काठमाडौं। साहित्यकार तिलविक्रम नेम्वाङ (वैरागी काइँला) ले मुन्धुमलाई नयाँ पुस्तासम्म पु¥याउन परम्परागत शब्द निर्माणको पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्तिको सिर्जना गर्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ विमोचन कार्यक्रममा बोल्दै उनले मुन्धुमलाई केवल परम्परागत ज्ञानका रूपमा सीमित नराखी समय र पुस्ताअनुसार परिमार्जन तथा विकास गर्दै लैजानुपर्ने बताए। लिम्बू भाषामा नयाँ शब्द निर्माणको सम्भावना रहेको उल्लेख गर्दै उनले एक विद्वानले हिन्दू देवी दुर्गाको सिंहवाहिनी स्वरूपलाई लिम्बू भाषाकै शब्द निर्माण पद्धतिबाट व्याख्या गरेको उदाहरण प्रस्तुत गरे। परम्परागत शब्दमा नयाँ प्रत्यय जोडेर देवीको स्वरूप र विशेषतालाई अर्थपूर्ण ढङ्गले अभिव्यक्त गरिएको उल्लेख गर्दै उनले यस्ता प्रयोगले मुन्धुमलाई नयाँ आयाम दिएको बताए। उनका अनुसार भाषाको विकासका लागि शब्दकोश तयार गर्नु मात्रै पर्याप्त हुँदैन, नयाँ सन्दर्भ र आवश्यकताअनुसार शब्द निर्माण गर्ने क्षमता पनि विकास गर्नुपर्छ। विशेषगरी लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने तयारी भइरहेका बेला यसको आवश्यकता अझ बढेको उनको भनाइ छ। कोशी प्रदेशमा सरकारी कामकाजमा लिम्बू भाषाको प्रयोग हुने अवस्था बनेसँगै प्रशासनिक, प्राविधिक र शैक्षिक क्षेत्रका शब्दावली निर्माण गर्नुपर्ने उनले बताए। बहुमत, अल्पमत, प्रस्ताव पारित, पारित नहुनेलगायत संसदीय प्रक्रियामा प्रयोग हुने शब्ददेखि विद्यालयमा शिक्षकलाई सम्बोधन गर्ने शब्दसम्म लिम्बू भाषामा विकास गर्नुपर्ने उनको भनाइ छ। प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माणमा याक्थुङ चुम्लुङलगायत भाषिक तथा सांस्कृतिक संस्थाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिए। भाषाको विकासमा कमजोरी र अपूर्णता रहनु स्वाभाविक भएको उल्लेख गर्दै उनले मुन्धुममा वर्णित मानव सिर्जनाको प्रसङ्गसमेत सुनाए। तागेरा निङ्वाभुमाङले मानिसलाई अमर बनाउने प्रयास असफल भएपछि मरणशील मानिसको सिर्जना गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सिर्जनामा कमजोरी हुनु स्वाभाविक रहेको बताए। उनले भने, “लिम्बू भाषाको विकास र प्रयोगसँग सम्बन्धित छ। कोशी प्रदेशमा लिम्बू भाषा सरकारी कामकाजमा प्रयोग हुने सम्भावनासँगै स्थानीय तहमा पनि यसको प्रयोग बढाउन आवश्यक छ। त्यसका लागि प्राविधिक र पारिभाषिक शब्दावली निर्माण गर्नुपर्छ। बहुमत, अल्पमत, प्रस्ताव पारित हुने वा नहुनेजस्ता प्रशासनिक शब्ददेखि विद्यालयमा प्रयोग हुने ‘सर’ र ‘मिस’ जस्ता सम्बोधनसम्मका आफ्नै शब्द चाहिन्छन्।” “यस कार्यमा याक्थुङ चुम्लुङले अग्रसरता लिनुपर्छ वा यस क्षेत्रमा काम गर्न चाहने व्यक्तिहरूलाई सहयोगी वातावरण बनाउनुपर्छ। निर्माण र प्रयोगका क्रममा कमजोरी हुनु स्वाभाविक हो। मुन्धुमअनुसार तागेरा निङ्वाभुमाले पनि कहिल्यै नमर्ने मानिस बनाउन खोज्दा सफल हुनुभएन। अन्ततः मरणशील मानिसको सिर्जना भयो। यदि सृष्टिकर्ताबाट समेत कमजोरी हुन सक्छ भने हामी त साधारण मानिस हौँ,” उनले भने। भाषा, संस्कृति र सिर्जनाको विकासमा कमजोरीलाई स्वाभाविक रूपमा स्वीकार्दै निरन्तर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले लिम्बू भाषा र मुन्धुमको समृद्धिका लागि नयाँ शब्दको सिर्जना, प्रयोग र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताए।
मुन्धुमलाई नयाँ पुस्तासम्म पु~याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



-ssss.jpg)


