कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कोशीले सबै विकेट गुमाएर ६५ रन बनाएको थियो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। उनले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन्। आर्मीका यमुना थारुले चार ओभरमा दुई मेडन राख्दै ६ रन खर्चेर चार विकेट लिइन्। मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिए। ६६ रनको लक्ष्य आर्मीले १३ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रन बनाइन्। कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन्। खेलमा आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच घोषित भइन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस तथा सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटका खेल सञ्चालन भइरहेका छन्।
महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत

Read Complete Original Article
Published originally on नेपालन्युज





![कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-08-08.jpg)
