थप रकम माग्ने र नदिए होटलमै बन्धक बनाउने वा अन्यत्र बेचबिखन गर्ने जोखिम रहने किङ इन्डियाका कोशी प्रदेश संयोजक भट्टराई बताउँछन्। उद्धार गरिएका तीनै जनाले आफूहरूलाई ठगी गर्ने एजेन्ट धनबहादुर गुरुङ र न्यु समृद्धि म्यानपावरविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। “हामीले दुःखजिलो गरेर जोहो गरेको लाखौँ रुपैयाँ गुम्यो, झन्डै ज्यानै गयो,” सीताले भनिन्, “अब ठगी र मानव बेचबिखनमा संलग्नविरुद्ध उजुरी दिन्छौँ। अरू कोही हामीजस्तो नफसून्।” वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै जाँदा वैदेशिक रोजगार विभागमा ३० हजारभन्दा बढी उजुरी थुप्रिएका छन्। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशकी वैदेशिक रोजगार ठगी सहजीकरणकर्ता गीता बन्जाराले पीडितलाई कानुनी प्रक्रियामा पूर्ण सहयोग गरिने बताइन्। “वैदेशिक रोजगारमा ठगीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालयमार्फत नै अघि बढ्छ,” उनले भनिन्, “हामी आवश्यक कागजपत्र जुटाएर मुद्दा दर्ता र क्षतिपूर्ति दिलाउने प्रक्रियामा सहजीकरण गरिदिनेछौँ।” कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले उद्धार कार्यमा खटिएको संस्थालाई धन्यवाद दिँदै दोषीमाथि कारबाहीका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाइन्। “मन्त्रालयमा वैदेशिक रोजगार ठगीका पीडितलाई सहजीकरण गर्ने छुट्टै शाखा छ,” मन्त्री तिम्सिनाले भनिन्, “पीडितले न्याय पाउने गरी प्रक्रिया अघि बढाउन म सम्बन्धित शाखा र कर्मचारीलाई तत्काल निर्देशन दिन्छु।” दिल्लीबाट उद्धार भएपछि पीडितलाई सहजीकरण गर्ने विषयमा छलफलका सहभागी। वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै जाँदा वैदेशिक रोजगार विभागमा ३० हजारभन्दा बढी उजुरी थुप्रिएका छन्। विभागमा दैनिक औसत ४० वटा ठगीसम्बन्धी उजुरी दर्ता हुने गरेका छन्। तर उजुरीको तुलनामा पीडितले न्याय र क्षतिपूर्ति पाउनेको सङ्ख्या निकै कम छ। आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ६२४ उजुरी दर्ता भएकामा एक हजार ६७९ वटा मात्र फर्छ्योट भएका थिए। ती उजुरीमा पीडितले ३४ करोड ३७ लाख ९५ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ७९०, आर्थिक वर्ष २०८०/८१ मा सात हजार ७६३ र आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी परेको विभागको तथ्याङ्क छ। पीडितले न्याय पाउन वर्षौँ लाग्ने, उजुरीका लागि केन्द्रसम्म धाउनुपर्ने र पर्याप्त प्रमाण जुटाउन नसक्ने अवस्थाले समस्या थपिएको छ। ठगीमा परेका कतिपय पीडितले आफ्नो जायजेथा बेचेर विदेश जाने तयारी गरेका हुन्छन्। विभागका महानिर्देशक नवराज ढकालका अनुसार पछिल्ला वर्षमा वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढिरहेका छन्। “प्रविधिको विकाससँगै ठगीका नयाँनयाँ शैली देखिन थालेका छन्। म्यानपावर कम्पनीमार्फत हुने ठगीसँगै व्यक्तिगत चिनजान र मध्यस्थकर्ताको माध्यमबाट हुने ठगी पनि चुनौतीका रूपमा देखिएको छ,” उनले भने। वैदेशिक रोजगारी तथा श्रमिकको हकहितका क्षेत्रमा क्रियाशील वरिष्ठ अधिवक्ता एवं आप्रवासन विज्ञ सोम लुइँटेलका अनुसार कानुनमा रहेका छिद्र र कार्यान्वयनको कमजोरीको फाइदा उठाउँदै ठगी गर्ने क्रम बढेको छ। “पीडितले न्याय पाउन वर्षौँ लाग्ने, उजुरीका लागि केन्द्रसम्म