Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ । सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए । प्राप्त निवेदन र उजुरीहरूप्रति गम्भीर ध्यानाकर्षण भएपछि मन्त्रालयको निर्देशनबमोजिम नापी विभागले असोज २६ गते ७ दिने म्याद तोकी औपचारिक रूपमा गुनासो आह्वान गरेको थियो । सो क्रममा २०० भन्दा बढी कर्मचारीहरूबाट सरुवा पुनरावलोकनका लागि उजुरी प्राप्त भएपछि मन्त्रालयले उक्त सरुवा सूची पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो । सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले आजै ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ । मन्त्रालयले सोही मापदण्डका आधारमा पारदर्शी र न्यायोचित ढङ्गले मात्र सरुवा प्रक्रिया अगाडि बढाउन विभागलाई स्पष्ट निर्देशन दिएको बताएको छ । २- अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने बताएका छन्। नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सार्वजनिक लगानीले मात्रै पूर्वाधार विकासको लक्ष्य पूरा गर्न नसकिने भन्दै निजी क्षेत्रको पुँजी परिचालन आवश्यक रहेको बताए । उनका अनुसार सरकारले पूर्वाधार तथा आर्थिक सुधारसँग सम्बन्धित ५९ वटा ऐनका झन्डै ५०० दफा संशोधन तथा परिमार्जन गर्ने तयारी गरेको छ। लगानीमैत्री वातावरण बनाउन पुराना र अवरोधक कानुन संशोधन तथा खारेजीको काम पनि अघि बढाइएको उनले जानकारी दिए । निजी लगानी विस्तारका लागि सरकारले हाइब्रिड एन्युटी मोडल, वैकल्पिक विकास वित्त कोष, स्वच्छ ऊर्जा ऋणपत्र तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने योजना बनाएको छ । सडक, प्रसारण लाइन, ऊर्जा लगायतका क्षेत्रमा निजी क्षेत्रलाई लगानी र सञ्चालनको अवसर दिने उनको भनाइ छ । वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार एक खर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताउँदै त्यसका लागि वार्षिक ६ देखि ८ प्रतिशत आर्थिक वृद्धि आवश्यक रहेको उल्लेख गरे। उनले सुशासन, आर्थिक सुधार र पूर्वाधार विकासलाई सरकारका तीन प्रमुख प्राथमिकता रहेको बताए । पत्रकार सम्मेलनमा मन्त्रीहरू स्वर्णिम वाग्ले, शोभिता गौतम र सुनील लम्सालको उपस्थितिमा सम्मेलनबारे जानकारी गराइएको हो । नेपाल सरकार, नेपाल उद्योग परिसंघलगायत विभिन्न संस्थाको संयुक्त आयोजनामा हुने सम्मेलनमा पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, कानुनी तथा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल हुनेछ । पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुदैछ । ३- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका छन् । उनको टिप्पणीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयासका रूपमा हेरिएको छ । भान्सले सामाजिक सञ्जाल एक्समा करिब ६०० शब्दको धारणा सार्वजनिक गर्दै ट्रम्पलाई मतदान गरेका मतदातासमेत रिपब्लिकनबाट टाढिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले हार्नुको कारण युद्ध हो । राष्ट्रपतिले पनि हिजो राति यही कुरा स्वीकार गरेका छन् ।’ ट्रम्पले पनि निर्वाचनमा इरान युद्धले प्रभाव पारेको स्वीकार गरेका छन् । तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्ध आवश्यक रहेको जिकिर गर्दै त्यस्तै अवस्था आए फेरि पनि युद्धको निर्णय लिने बताएका छन् । भान्सले भने युद्ध अन्त्य, महँगी नियन्त्रण, ‘अमेरिका पहिलो’ नीतिमा जोड र इजरायलसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने चारबुँदे रणनीति अघि सारेका छन् । भान्सको टिप्पणीलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने सम्भावनासँग जोडेर हेरिएको छ । यद्यपि उनले उम्मेदवारीबारे औपचारिक निर्णय गरिसकेका छैनन् । ट्रम्पले पनि आफ्नो उत्तराधिकारीका रूपमा कसलाई समर्थन गर्ने भन्ने स्पष्ट पारेका छैनन् । ४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन् । विहिबार चितवन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानिरीक्षक परिवर्तनको विषयमा सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने बताएका हुन् । उनले भने- ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला ।’ सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए । ५- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले दिएको ८४ रनको लक्ष्य पछाएको काठमाडौँले ९.