काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । शिष्टाचार भेटका लागि विदेश सचिव मिश्री बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए । भेटवार्ताबारे रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गरेका थिए । साथै, आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको कामना गर्दै शुभकामना आदानप्रदान भएको प्रवक्ता खरेलले बताए । लामिछानेले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै आएको पनि उल्लेख गरेका थिए । प्रवक्ता खरेलले जारी गरेको विज्ञप्तिअनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको ऐतिहासिक तथा गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
मिश्री र रविबीच नेपाल–भारत सम्बन्धबारे छलफल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






