Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ देखिएको छ । आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनसँगै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ । मुद्दामा उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ । आयोगले पत्नी र अन्य प्रतिवादीमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग गरेको आरोप लगाउँदै सजाय र सम्पत्ति जफतको माग गरेको छ । २- सन् २०२६ को अक्टोबर महिनामा नेपालमा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको अक्टोबरको तुलनामा पर्यटक आगमन ५०.५ प्रतिशतले बढेको छ । अक्टोबरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकबाट २४ हजार ५३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १८.११ प्रतिशत हो । सार्क मुलुकमध्ये भारतबाट १२ हजार ९७, श्रीलङ्काबाट ५ हजार ५६०, बङ्गलादेशबाट ४ हजार ८९३, भुटानबाट १ हजार १०४, पाकिस्तानबाट ३५३, माल्दिभ्सबाट ४६ र अफगानिस्तानबाट ७ जना पर्यटक आएका छन् । क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक युरोपबाट आएका छन् । युरोपबाट ३९ हजार ८७७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट २७ हजार ४०, अमेरिकी महादेशबाट २१ हजार २७०, ओसियानियाबाट १० हजार १४३, मध्यपूर्वबाट २ हजार ३३५ र अफ्रिकाबाट ४२१ जना पर्यटक आएका छन् । अन्य क्षेत्रबाट ७ हजार ६७५ जना पर्यटक भित्रिएका छन् । कुल पर्यटक आगमनमा युरोपको हिस्सा ३०.०२ प्रतिशत, अन्य एसियाली मुलुकको २०.३६ प्रतिशत, सार्क क्षेत्रको १८.११ प्रतिशत र अमेरिकी महादेशको १६.०१ प्रतिशत रहेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने नेपालमा कुल १० लाख ८ हजार ६१६ जना विदेशी पर्यटक भित्रिएका छन् । यस अवधिमा सार्क मुलुकबाट मात्रै २ लाख ५५ हजार ४३६ जना पर्यटक आएका छन् । ३- नेपाली कांग्रेसले सभापति गगन थापा नेतृत्वमा १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण बुझाएका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा पुष्पा भुसाल महिला उपसभापति, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका थिए । त्यसैगरी प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कात्तिक १३ गते शपथ ग्रहण गरी पार्टीको जिम्मेवारी सम्हालेका थिए । निर्वाचन आयोगमा विवरण बुझाएसँगै कांग्रेसको नयाँ नेतृत्वको विवरण आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ । ४- बलिवुड अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धको विरोध प्रदर्शनमा सहभागी भएको विषयमा बम्बई उच्च अदालतसँग बिनासर्त माफी मागेका छन् । उनले आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासमेत जनाएका छन् । भारत छाड्न जारी गरिएको सूचना खारेजीको माग गर्दै उनले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले माफी र लिखित प्रतिबद्धता मागेको थियो । अदालतले डिसेम्बर ७ सम्म इमरानविरुद्ध जारी भारत छाड्ने सूचनाको कार्यान्वयनमा रोक लगाउँदै तत्काल देश छाड्न नपर्ने आदेश दिएको छ । अमेरिकी नागरिकता भएका र सन् २००६ देखि भारतको प्रवासी नागरिक कार्ड लिएका इमरानको कार्ड रद्द गर्ने विषयमा समेत छुट्टै सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा तोकिएको छ । अभिनेता खानले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको थियो र त्यसको विरुद्ध उनी अदालतमा गएका थिए । ५- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । काठमाडौँका लागि रशिद खानले ५० रन बनाए भने कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर सोमपाल कामी र हुसैन तालतले २-२ तथा मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए । त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । त्यसैगरी काठमाडौँका बलर करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले एक एक विकेट लिए । यो काठमाडौँ दोस्रो खेलमा पहिलो जित हो भने कर्णालीको तेस्रो खेलमा पहिलो हार हो । ६- भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आगामी बुधबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच लामो समयदेखि रहँदै आएको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुनेछ । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । ७- जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिने जानकारी आफुलाई गराएको र निवेदन दिएको बताएका हुन् । संसदीय सुनुवाइ समितिको आज बस्ने बैठक अघि भएको अनौपचारिक छलफलमा जापानको प्रस्तावित राजदुतमा थापाको स्वार्थ बाझिने विषय भएको विषय जानकारी गराएकोले थापा आफैले नाम फिर्ता लिने बताएको श्रेष्ठले जानकारी दिए । ८- विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बिचौलिया प्रकरण, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारमाथि भएको धरपकडलगायत विषयमा छलफल गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । उनका अनुसार सार्वजनिक भएका पछिल्ला विषयको समाधान संसद्बाटै खोज्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेकाले पनि संसद् बैठक अपरिहार्य भएको विपक्षी दलहरूको ठहर छ । बैठकपछि बोल्दै राप्रपा सांसद खुस्बु ओलीले न्यायाधीशहरुलाई महाअभियोग लगाएर मात्र न्याय क्षेत्रका विकृति नसकिने बताउदै न्यायक्षेत्रको व्यापक पुनर्संरचना हुनुपर्ने धारणा आफुहरुको रहेको बताएकी छन् । बैठकले संवेदनशील विषयमा साझा धारणा बनाउन विपक्षी दलका नेताहरूबीच निरन्तर छलफल गर्ने र जनताको हितमा सहकार्य गर्ने निर्णयसमेत गरेको छ । ९- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका एक करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १३.