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । काठमाडौँको जितमा डेभिड वार्नरले अविजित २४ बलमा ४४ रन बनाए भने विलियम बोसिस्टोले अविजित २३ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले १८.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो । विराटनगरका लागि रुपेश सिंहले सर्बाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाएका थिए । त्यस्तै, काठमाडौँ गोर्खाजका बलर सन्तोष यादवले ३ विकेट लिए भने करण केसी र सहान आराचचिगेले २-२ तथा जहानदाद खान र देव शाहले एक एक विकेट लिएका थिए । यो काठमाडौँको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंकसँगै काठमाडौँ दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै विराटनगरलाई भने यो हारपछि धक्का लागेको छ । विराटनगरको ५ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा झरेको छ । ६- सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोही कायम भएका जग्गा नामसारी गराउने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको टोलीले तिमलसिनालाई सेवाग्राहीबाट घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित बुधबार भूमि प्रशासन कार्यालय, सर्लाहीबाट नियन्त्रणमा लिएको थियो । उनलाई आज विशेष अदालतको आदेशबाट घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ । ७- पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको बताएका छन् । उनले पोर्चुगलका लागि आफूले सक्दो योगदान दिएको र देशको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताएका छन् । रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने पुरुष खेलाडी हुन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप तथा सन् २०१९ र २०२५ को युईएफए नेसन्स लिगको उपाधि जितेको थियो । उनले राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्राका लागि समर्थक र देशवासीलाई धन्यवाद दिँदै पोर्चुगल सधैँ आफ्नो मनमा रहने बताएका छन् । ८- नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध गलत प्रचार सधै हुने गरेको बताएका छन् । एक भिडियो सार्बजनिक गर्दै थापाले आफु कमजोर नैतिक धरातलमा नउभिएको बताउदै आफू कुनै पनि गलत र अनैतिक काममा संलग्न नरहेको स्पष्ट गरेका छन् । थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै आर्थिक लेनदेन नभएको बताए । उनले भनेका छन्- ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’ उनले यसबारे अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै स्पष्ट पारिसकेको र कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको दोहोर्‍याए । थापाले भनेका छन्- ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ ।’ अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको उनले खण्डन गरे । उनले आफु मधेशमा सरकारले विश्वासको मत लिने समय भएकाले यसअघि प्रचण्ड र उपेन्द्र यादवलाई भेटेको र अहिले ओलीलाई भेटेको बताए । ९- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले २-२ तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २-२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए । यो जितपछि लुम्विनी लायन्स अपराजित रहदै ४ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर बोल्ट्सको भने यो तेस्रो हार हो । ५ खेलमा २ खेल जितेको जनकपुरको ४ अंक रहेको छ । १०- नेप्से आज दोहोरो अंकमा घटेको छ । आज विहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर २.९६ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयरमा २.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी केबिएल डिभेन्चरको शेयर ५.०९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १८ करोड १९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १४ करोड ७५ लाख बराबरको कारोबार भएको छ । ११- प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छलफल गर्दै चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन् । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । साथै, नागरिकको जीउधनको सुरक्षामा कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन र शान्ति–सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । १२- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ । बिहीबार भएको भेटमा गत अगस्टमा आएको बाढीपछिको पुनर्निर्माणको विषयमा छलफल भएको छ । अमेरिकाले नेपाललाई भोटेकोशी बाढी पछि ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाले बाढी प्रतिकार्य तथा पुनःस्थापनामा नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने दाताका रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ । भेटमा कार्यवाहक राजदूत बोल्डिनले अमेरिकी कम्पनी र प्रविधिको महत्वपूर्ण भूमिका हुन सक्ने बताइन् । उनले मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपालको विद्युत् तथा यातायात प्रणाली सुदृढ बनाउन भइरहेको सहयोगले पुनःस्थापनामा योगदान पुर्‍याइरहेको उल्लेख गरिन् । उनले विपद्पछिको पुनर्निर्माणसँगै नेपालको डिजिटल रूपान्तरणमा अमेरिकी प्रविधिको उपयोग र व्यवसायमैत्री सुधारमार्फत अमेरिकी कम्पनीका लागि अवसर सिर्जना गर्न सकिने विषयमा पनि जोड दिएकी छन् । १३- प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ । मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री बुधबार नेपाल आएका थिए । १४- अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ । मस्कले टेक्सससहित एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटाका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको पक्षमा करोडौँ डलर खर्च गरेका थिए । टेक्ससमा सिनेटको सिटका लागि भएको प्रतिस्पर्धामा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरे । प्याक्सटनको समर्थनमा मात्रै मस्कले कम्तीमा चार करोड ५० लाख डलर खर्च गरेको एक प्रतिवेदनमा उल्लेख छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि मस्कले सामाजिक सञ्जाल एक्समा व्यङ्ग्यात्मक टिप्पणी गर्दै आफ्नो ‘निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्षीय लेजर’ले काम नगरेको बताएका थिए । उनले यसअघि डेमोक्र्याटिक उम्मेदवार विजयी भएमा आप्रवासन बढ्ने, वासिङ्टन डिसी र पोर्टो रिको राज्य बन्ने तथा सर्वोच्च अदालतका न्यायाधीशको सङ्ख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । निर्वाचनपछि उनले तीमध्ये केही टिप्पणी हटाएका छन् । रिपब्लिकन उम्मेदवारको पराजयले मस्कका कम्पनीहरू टेस्ला र स्पेसएक्समाथि सरकारी निगरानी तथा नियमन बढ्न सक्ने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि स्पेसएक्सले अनुमानित १० अर्ब डलर बराबरका नयाँ सरकारी ठेक्का पाएको बताइएको छ । डेमोक्र्याटिक सांसदहरूले सरकारी काम र राष्ट्रिय सुरक्षामा कम्पनीको बढ्दो भूमिकामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने प्रविधि कम्पनीका विशाल तथ्याङ्क केन्द्र निर्माणमा पनि नयाँ चुनौती थपिन सक्ने देखिएको छ । जर्जियासहित विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको तीव्र विस्तार नियन्त्रण गर्ने तथा प्रविधि कम्पनीलाई दिइने कर छुट घटाउने विषय निर्वाचनका प्रमुख मुद्दा बनेका थिए । मंगलबार विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको विस्तार सीमित गर्ने दर्जनौँ प्रस्ताव पारित भएका छन् । निर्वाचन परिणामले प्रविधि क्षेत्रमा थप नियमनको सम्भावना बढाएपछि लगानीकर्तामाझ अनिश्चितता सिर्जना भएको विश्लेषकहरूको भनाइ छ । डेमोक्र्याटिक सांसद एड मार्कीले ठूला प्रविधि कम्पनीका प्रमुखमाथि छानबिन हुने सङ्केत गर्दै धेरै समन जारी गर्नुपर्ने टिप्पणी गरेका छन् । बुधबार बिहान अधिकांश प्रविधि कम्पनीका सेयर बढे पनि टेस्लाको सेयर ४.९ प्रतिशत र स्पेसएक्सको ३.४ प्रतिशतले घटेको थियो । निर्वाचनपछि मस्कले राजनीतिक विषयमा टिप्पणी गर्न छाडेर आफ्नो कम्पनी एक्सएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता प्रणाली ‘ग्रोक’को प्रशंसा गर्न थालेका थिए । १५- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सयले बढेर दुई लाख ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३६५५ रुपैयाँमा कारोबार भएको थियो । १६- रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप एक साताभित्र रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको छलफलपछि यस्तो जानकारी दिएका हुन् । उनीहरूबीच करिब डेढ घण्टा वार्ता भएको थियो । जेलेन्स्कीका अनुसार बेल्जियमको ब्रसेल्समा युक्रेनको पुनर्निर्माण र युद्धपछिको सुरक्षा प्रत्याभूतिबारे पनि अमेरिका, युरोपेली संघ, नेटो तथा