धाउनुपर्ने र पर्याप्त प्रमाण जुटाउन नसक्ने अवस्थाले समस्या थपिएको छ। ठगीमा परेका कतिपय पीडितले आफ्नो जायजेथा बेचेर विदेश जाने तयारी गरेका हुन्छन्। ठगिएपछि उनीहरू आर्थिक रूपमा कमजोर हुने मात्र होइन, उजुरी गर्नसमेत डराउने गरेका छन्,” उनले भने। के छ कानुनी व्यवस्था? यस घटनाका पीडितले म्यानपावर कम्पनी र एजेन्टविरुद्ध वैदेशिक रोजगार ठगी तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा कानुनी उपचार खोज्ने बताएका छन्। नेपालको प्रचलित कानुनले यस्ता कार्यलाई अपराध मानेको छ। इजाजतपत्रप्राप्त म्यानपावर संस्थाले नै झुक्याएर वा प्रलोभनमा पारी रकम लिएर विदेश नपठाएमा दफा ४४ बमोजिम बिगो र ५० प्रतिशत हर्जाना असुल गरी कैद तथा जरिवाना गराउन सकिने र म्यानपावरको इजाजतपत्रसमेत खारेज हुन सक्ने व्यवस्था छ। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ अनुसार इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा झुटो आश्वासन दिई रकम असुलेमा त्यसरी लिएको रकम अर्थात् बिगो र त्यसको ५० प्रतिशत हर्जानाबापत असुल गरी पीडितलाई दिलाउने व्यवस्था छ। साथै, कसुरदारलाई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ। इजाजतपत्रप्राप्त म्यानपावर संस्थाले नै झुक्याएर वा प्रलोभनमा पारी रकम लिएर विदेश नपठाएमा दफा ४४ बमोजिम बिगो र ५० प्रतिशत हर्जाना असुल गरी कैद तथा जरिवाना गराउन सकिने र म्यानपावरको इजाजतपत्रसमेत खारेज हुन सक्ने व्यवस्था छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कसैलाई ललाइफकाई, झुक्याई, प्रलोभनमा पारी वा धाकधम्की दिई सीमा कटाउने तथा बन्धकजस्तो अवस्थामा राख्ने कार्यलाई कसुर मानेको छ। ऐनको दफा ३ र ४ ले यस्तो कार्य निषेध गरेको छ भने दफा १५ मा कसुरको प्रकृतिअनुसार १० देखि १५ वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ। श्रम स्वीकृतिबिना भारतको बाटो हुँदै युरोप जाने प्रलोभन देखाएर युवाहरूको पसिना र पुँजी लुट्ने गिरोहमाथि प्रहरी र वैदेशिक रोजगार विभागले कडा निगरानी नबढाएसम्म यस्ता घटना बढ्दै जानेछन्। मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार झुक्याएर वा छलकपट गरी रकम असुल्ने कार्य ठगी कसुर हो। यसमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। होटलमा थुनेर बाहिर निस्कन नदिने र धम्की दिने कार्यमा व्यक्ति बेपत्ता पार्ने वा शरीर बन्धकसम्बन्धी कसुरसमेत आकर्षित हुन सक्ने कानुनी व्यवस्था छ। वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाको पैरवी गर्दै आएकी अधिवक्ता कला त्रितालका अनुसार पीडितको सहजताका लागि सरकारले सबै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दर्ता तथा छानबिन गर्ने अधिकार प्रत्यायोजन गरेको छ। “प्रविधि र सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै ठगीको शैली फेरिएको छ। श्रम स्वीकृतिबिना भारतको बाटो हुँदै युरोप जाने प्रलोभन देखाएर युवाहरूको पसिना र पुँजी लुट्ने गिरोहमाथि प्रहरी र वैदेशिक रोजगार विभागले कडा निगरानी नबढाएसम्म यस्ता घटना बढ्दै जानेछन्,” उनले भनिन्, “अहिले दैनिकजसो वैदेशिक रोजगार ठगीका घटना आउने गरेका छन्।”
युरोपको सपना देखाएर दिल्लीमा बन्धक

Read Complete Original Article
Published originally on नेपालन्युज