५८ प्रतिशतले बढेको छ भने मकर जितु माया सुरी हाइड्रोको शेयर ८.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा लार्ज क्याप फण्डको शेयर ४.८६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३७ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको २९ करोड ४२ लाख बराबरको कारोबार भएको छ । १०- सर्वोच्च अदालतको फुल कोर्टले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका नाम जोडेर प्रकाशित तथा प्रसारित विषयको पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले हालै विभिन्न छापा, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारबारे ध्यानाकर्षण भएको सर्वोच्च अदालतका प्रवक्ता तथा सहसचिव डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । अदालतले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम हुनुपर्ने भन्दै आवश्यक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम नागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी सत्यतथ्यमा आधारित सामग्री सम्प्रेषण गर्न अदालतले आग्रह गरेको छ । अदालतले कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ । साथै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायाधीशहरूलाई आग्रह गरिएको छ । ११- नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । यसै सन्दर्भमा निगमले २०८३ कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । यस पहलले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको निगमले जनाएको छ । १२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको ‘गौंथली’ ले १ लाख ४६ हजार ६६४ टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार आम्दानी गरेको छ । त्यस्तै, कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ३ लाख ४६ हजार ४२७ टिकट बिक्रीबाट १० करोड ७६ लाख ७३ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६२ हजार २०१ टिकट बिक्री गर्दै १० करोड २८ लाख २८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख १३ हजार ११४ टिकट बिक्रीबाट ६ करोड २४ लाख ७० हजार आम्दानी गरेको छ । यस्तै, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘बा : एक योद्धा’ले १ लाख २७ हजार २१७ टिकट बिक्री गर्दै ३ करोड ५४ लाख ४० हजार कमाएको छ । यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ३ हजार ९७९ टिकट बिक्रीबाट ३ करोड ३४ लाख ८४ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७४ हजार ८०३ टिकट बिक्री गर्दै २ करोड २९ लाख ५७ हजार आम्दानी गरेको छ । १३- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ । सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संविधान र कानुनभन्दा माथि रहेर शासन सञ्चालन गर्न नपाइने बताइन् । उनले पत्रकारमाथि समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताइन् । कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, विवादित सरकारी गतिविधिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको छ । १४- बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ । भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको चक्रवात नोभेम्बर २ रातिदेखि ३ तारिख बिहानसम्म आन्ध्र प्रदेशको ओंगोल नजिक समुद्री तटमा ठोक्किने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा ‘अर्नब’ नामको चक्रवात आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो । ‘मुरासु’ को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, ओडिशा, आन्ध्र प्रदेश, तमिलनाडु, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्ने अनुमान गरिएको छ । भारतीय मौसम विभागले आन्ध्र प्रदेश, रायलसीमा र ओडिशामा तीव्र हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ओरेन्ज चेतावनी जारी गरेको छ । नोभेम्बर २ र ३ मा ओडिशामा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । तमिलनाडु, केरल, कर्नाटक, पुडुचेरी, तेलंगाना र छत्तीसगढमा एलो चेतावनी जारी गरिएको छ । नोभेम्बर ४ मा आन्ध्र प्रदेशमा आँधीहुरी र वर्षाको उच्च जोखिम रहेकाले रातो सतर्कता जारी गरिएको छ । छत्तीसगढ र ओडिशामा सुन्तला तथा मध्य महाराष्ट्र, विदर्भ, उत्तरी कर्नाटक, तेलंगाना, रायलसीमा, आन्ध्र प्रदेश र केरलमा एलो चेतावनी जारी गरिएको छ । यसैबीच, उत्तर प्रदेशका १० सहरमा सोमबार बिहान बाक्लो हुस्सु लागेको थियो भने बिहारको सुपौलमा हुस्सुका कारण दृश्यता ६० मिटरसम्म घटेको थियो । उत्तराखण्डका पाँच पहाडी जिल्लामा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । यता नेपालमा भने मौसम पूर्वानुमान महाशाखाले यो नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको बताएको छ । १५- इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । उनी