काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू ७७ घण्टादेखि सिंहदरबारस्थित मन्त्रालयमै रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मुस्ताङको आलु, फापरको ढिँडो र च्याङ्ग्राको मासु खाँदै गरेको तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । पुनका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे गाउँबाट आएर मन्त्रालय प्रवेश गरेपछि उनी निरन्तर कार्यालयमै छन् । एक शुभेच्छुकले आफूलाई नसोधी मुस्ताङको आलु, फापरको ढिँडो र च्याङ्ग्राको मासु ल्याइदिएको उनले उल्लेख गरेका छन् । ‘ल्याइदिएको खानेकुरा फाल्नु भएन । फाल्यो भने अन्न देवताले सराप्छन् रे । त्यसैले जबरजस्ती खाँदैछु,’ उनले फेसबुकमा लेखेका छन् । साथै, अबदेखि कसैलाई नसोधी खानेकुरा नल्याइदिन पनि उनले आग्रह गरेका छन् । आफूले खानेकुरा मागेर नल्याएको स्पष्ट पार्दै पुनले यसलाई लिएर घुस खाएको आरोप नलगाउनसमेत व्यङ्ग्यात्मक शैलीमा आग्रह गरेका छन् । उनले आफ्नो पोस्टले केही शुभेच्छुकलाई रिस उठ्न सक्ने भन्दै व्यङ्ग्य गर्दै सिटामोल खान सुझावसमेत दिएका छन् । उनले भनेका छन्, ‘यो फोटो फेसवुक पेजमा हाल्यो भने मेरा केहि शुभेक्छुकहरुलाई साहै नै रीस उठ्छ र १०४ डिग्रीको ज्वरो आउँछ भन्ने थाहा छ । ज्वरो आयो भने सिटामोल खानु होला । हजुरहरु जस्ता शुभेक्छुकहरुले दिनु भएको अर्ति बुद्धी र ज्ञानगुणको लागि म सात जुनी सम्म धन्यधान्य हुनेछु ।’
मुस्ताङको आलु र च्याङ्ग्राको मासु खाँदै गरेको फोटो हाल्दै महावीर पुनले भने- ज्वरो आए सिटामोल खानुहोला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






