Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा फेरि चर्चामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा फेरि चर्चामा
Photo / Coverage: नेपालन्युज

सुदूरपश्चिम। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा हवाई सम्पर्क विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा फेरि चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालका विमानस्थलमा अन्तरराष्ट्रिय उडान सहज हुने र त्यसबाट सुदूरपश्चिमले पनि भविष्यमा लाभ लिन सक्ने अपेक्षा गरिएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन सहज बनाउन सन् २०१४ देखि नै भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको छ । उपयुक्त प्रवेशमार्ग नहुँदा दुवै विमानस्थलको सञ्चालन प्रभावित हुँदै आएको छ । भारतीय आकाश हुँदै महेन्द्रनगरबाट अन्तरराष्ट्रिय विमानलाई नेपाल प्रवेशको अनुमति दिए पश्चिम नेपालका विमानस्थलमा उडान सहज हुने नेपाली पक्षको बुझाइ छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा यस विषयमा सहमति जुटाउने प्रयास भइरहेको चर्चापछि सुदूरपश्चिममा पनि चासो बढेको छ । हाल एल–६२६ हवाई मार्गबाट अन्तरराष्ट्रिय विमानलाई पश्चिमतर्फ हुँदै नेपालबाट बाहिरिन अनुमति भए पनि सोही मार्गबाट नेपाल प्रवेश गर्न अनुमति छैन । नेपालले उक्त मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन जोड दिँदै आएको छ । हाल नेपालका अन्तरराष्ट्रिय उडानमध्ये करिब ८८ प्रतिशत सिमरा हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । सीमित प्रवेशमार्गका कारण पश्चिमबाट भैरहवा र पोखरा आउने विमानले समेत सिमरा हुँदै नेपाल प्रवेश गरेर पुनः पश्चिमतर्फ फर्किनुपर्ने अवस्था छ । यसबाट भैरहवा आउने विमानले करिब १९० नटिकल माइल (३५२ किलोमिटर) र पोखरा आउने विमानले १४५ नटिकल माइल (२६९ किलोमिटर) अतिरिक्त दूरी पार गर्नुपर्ने जानकारहरू बताउँछन् । महेन्द्रनगरबाट प्रवेश अनुमति पाए भैरहवा र पोखरा आउने विमानको समय र दूरी घट्नेछ । यसले इन्धन खपत, सञ्चालन खर्च र उडानको वातावरणीय असर कम गर्नुका साथै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका विमानस्थललाई अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका लागि आकर्षक बनाउन सक्ने अपेक्षा गरिएको छ । हवाई प्रवेशमार्गको उपलब्धता अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा मात्र सीमित छैन । यो पर्यटन, व्यापार, लगानी र क्षेत्रीय आर्थिक विकाससँग पनि जोडिएको विषय हो । पश्चिम नेपाल हुँदै अन्तरराष्ट्रिय उडान सहज भए पर्यटन प्रवर्द्धन, बाह्य लगानी आकर्षण र अन्तरराष्ट्रिय आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्दैमा सुदूरपश्चिमले तत्काल प्रत्यक्ष लाभ पाउनेभन्दा पनि पश्चिम नेपालका विमानस्थल र समग्र आर्थिक गतिविधिमा सहजता आउने सरोकारवालाको बुझाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर नेपालमा हवाई सम्पर्कको दायरा बढाउने विषय सकारात्मक रहेको बताउँछन् । महेन्द्रनगर हुँदै सुदूरपश्चिमको आकाश प्रयोग गरी भैरहवा र पोखराका उडान सहज हुँदा त्यसको अप्रत्यक्ष लाभ समग्र देश र पश्चिम नेपालले पाउने उनको भनाइ छ । “यो मार्ग सञ्चालनको माग पुरानै हो । यसको सञ्चालनले पश्चिम नेपाल हवाई उडानको केन्द्र बन्नेछ । यसपटक त्यो माग निष्कर्षमा पुग्ने अपेक्षा छ”, उनले भने, “यो निर्णय धनगढी क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको भविष्यसँग पनि जोडेर हेर्नुपर्छ । यहाँ विमानस्थलको स्तरोन्नति भए देहरादुन, दिल्ली लगायतका क्षेत्रमा छोटो दूरीमा हवाई उडान भई लाभ हुन्छ ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्ल महेन्द्रनगर हवाई मार्ग सञ्चालनमा आए भैरहवा र पोखरा जाने उडानको दूरी छोटिने भएकाले सबैलाई लाभ पुग्ने बताउँछन् । दूरी घटेपछि समय र इन्धन बचतसँगै व्यवस्थापकीय खर्च र हवाई भाडासमेत केही कम हुन सक्ने उनको भनाइ छ । “तत्काल विमान कम्पनी र यात्रुलाई सहज हुने भयो । भोलिका दिनमा नेपालगन्ज र धनगढी विमानस्थलको स्तरोन्नति भए हामीलाई धेरै सहज हुन्छ भन्ने विश्वास हो”, मल्लले भने, “त्यसैले पनि यसमा हाम्रो चासो हुने नै भयो । अब यो मुद्दालाई निष्कर्षमा पुर्‍याउन आवश्यक छ ।” धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार हाल महेन्द्रनगर हवाई