क्वालालम्पुर । महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबिचको असमानता घट्दै गएको छ । मलेसियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा देशको समग्र लैंगिक समानता सूचकांक ०.७११ पुगेको छ। सन् २०२४ मा यस्तो सूचकांक ०.७०८ रहेको थियो। नयाँ सूचकांकअनुसार मलेसियाले महिला र पुरुषबिच रहेको असमानताको ७१.१ प्रतिशत अन्तर कम गरेको देखिएको छ। तथ्यांक विभागका अनुसार लैंगिक समानतामा आएको सुधारको मुख्य कारण महिलाको आर्थिक सहभागिता र अवसरमा भएको वृद्धि हो। यस क्षेत्रको उपसूचकांक सन् २०२४ को ०.७०३ बाट बढेर सन् २०२५ मा ०.७२८ पुगेको छ। मलेसियामा श्रम बजारमा महिलाको सहभागिता दर पनि सामान्य रूपमा बढेको छ। सन् २०२४ मा ५६.५ प्रतिशत रहेको महिलाको श्रम सहभागिता दर सन् २०२५ मा बढेर ५६.६ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ। त्यसैगरी महिलाको औसत मासिक तलब तथा ज्यालामा पनि वृद्धि भएको छ। सन् २०२४ मा औसत मासिक तीन हजार ४९९ मलेसियाली रिङ्गेट रहेको महिलाको आम्दानी सन् २०२५ मा बढेर ३ हजार ६३५ रिङ्गेट पुगेको छ। यो रकम अमेरिकी डलरमा करिब ८८३ डलर बराबर हुन्छ। व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिलाको उपस्थिति पनि बढेको छ। विधायक, वरिष्ठ अधिकारी तथा व्यवस्थापकका रूपमा कार्यरत महिलाको संख्या सन् २०२४ मा दुई लाख १९ हजार रहेकोमा सन् २०२५ मा बढेर २ लाख ४१ हजार पुगेको छ। त्यस्तै व्यावसायिक तथा प्राविधिक पेसामा संलग्न महिलाको संख्यामा पनि वृद्धि भएको छ। सन् २०२४ मा यस्ता पेसामा १७ लाख महिला कार्यरत रहेकामा सन् २०२५ मा यो संख्या बढेर १८ लाख पुगेको तथ्यांक विभागले जनाएको छ। महिलाको रोजगारी, आम्दानी तथा नेतृत्वदायी भूमिकामा बढ्दो सहभागिताले मलेसियामा आर्थिक क्षेत्रमा महिला र पुरुषबिचको अन्तर कम गर्न सहयोग पुर्याएको तथ्यांकले देखाएको छ।
मलेसियामा रोजगारीका अवसर बढेपछि महिला-पुरुष असमानता घट्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






