वासिङ्टन । निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । तर, यति ठूलो संख्यामा मतदाताहरु डेमोक्रेटिक पार्टीका पक्षमा उर्लने अनुमान गरिएको थिएन । निर्वाचनको सम्पूर्ण मतपरिणाम औपचारिक रुपमा सार्वजनिक हुन अझै केही दिन लाग्नसक्छ । तर, मंगलबार सम्पन्न निर्वाचनको अधिकांश परिणाम आइसकेको छ । जसअनुसार, संसद्का दुबै सदन डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहनेछ । माथिल्लो सदन सिनेटमा कुल १ सयमध्ये यसपटक ३५ स्थानमा प्रतिस्पर्धा भएको थियो । यसमा डेमोक्रेटिक पार्टीका २० उम्मेदवार विजयी भए । थप १ सिटमा पार्टीको अग्रता छ । रिपब्लिकन पार्टीका १३ उम्मेदवार विजयी भए भने १ सिटमा अग्रता छ । यससँगै सिनेटमा डेमोक्रेटिक पार्टीको ७ सिट बढेर ५४ सिटमा विजयी भइसकेको अमेरिकी सञ्चारमाध्यम एपीले जनाएको छ । मतगणना भइरहेका बाँकी दुबै सिटमा विजयी भएमा डेमोक्रेटिक पार्टीले अधिकतम ५६ सिट जित्नसक्छ । रिपब्लिकन पार्टी (४४-४६) सिटमा सिमित हुने देखिएको छ । तल्लो सदन (प्रतिनिधिसभा) मा सबै ४ सय ३५ स्थानमा प्रतिस्पर्धा भयो । केही स्थानमा मतगणना जारी रहँदा बहुमतका लागि आवश्यक २ सय १८ सिटको थ्रेसहोल्ड डेमोक्रेटिक पार्टीले पार गरिसकेको छ । अहिलेसम्म यस पार्टी २ सय २५ सिटमा विजयी भइसकेको छ । बाँकी केही सिटमा अग्रता बनाएको छ । १ सय ३७ सिटमा रिपब्लिकन पार्टी विजयी भयो । सिनेटको चुनावअन्तर्गत टेक्सासमा जेम्स टालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई पराजित गरे । विगत ३८ वर्षयता यस राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार सिनेटर चुनिएको यो पहिलोपटक हो । दक्षिण क्यारोलिनामा पनि डेमोक्रेटिक पार्टीले सिनेटको सिट खोसेको छ । एक्काइसौं शताब्दीमा डेमोक्रेटिक पार्टीले यस राज्यमा सिनेटको चुनाव जितेको यो पहिलोपटक हो । पार्टीले इतिहास रचेको छ । यस शताब्दीमा डेमोक्रेट्सले त्यहाँ अमेरिकी सिनेटको निर्वाचन जितेका थिएनन् । ट्रम्पलाई तीनपटक मत खसालेको राज्य ओहायोको सिनेट दौडमा यसपटक डेमोक्रेटिक उम्मेदवार सिरोड ब्राउनले बाजी मारे । क्यान्सासमा डेमोक्रेट एडम हेमिल्टनले रिपब्लिकन उम्मेदवार रोजर मार्सललाई सहजै पराजित गरे। सन् १९३२ यता डेमोक्रेट्सले क्यानसासमा डेमोक्रेटिक उम्मेदवार सिनेटमा विजयी भएको यो पहिलोपटक हो । डेमोक्रेट्सले केही महिनाअघिसम्म असम्भवजस्तै देखिएका रिपब्लिकन पार्टीका किल्लाहरुमा पनि आफ्ना उम्मेदवार खडा गर्ने रणनीति बनाएका थिए । उनीहरुले बढ्दो मूल्यवृद्धि , आप्रवासनमा गरिएको कडाई र इरान युद्धको विषयलाई चुनावमा जर्बजस्त रुपमा उठाए । जसकारण, मूल्यवृद्धिले आक्रान्त जनताहरु उनीहरका पक्षमा खडा भएको देखियो । तर, संसद्का दुबै सदन (सिनेट र प्रतिनिधिसभा) मा प्राप्त बलिया जनमत डेमोक्रेट्सका लागि दबाबपूर्ण पनि हुनेछ । अब उनीहरुले ट्रम्पको विरोध गरेर