वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउसले संसद् (कंग्रेस) मा डेमोक्रेटिक पार्टीको सम्भावित नियन्त्रणलाई मध्यनजर गर्दै विगत केही महिनादेखि विशेष पूर्वतयारी गरिरहेको छ । एक ह्वाइट हाउस अधिकारी र योजनाबारे जानकारी भएका दुई व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, कंग्रेसमा बहुमत गुमाएको अवस्थामा कार्यकारी अधिकारको प्रयोगलाई ट्रम्पले प्राथमिकता दिनेछन् । यस कदममार्फत आफ्ना प्रमुख एजेन्डालाई अगाडि बढाउने योजना सरकारको छ । संसद्ले सरकारका कदमबारे गर्नसक्ने अनुसन्धानको सामना गर्ने योजना पनि तयार गरिएको छ । उपप्रमुख स्टिफन मिलर र बजेट निर्देशक रसेल भाउटसहितका उच्च अधिकारीहरूले गत अप्रिलदेखि नै ह्वाइट हाउसको काउन्सिल कार्यालयसँगको सहकार्यमा आप्रवासन, भन्सार महसुल, आवास लागत र संघीय खर्चसम्बन्धी कदमहरूलाई कार्यकारी आदेशमार्फत अघि बढाउने योजना बनाइरहेका छन् । ह्वाइट हाउसका अधिकारीहरुले दिएको जानकारीअनुसार कन्सुल विल शार्फ र उनको टोलीले पनि ट्रम्पले चाल्नसक्ने कार्यकारी कदमहरुबारे गम्भीर अध्ययन गरिरहेका छन् । ‘ट्रम्पले आफ्नै बलमा कानुनी रूपमा के गर्न सक्छन्, आफ्नो अधिकारको दायरा कहाँसम्म धकेल्न सक्छन् र अदालतमा ती निर्णयहरूको बचाउ कसरी गर्न सक्छन् भन्ने विषयमा टोलीले गम्भीर अध्ययन गरिरहेको छ,’ ह्वाइट हाउसका एक अधिकारीले भने । यदि डेमोक्र्याट्सले कंग्रेसको नियन्त्रण लिए भने उनीहरूसँग ट्रम्पको छानबिन गर्ने, कानुन निर्माण रोक्ने र उनको खर्च प्राथमिकताहरूलाई नियन्त्रण गर्ने शक्ति हुनेछ । तर, व्यापार, विदेश नीति र संघीय कर्मचारीतन्त्रमा ट्रम्पको व्यापक कार्यकारी अधिकार भने सुरक्षित रहनेछ । अमेरिकामा मंगलबार चुनाव हुँदैछ । यदि रिपब्लिकनहरूले कंगे्रसको नियन्त्रण गुमाए भने, डेमोक्र्याट्ससँग सम्झौतामा पुग्नुअघि आफूले एक वा दुई महिनासम्मका लागि भिटो जारी गर्न सक्ने ट्रम्पले बताएका छन् । अर्थात्, उनीसँग कंग्रेसले पारित गरेका निर्णयहरुलाई एक वा दुई महिनासम्म अल्झाउनसक्ने अधिकार छ । आइतबार सार्वजनिक गरिएको न्युयोर्क पोस्टको पड फोर्स वन पोडकास्टमा ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ म ‘मिस्टर भिटो’ बन्नेछु। र त्यसपछि कुनै बिन्दुमा गएर हामी सम्भवतः सहमतिमा पुग्नेछौं ।’ अहिले कंग्रेसमा रिपब्लिकनहरूको साँघुरो बहुमत छ । तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्समा २१८–२१४) र सिनेटमा (५३–४७) छ । जनमत सर्वेक्षणहरुले तल्लो सदनमा डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने देखाएका छन् । बहुमतका लागि डेमाक्रेटिक अहिलेको सिट संख्याबाट ४ सिट बढाए पुग्छ । माथिल्लो सदन सिनेटको प्रतिस्पर्धा भने रोचक रहने जनमत सर्वेक्षणहरुले जनाएका छन् । गत एक महिनादेखि ट्रम्पले संसद्मा रिपब्लिकनको पकड कायम राख्न देशैभर र्यालीहरू आयोजना गर्दै आएका छन् । यद्यपि उनका सहयोगीहरूले भने सन् २०२७ को नयाँ राजनीतिक परिदृश्यका लागि भित्र–भित्रै तयारी थालिसकेका छन् । यता, ह्वाइट हाउसले भने रिपब्लिकनहरूले पराजय भोग्ने सम्भावनालाई खारेज गर्दै सञ्चारमाध्यमहरूले गलत कथा बाहिर ल्याएको आरोप लगाएको छ । संसद् छलेर कार्यकारी अधिकारको प्रयोग जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति पद सम्हालेदेखि नै ट्रम्पले कार्यकारी अधिकारको दायरालाई व्यापक रूपमा परीक्षण गर्दै आएका छन् । संसद्को स्वीकृति वा नयाँ कानुन बिना नै कार्यकारी अधिकार प्रयोग गरी ठूलो परिमाणमा भन्सार महसूल