काठमाडौं, कात्तिक १९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा र आवासविहीन परिवारका लागि घर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिकास्थित चेपाङ बस्तीको निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले वर्षौंदेखि उत्पीडनमा परि राज्यको मूलप्रवाहबाट वञ्चित रहँदै आएका चेपाङ समुदायको अवस्थाप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको हो। उहाँले बढ्दो चिसोलाई मध्यनजर गर्दै न्यानो कपडाको अभावमा कोही पनि कठ्याङ्ग्रिन नपरोस् र आवासको अभावमा कसैले पनि कष्ट भोग्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने बताउनुभयो। त्यसैगरी, चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउन कुखुराका चल्ला तथा बाख्राका पाठापाठी वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री थापा मगरले वितरण गरिएका बाख्रा मासुका लागि काटेर खानुभन्दा पालनपोषण गरी संख्या वृद्धि गर्न समुदायलाई आग्रह गर्नुभयो। पशुपालनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न सके आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उहाँको भनाइ थियो। यसैबीच, नेकपा एमाले मनहरी गाउँपालिका–६ कमिटीले चेपाङ समुदायका तीन परिवारका लागि निर्माण गरेका घर हस्तान्तरण गरेको छ। मानबहादुर प्रजा, रवीलाल प्रजा र सुर्यबहादुर प्रजाका परिवारका लागि निर्माण गरिएका घर मुख्यमन्त्री थापा मगरले बिहीबार हस्तान्तरण गर्नुभएको हो। नेकपा एमालेले पार्टी सदस्यहरूबाट रकम संकलन गरी प्रतिघर तीन लाख रुपैयाँको लागतमा ती घर निर्माण गरेको जनाएको छ। घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले घरबारविहीन नागरिकका लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले आवासविहीन चेपाङ परिवारलाई पनि उक्त कार्यक्रममार्फत समेटिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘एक घर निर्माणका लागि चार लाख रुपैयाँ बजेट राखेका छौँ। प्रदेश सरकारले एक हजार घर बनाउने गरी बजेट विनियोजन गरेको छ। जसको घर छैन, उहाँहरूकै लागि उक्त बजेट छुट्याएका छौँ। तिहारपछि नै हामीले त्यो काम सुरु गर्छौँ।’ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला, जिल्ला अध्यक्ष हृदयराम लामा लगायतका नेता तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
मनहरिका चेपाङलाई मुख्यमन्त्रीकाे आश्वासन : अब चिसोले कठ्याङ्ग्रिनु पर्दैन, घरविहीन पनि रहनु पर्दैन

Read Complete Original Article
Published originally on जनताटाइम्स