मात्रै पुग्नेछैन । बरु, जनताका आर्थिक चिन्ताहरुलाई जिम्मेवार ढंगले सम्बोधन गर्न लाग्नुपर्नेछ । किनकि, मतदाताले आगामी दिनमा हुने मूल्यवृद्धि र दैनिक जीवनका समस्यामा डेमोक्रेटिक पार्टीलाई पनि उत्तिकै जिम्मेवार ठान्नेछन् । रुष्ट मतदाता वर्ग ट्रम्पले मतदाताहरूलाई भनेका थिए, ‘म उम्मेदवार छैन । तर, चुनावी मैदानमा छु भन्ने सोचेर रिपब्लिकन पार्टीका उम्मेदावरहरुलाई भोट गर्नुस् ।’ उनी चुनावी अभियानमा निकै सक्रिय देखिएका थिए । मतदाताहरुले पनि त्यस्तै गरे, उनीहरुले ट्रम्पका नीतिहरुको भारी बोकाउँदै रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई हराइदिए । ट्रम्पका एजेन्डासँग सहमत भएर दुई वर्षअघि उनलाई विजयी गराएका जनताहरु पछिल्लो समय उनको व्यवहारबाट हैरान भएको यसले देखाएको छ । एपीसहित प्रमुख अमेरिकी सञ्चारमाध्यमहरुले गरेको सर्वेक्षणअनुसार झण्डै १० मध्ये ९ जनाले आफ्नो मतदानको निर्णयमा जीवनयापनको बढ्दो खर्च निर्णायक कारकको रुपमा रहेको बताएका थिए । सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो । उनको लोकप्रियता घटेर ऐतिहासिक रूपमै तल झर्यो । जसकारण, निर्वाचनमा उनको सक्रियताले उल्टै परिणाम बिगार्नसक्ने भय रिपब्लिकन उम्मेदवारहरुलाई थियो । एपीले गरेको सर्वेक्षणका क्रममा झन्डै दुई तिहाइ मतदाताले महँगीका लागि ट्रम्पलाई जिम्मेवार ठहराएका छन् । तीन चौथाइले देशको दिशानिर्देशप्रति आफूहरू क्रुद्ध वा असन्तुष्ट रहेको बताएका छन्। मतदाताहरूले सरकारी भ्रष्टाचारप्रति पनि व्यापक चिन्ता व्यक्त गरेका छन् । ट्रम्प कहाँ चुके ? यसपटक निर्वाचन रिपब्लिकन नेताहरुको मात्रै हार भएन, व्यक्तिगत रुपमा ट्रम्प पनि हारे । कतिपय क्षेत्रमा स्थानीय रिपब्लिकन कार्यकर्ताहरुले गरेको विरोधको बेवास्ता गर्दै उनले आफ्ना नजिकका केही व्यक्तिलाई उम्मेदवार बनाएका थिए । तर, उनीहरु पराजित भए । दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनामा ट्रम्पले आफ्नै रोजाइमा उठाएका सिनेट उम्मेदवारहरूग्राहम र माइकल ह्वाटली पराजित भए । टेक्सासमा पाक्सटन नराम्ररी हारे । ट्रम्पकै जोडबलमा पार्टीले उनीहरुलाई उम्मेदवार बनाएको थियो । यी पराजयहरूले ट्रम्पको राजनीतिक सुझबुझमाथि प्रश्न उठाएको छ । फराकिलो चुनावी जनसरोकारभन्दा व्यक्तिगत बफादारीलाई प्राथमिकता दिने उनको प्रवृत्तिको बारेमा प्रश्नहरू खडा हुनेछन् । यसपटकको निर्वाचनले अश्वेत जनसंख्या, ल्याटिनो र युवा मतदाताहरूमाझ रिपब्लिकनहरूको समर्थनमा तीव्र घटेको देखाउँछ । चुनावी अभियानको अन्तिम साताहरूमा ट्रम्प र उनका सहकर्मी रिपब्लिकनहरूले डेमोक्रेटहरूलाई देशै बर्वाद पार्ने खतरनाक कट्टरपन्थी र कम्युनिष्टहरूको रूपमा चित्रण गर्ने प्रयास गरेका थिए । तर ती आक्रमणहरूले काम गरेनन् । मतदाताहरू खाद्यवस्तु र ग्यासको मूल्यप्रति धेरै केन्द्रित थिए । ट्रम्पले लागत कसरी