लगाउने, आप्रवासन नियन्त्रणलाई कडा पार्ने, संघीय कर्मचारीहरूको संख्या घटाउने र इरानविरुद्धको युद्धलगायतका परराष्ट्र नीति अगाडि बढाउने काम गरेका छन् । यसको एउटै अपवाद, जुलाई २०२५ मा रिपब्लिकन नियन्त्रित संसद्द्वारा पारित र राष्ट्रपतिद्वारा हस्ताक्षरित गरिएको कर तथा खर्च कटौतीसम्बन्धी बृहत् प्याकेज थियो । राजनीतिक विश्लेषण गर्ने ‘इन्साइड इलेक्सन’ का सम्पादक नाथन गोन्जालेस भन्छन्, ‘गत दुई वर्षमा राष्ट्रपति ट्रम्पले संसद्लाई मूलतः बेवास्ता गर्दै कार्यकारी आदेश र अधिकारमार्फत सकेसम्म धेरै काम गर्ने प्रयास गरिरहेका छन् । यदि डेमोक्रेट्सको बहुमत आएमा पनि उनले यो शैलीलाई निरन्तरता दिनेछन् ।’ नयाँ कानुन विना नै काम गर्ने आफ्नो क्षमता विस्तार गर्न ट्रम्पले बारम्बार राष्ट्रिय संकटकाल लागू गर्दै आएका छन् । संसद्ले त्यस्ता संकटकालहरू अन्त्य गर्न मतदान गर्न सक्छ, तर ट्रम्पले त्यसलाई भिटो अधिकार प्रयोग गरी अस्वीकार गर्न सक्छन् । राष्ट्रपतिको भिटो उल्ट्याउन सहज हुन्न । यसका लागि संसद्का दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । यद्यपि, डेमोक्रेट्सको नियन्त्रण भएमा संसद्ले राष्ट्रपतिलाई ठूला अवरोधहरू सिर्जना गर्न सक्छ । सिनेटको नियन्त्रण पाएमा डेमोक्रेट्सले सर्वोच्च अदालतका न्यायाधीशसहित ट्रम्पले मनोनीत गरेका सबै न्यायिक र कार्यकारी पदका उम्मेदवारहरूलाई रोक्न सक्छन् । टेनिसन विश्वविद्यालयका सार्वजनिक नीतिसम्बन्धी प्राध्यापक तथा मध्यावधि चुनावको इतिहासका लेखक एन्ड्रयू बुश भन्छन्, ‘मलाई लाग्छ, राष्ट्रपतिले गरेका कुनै पनि नियुक्तिलाई अनुमोदन गर्न उनीहरू निकै अनिच्छुक हुनेछन् ।’ ट्रम्पले कानुनी अधिकार बाहिर गएका कार्यकारी कदमहरूलाई अदालतहरूले रोक्न सक्छन् । ट्रम्पले संसद् बिना के गर्न सक्छन् र अदालतमा त्यस्ता निर्णयहरूको कसरी बचाउ गर्ने भन्ने विषयमा न्याय मन्त्रालयबाट कानुनी राय लिने योजना ह्वाइट हाउसले बनाएको एक जानकार व्यक्तिले रोयटर्ससँग बताएका छन् । ट्रम्पले ल्याएका कानुनहरू पारित गर्न पनि डेमोक्रेट्सले अस्वीकार गर्न सक्छन् । त्यस्तै, सदनले पारित गरेका कानुनमा पनि ट्रम्पले भिटो लगाउनसक्छन् । राष्ट्रपतिको यस्तो भिटो उल्ट्याउन दुई तिहाई बहुमत चाहिन्छ । ट्रम्पले संसदीय अनुसन्धानलाई भने कार्यकारी कदममार्फत टार्न सक्दैनन् । यसअघि नै डेमोक्रेट्सले ट्रम्पले प्रयोग गरेका राष्ट्रिय निर्णय तथा कार्यकारी शक्तिको प्रयोग सम्बन्धी कागजातहरु माग गरेर त्यस विषयमा छलफल गरिसकेका छन् । ट्रम्पले आफ्ना सहयोगी, दाता वा आफन्तहरुको हितमा काम गरे÷ नगरेको विषयमा उनीहरुले छलफल गर्दैछन् । तीनै स्रोतका अनुसार, ट्रम्पका सहयोगीहरूले यसै सम्भावनालाई मध्यनजर गर्दै महिनौँदेखि रक्षात्मक तयारी गरिरहेका छन् । ह्वाइट हाउसका वकिलहरूले राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू र एजेन्सीका प्रमुखहरूलाई संसदीय सोधपुछ, कागजात माग र सुनुवाईको सामना गर्ने विषयमा ब्रिफिङ गर्दै आएका छन् । उनीहरूले अधिकारीहरूलाई लिखित रूपमा उल्लेख भएका विषयमा मात्रै बोल्न सल्लाह दिएका छन् । ट्रम्पले आफ्ना निजी सल्लाहकारहरूसँग गरेका कुराकानीलाई संसद्को छानबिनबाट बचाउन ‘कार्यकारी विशेषाधिकार’ प्रयोग गर्ने अनुमति लिन चाहेका छन् । यसका लागि उनले न्याय मन्त्रालयसँग कानुनी राय मागेका छन् । रोयटर्स
मध्यावधि चुनाव हारेमा संसद् छलेर शासन गर्ने ट्रम्पको तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sayapatri-03112026055359-watermarked.jpg)