इलामको प्रसिद्ध तीर्थस्थल नारायणस्थान मन्दिर परिसरमा अनशन बसेका थिए । डा. केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि निष्पक्ष छानबिन गर्नुपर्ने र सम्भावित स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ । उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसमेत अघि सारेका छन् । १६- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो । १७- प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । सरकारले आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको उल्लेख गर्दै नागरिकलाई सेवा लिन टाढाका सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ को अवधारणालाई व्यवहारमा उतार्दै सरकारी सेवा नागरिकको नजिक पुर्‍याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को व्यवस्थाअनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । हालसम्म ३३ वटा स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । सरकारले बाँकी स्थानीय तहमा समेत आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताएका छन् । यस व्यवस्थाले स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा सहज रूपमा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने सरकारको विश्वास छ । यससँगै भूमि प्रशासन तथा नापीसम्बन्धी सेवामा केन्द्रमा निर्भर रहनुपर्ने अवस्था क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ । १८- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो । उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ । १९- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको बहुप्रतीक्षित खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । खेलको १६औँ मिनेटमा डेक्लान राइसको उत्कृष्ट पासमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । लिभरपुलको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै आर्सनलले गोल गरेको थियो । खेलमा लिभरपुलले बलमाथि ५५ प्रतिशत नियन्त्रण कायम राखेको थियो । घरेलु टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने एलेक्सिस म्याक एलिस्टरले पाएको राम्रो अवसर खेर फालेका थिए । दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन लगातार प्रयास गरे पनि आर्सनलको रक्षापङ्क्ति तोड्न सकेन । आर्सनलका गोलरक्षक डेभिड रायालाई लिभरपुलले १७ पटक प्रहार गरे पनि एकपटक पनि गोलको दिशामा प्रहार गर्न सकेन । यस जितसँगै आर्सनलले १४ वर्षपछि प्रिमियर लिगमा एनफिल्डमा पहिलो जित निकालेको छ । यसअघि आर्सनलले सन् २०१२ मा एनफिल्डमा लिभरपुललाई पराजित गरेको थियो । जितपछि आर्सनलले नौ खेलबाट २४ अंक जोड्दै लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा आर्सनल तीन अंकले अगाडि रहेको छ । यता लिभरपुल भने १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ । २०- स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रेसिङ सान्टान्डरलाई ३–० गोलले पराजित गरेको छ । सान्टान्डरस्थित एल सार्दिनेरो मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र यान डियोमान्डेले गोल गरेका थिए । खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ३६औँ मिनेटमा यान डियोमान्डेले उत्कृष्ट प्रहारमार्फत गोल गरेपछि रियल म्याड्रिडले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्ने अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस जितसँगै रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकालेको छ । टोलीले पछिल्ला ६ खेलमा १८ गोल गरेको छ भने ६ गोल खाएको छ । यस जितपछि रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा झारेको छ । बार्सिलोनाको ११ खेलपछि ३० अंक रहेको छ भने रियलको २७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २८ अंक रहेको छ । त्यसैगरी रेसिङ सान्टान्डरको भने ११ खेलमा ११ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसले भन्यो– इरानमाथि नयाँ सैन्य आक्रमणको तयारीका संकेत चिन्ताजनक
Latest NewsJust now

रुसले भन्यो– इरानमाथि नयाँ सैन्य आक्रमणको तयारीका संकेत चिन्ताजनक

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको... ...

रातोपाटी
दुलेगौँडा–हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग
Latest NewsJust now

दुलेगौँडा–हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा(हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग गरिएको छ । दुलेगौँडा–हर्कपुर मोटरमार्ग सङ्घर्ष समितिका... ...

रातोपाटी
सचिव बैठक : नागरिक सेवादेखि बेरुजु फर्छ्यौटसम्म के–के भयो निर्णय ?
Latest NewsJust now

सचिव बैठक : नागरिक सेवादेखि बेरुजु फर्छ्यौटसम्म के–के भयो निर्णय ?

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउने, नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा चाडपर्व लक्षित सुरक्षा र बजार अनुगमनलाई तीव्रता... ...

रातोपाटी
अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने
Latest NewsJust now

अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने

सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play