काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष विद्युत् खपत थप बढ्ने प्रक्षेपण गरेको हो। लक्ष्मीपूजाका दिन घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विभिन्न विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले विद्युत्को माग उच्च हुने गर्छ। प्राधिकरणका अनुसार यस वर्षको अनुमानित माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने अनुमान छ। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने उनले बताएका छन्। पछिल्ला वर्षहरूमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग निरन्तर बढ्दै गएको छ। २०७९ सालमा १ हजार ३०५ मेगावाट रहेको उच्चतम माग २०८० मा बढेर १ हजार ४३८ मेगावाट पुगेको थियो। त्यसैगरी, २०८१ मा १ हजार ६०२ मेगावाट र २०८२ मा १ हजार ६५० मेगावाट पुगेको थियो। यस वर्ष उक्त माग १ हजार ७०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त बनाएको जनाएको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई तीव्रता दिइएको छ। साथै, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र प्रादेशिक कार्यालयहरूबीच समन्वय गरी विद्युत् माग तथा आपूर्तिको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्ति सहज बनाउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र आवश्यक मर्मतका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले पर्वका बेला विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन उपभोक्तालाई आग्रह गरेको छ।
यसपालिकाे लक्ष्मीपूजामा विद्युतकाे मागले नयाँ रेकर्ड बनाउने प्रक्षेपण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






