मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली बोकेर सोरुकोटबाट तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे अचानक ब्रेक फेल भएपछि जिप सडकको भित्तामा ठोक्किएको थियो । जिपमा चालकसहित १२ जना सवार थिए । दुर्घटनामा जिप चालक खत्याड गाउँपालिका–७ निवासी २९ वर्षीय उपेन्द्र परियार, सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी, १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी र १९ वर्षीय अन्तिम योगी घाइते भएका छन् । घाइतेमध्ये गणेश ऐडीको अवस्था गम्भीर रहेको छ । उनको टाउको र निधारमा चोट लागेको छ । चालक परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने निर्मलाको कुम र छाती, करिस्माको कम्मर र छाती तथा अन्तिमको टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि सोरु गाउँपालिका–६ सिपस्थित जिमा स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।
मुगुमा भैलो खेल्ने टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