घटाउँछन् भन्ने विषयमा उनीबाटै सुन्न चाहेका थिए । तर, ट्रम्पले चुनावी अभियानहरुमा मूल्यवृद्धि घट्नेबारे कुनै योजना प्रस्तुत गरेनन् । बरु, उल्टै इरान युद्धको बचाऊ गर्न खोजे । इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि अमेरिकीहरुले मूल्यवृद्धि सहनुपर्ने उनको तर्क थियो । उनले चुनावी अभियानका क्रममा डेमोक्रेटहरू विजयी हुँदा अमेरिका कम्युनिष्ट देश बन्ने तर्क समेत बारम्बार गरेका थिए । उनले विभिन्न राज्यहरूका प्रजातान्त्रिक संस्थानहरुलाई ‘पागल र कट्टरपन्थीहरूले’ विस्थापित गरेको आरोप पनि लगाए । अमेरिकी निर्वाचनहरूमा डरको राजनीति प्रायः प्रभावकारी हुने गरेको छ । तर डेमोक्रेटहरूले वास्तवमै खतरा खडा गरेका छन् भन्ने कुरामा मतदाताहरूलाई विश्वस्त पार्न ट्रम्प सफल भएनन् । बरु, उनीप्रति निराशा नै डेमोक्रेटिक पार्टीको लहर आउन पर्याप्त साबित भयो । राष्ट्रपतीय चुनाव दौडका क्रममा दुई वर्षअघि ट्रम्पले विदेशी युद्धमा अमेरिकालाई संलग्न नगराउने बताएका थिए । तर, शान्तिको नारा जपेर सत्तामा पुगेका ट्रम्पले भेनेजुएलामा आक्रमण गरेर सत्तापलट गरे, इरानमा युद्ध जारी छ । यो विरोधाभास नै उनको अस्थिर चरित्रलाई व्याख्या गर्न काफी हुनसक्छ । सन् २०२४ मा ट्रम्पलाई राष्ट्रपति जिताउन ल्याटिनो मतदाताहरुको भूमिका ठूलो थियो । तर, दुई वर्षभित्रै तीमध्ये धेरैले उनको पार्टीलाई छोडेका छन् । यसले ट्रम्पप्रतिको ल्याटिनो मतदाताहरूको रुझान पनि समाप्त भएको देखाउँछ । क्यालिफोर्नियादेखि फ्लोरिडासम्मका चुनावहरू जित्न रिपब्लिकन पार्टीले यस समुदायका मतदाताहरुलाई निर्णायक ठानेको थियो । तर, उनीहरु सफल भएनन् । सञ्चारमाध्यमहरूको प्रक्षेपण अनुसार, १० मध्ये ४ जना ल्याटिनो समुदायका मानिसहरू रहेको टेक्सासमा डेमोक्रेटहरूले गभर्नर र सिनेट दुवै सिट जितेका छन् । ल्याटिनोहरुको बाक्लो बसोबास रहेको दक्षिणपूर्वी फ्लोरिडामा २२औँ कंग्रेस क्षेत्रबाट डेमोक्रेटस् पिया डन्डिया विजयी भइन् । एक्जिट पोलहरूका अनुसार आर्थिक असन्तोषले गर्दा मंगलबार हिस्पानिक (ल्याटिनो) मतदाताहरूमाझ रिपब्लिकनप्रतिको समर्थन सन् २०२४ को ४६ प्रतिशतबाट घटेर मात्र एकतिहाइमा सीमित हुन पुग्यो । टेक्सासमा डेमोक्रेटिक पार्टीकी जिना हिनेजोसा पहिलो ल्याटिनो गर्भनरका रुपमा विजयी भइन् । क्यार्लिफोनियामा हिस्प्यानिक समुदायकै जेभियर बेसेरा गर्भनर विजयी भए । यसले हिस्पानिक मतदाता वर्गको महत्व फेरि उजागर गरेको छ । देशका ३६ वटा राज्यमा गर्भनरका लागि निर्वाचन भएको थियो । यसमा पनि डेमोक्रेटिक पार्टीकै उम्मेदवारहरु अगाडि छन् । २१ राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेवारले विजय हासिल गरेका छन् । १२ राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारको विजय भइसकेको छ । रोयटर्स
यी हुन संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