मार्ग जहाजलाई नेपालबाट बाहिरिने प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको छ । नेपाल प्रवेशका लागि पनि अनुमति पाए काठमाडौं हुँदै जानुपर्ने बाध्यता र चाप घटाउन सहयोग पुग्ने उनको भनाइ छ । “यो रुट प्रयोगमा आए हाल सिमराबाट घुमेर भैरहवा र पोखरा आउँदा लाग्ने खर्च र समय बचत हुन्छ”, उनले भने, “हामी धनगढी विमानस्थलको स्तरोन्नतिका लागि लागिरहेका छौँ । यो काम सम्पन्न भए भविष्यमा यहाँलाई लाभ हुने नै भयो ।” धनगढी विमानस्थललाई क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने गुरुयोजना तयार अवस्थामा छ । बजेट र जग्गा अधिग्रहणको अभावमा योजना कार्यान्वयनमा ढिलाइ भइरहेको छ । स्थानीय तथा सरोकारवाला निकायले विमानस्थलको शीघ्र स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग माग गर्दै आएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्ट हवाई मार्ग प्रयोगको अनुमति निःशर्त हुनुपर्ने बताउँछन् । नेपालले महेन्द्रनगरको बाटो प्रयोग गर्न पाउने विषयमा भारतले रणनीतिक महत्त्वको अर्को क्षेत्र प्रयोग गर्न दिनुपर्ने माग पनि उठाइरहेकाले सबै पक्षको समीक्षा गरेर निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ । “यो कुरा विगतदेखि नै उठिरहेको छ । सबै पक्षको विश्लेषण गरेर राष्ट्रिय स्वार्थअनुसार निर्णयमा पुग्नुपर्छ । सुदूरपश्चिमका हकमा यो विषयसँगै प्राथमिकतामा राख्नुपर्ने अन्य पूर्वाधार तथा विकासका मुद्दा पनि छन्”, भट्टले भने, “गौरीफन्टा नाकाको स्तरोन्नति, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, झुलाघाट र परशुराममा मोटरेबल पुल निर्माणजस्ता विषयमा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ ।” महेन्द्रनगर हवाई प्रवेशमार्गको माग लामो समयदेखि उठ्दै आएको हो । यसपटक प्रधानमन्त्री तहको वार्तामा यो विषयले प्राथमिकता पाएकाले सुदूरपश्चिमका नागरिक तथा पर्यटन व्यवसायीले ठोस निर्णयको अपेक्षा गरेका छन् । प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा छन् । उनले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा हवाई सम्पर्क, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपि–सैपाल र रामारोशनलगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वका पर्यटकीय गन्तव्य छन् । कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकको आवागमन र व्यापारिक सम्बन्ध पनि छ । यी सम्भावनाबाट लाभ लिन सडक तथा हवाई पहुँच विस्तारको माग हुँदै आएको छ । कैलालीको गौरीफन्टा नाका र धनगढी विमानस्थलको स्तरोन्नतिलाई त्यसैको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ । धनगढी विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउने प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर सुदूरपश्चिमको पर्यटन र आर्थिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्नुपर्ने महासङ्घका अध्यक्ष कुँवरको भनाइ छ । “सरकारले समग्र देशलाई केन्द्रमा राखेर हवाई सम्पर्क बढाउनुपर्छ । साथसाथै सुदूरपश्चिमले प्रत्यक्ष लाभ लिन सक्ने धनगढी विमानस्थल र गौरीफन्टा नाकाको स्तरोन्नति तथा महाकाली सन्धिसँग जोडिएको पञ्चेश्वर परियोजनाको मुद्दालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुनुपर्छ”, उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा
Latest NewsJust now

राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा

बाँकेको नेपालगन्ज रंगशालामा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन गरिनेछ । ...

कान्तिपुर
विद्यालय छैन, मतदानस्थलमा भने पुरानै नाम
Latest NewsJust now

विद्यालय छैन, मतदानस्थलमा भने पुरानै नाम

मतदान केन्द्र राखिएका विद्यालय गाभिए, तह परिवर्तन भए वा भवन खाली भए पनि वडा कार्यालयले सिफारिस नपठाउँदा निर्वाचन अभिलेखमा पुरानै नाम कायम छन्। ...

कान्तिपुर
मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने
Latest NewsJust now

मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने

कृष्णबहादुर धामीदार्चुला, मङ्सिर ६ गते । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र श... ...

गोरखापत्र
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Latest NewsJust now

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement