जनकपुरधाम। मिथिलाञ्चलमा परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइएको छ। बिहानैदेखि गाउँगाउँका चौबाटो, गल्ली, टोल तथा घरआँगनमा महिलाहरूको चहलपहल देखिएको थियो। मिथिलानीहरू बिहानै उठेर गोबर र केराउका दाना ओखलमा कुट्दै परम्परा निर्वाह गरेका थिए। उनीहरू समूहमा भेला भएर मैथिली भाषाका परम्परागत गीत गाउँदै आफ्ना दाजुभाइको दीर्घायुको कामना गरेका थिए। मिथिलाको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यस पर्वलाई श्रम, श्रद्धा र पारिवारिक स्नेहको उत्सवका रूपमा लिने गरिन्छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लासँगै भारतको मिथिलाञ्चलमा पनि यो पर्व मनाउने परम्परा छ। गोधन कुट्ने विधि सम्पन्न भएपछि दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई ‘बजरी’ अर्थात् केराउका दाना खुवाउने गर्छन्। त्यसपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने परम्परा रहेको स्थानीय सोनिया यादवले बताइन्। यस अवसरमा महिलाहरूले ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ भन्दै परम्परागत लोकगीत गाउने गर्छन्। यसले दाजुभाइको बलियो स्वास्थ्य र दिदीबहिनीप्रतिको दायित्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, माया र पारिवारिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ। मिथिलाको सांस्कृतिक पहिचान र मौलिक परम्पराको प्रतीकका रूपमा रहेको यो पर्वले नयाँ पुस्तालाई समेत आफ्नो संस्कृतिसँग जोड्न सहयोग पुर्याउँदै आएको छ। यसै अवसरमा महिलाहरूले आफ्ना दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्दै भ्रातृद्वितीया पर्व समेत मनाएका छन्। साँझ विभिन्न स्थानमा परम्परागत गीत, नाचगान र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। हेर्नुस् तस्बिरहरु
मिथिलाञ्चलमा गोधन कुट्ने पर्वको हर्षोल्लास (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालन्युज