विश्व बैंकका प्रतिनिधिसँग छलफल भएको छ । उनले रुसका आक्रमणबाट नागरिकको सुरक्षा गर्न अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रणालीका प्रतिरक्षा सामग्री उपलब्ध गराउन पनि आग्रह गरेका छन् । युद्ध अन्त्यका लागि युक्रेन कूटनीतिक पहल अघि बढाउन तयार रहेको उनले बताएका छन् । १७- युएईसँग आइसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ४२ रनले पराजित भए पनि ओमान सन् २०२७ को पुरुष क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगितामा पुगेको छ । राम्रो नेट रनरेटका आधारमा ओमानले नामिबियालाई पछि पार्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । विश्वकप लिग–२ का पछिल्ला सात खेल लगातार गुमाएको ओमान र नामिबियाले समान ३३ अंक जोड्दै प्रतियोगिता टुंग्याएका थिए । तर नेट रनरेट राम्रो भएका कारण ओमानले सिधै विश्वकप छनोटको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको छ । यससँगै दक्षिण अफ्रिका र जिम्बाब्वेसँगै विश्वकपको सहआयोजक रहेको नामिबियाले छनोट प्लेअफ खेल्नुपर्ने भएको छ । ओमानसँगै अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै पुगेका छन् । नामिबियासहित क्यानडा, नेपाल र युएईले आठ टोली सहभागी हुने छनोट प्लेअफ खेल्नुपर्नेछ । नेपालमा आयोजना हुने उक्त प्लेअफबाट चार टोलीले १० टोली सहभागी हुने विश्वव्यापी छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । १८- सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले उनलाई इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । १९- सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न अध्यक्ष थापालाई निर्देशन दिएका छन् । २०- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिड र आर्सनलले जित निकालेका छन् । रियल म्याड्रिडले एइके एथेन्सलाई ३–२ गोलले पराजित गर्दा आर्सनलले स्लाभिया प्रागलाई २–१ गोलले हराएको छ । रियल म्याड्रिडले एइकेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो । रियलका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र फेडेरिको भाल्भेर्देले गोल गरेका थिए । एइकेका अबुबाकारी कोइटा र स्टाभ्रोस पिलियोसले गोल गरेका थिए । खेलको अन्तिम समयमा भाल्भेर्देले निर्णायक गोल गर्दै रियललाई जित दिलाएका थिए । त्यस्तै, आर्सनलले स्लाभिया प्रागलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ । आर्सनलका लागि नोनी माडुके र भिक्टर योकेरेसले गोल गरेका थिए । स्लाभियाले खेलको अन्तिम समयमा एक गोल फर्काए पनि हार टार्न सकेन । जितसँगै आर्सनलले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बुधबार रातिको अर्को चर्चित खेलमा फेनरबाचले लिभरपुललाई ३–२ गोलले पराजित गरेको छ । यस्तै, म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ गोलले हराएको छ । अन्य खेलमा पोर्चुगलको पोर्टोले नापोलीलाई ४–१ गोलले पराजित गरेको छ । बोरुसिया डर्टमन्डले रियल बेटिसलाई २–१ गोलले हराउँदा क्लब ब्रुगले पिएसभी आइन्डहोभनलाई २–१ गोलले पराजित गरेको छ । त्यसैगरी, कोमोले लेन्समाथि ९–१ गोलको फराकिलो जित निकालेको छ भने भाइकिङले साबाहलाई ४–१ गोलले पराजित गरेको छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौं । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको हो । प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा […] ...

लोकपथ
विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु
Latest NewsJust now

विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु

वासुदेव शर्मा जाजरकोट कात्तिक १९ गते । जाजरकोटको शिवालय गाउँपालिलकाका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । शिवालय गाउँपालिका–५ चाप्टस्थित खडकबहादुर शाहीका ११ बर्षीय छोरा शिशिर शा... ...

गोरखापत्र
इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने
Latest NewsJust now

इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

काठमाडौँ । युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ । द्रुत गतिमा विकास भइरहेको प्रविधिको शिक्षामाथिको प्रभावलाई सम्बोधन गर्ने प्रयासको अंशका... ...

रातोपाटी
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा
Latest NewsJust now

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play