काठमाडौं । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का लागेको छ । मंगलबार भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोरेको हो । डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पको बाँकी कार्यकाल थप चुनौतीपूर्ण बनेको छ ।

इरान युद्ध, बढ्दो महँगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आप्रवासनसम्बन्धी कठोर नीति, जेफ्री एपस्टिन प्रकरण र रिपब्लिकन समर्थकमा घटेको मतदान उत्साहलाई हारको प्रमुख कारण मानिएको छ । राष्ट्रपति ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा विभिन्न चुनावी सभामा सहभागी हुँदै आफ्नै उम्मेदवारी जस्तै ठानेर मतदान गर्न समर्थकलाई आग्रह गर्नुभएको थियो । तर, उहाँको सक्रिय चुनावी प्रचारले पनि पार्टीलाई अपेक्षित सफलता दिलाउन सकेन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले रिपब्लिकन पार्टीको हारका पछाडि ६ वटा कारण देखाएका छन् ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकन हार्नुका मुख्य कारण इरानसँगको युद्धलाई लिइएको छ । अमेरिकी मतदाताको ठूलो हिस्सा इरानमाथि गरिएको सैन्य कारबाही र त्यसले लम्ब्याएको द्वन्द्वप्रति असन्तुष्ट थिए । इरान युद्धको अर्को ठूलो प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा देखियो । अमेरिकामा पेट्रोलको मूल्य चुनावी नतिजालाई प्रभावित गर्ने महत्त्वपूर्ण विषय मानिँदै आएको छ । यसपटक पनि त्यही भयो । महँगीले आर्थिक सुधारको वाचा कमजोर बन्नु पनि हारको अर्को कारण मानिएको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले महँगी नियन्त्रण गर्ने र अमेरिकी परिवारको आर्थिक अवस्था सुधार्ने प्रमुख वाचा गर्नुभएको थियो । तर, सन् २०२६ को मध्यावधि निर्वाचनसम्म आइपुग्दा पनि महँगी र जीवनयापनको बढ्दो लागत अमेरिकी परिवारका लागि प्रमुख चिन्ताको विषय बन्न पुगे । पेट्रोलियम पदार्थ मात्र होइन, खाद्यान्न, बिजुली, आवास र स्वास्थ्य सेवाको खर्चसमेत बढ्दा सर्वसाधारणमाथि आर्थिक दबाब कायम रह्यो । अवैध आप्रवासीलाई देशबाट निष्कासन गर्ने नीति ट्रम्पको राजनीतिक एजेण्डाको प्रमुख हिस्सा रहँदै आएको छ ।

तर, समर्थकले यसलाई सीमा सुरक्षा र कानुनी व्यवस्था कायम गर्ने आवश्यक कदमका रूपमा व्याख्या गरे पनि धेरै अमेरिकीले यसको कार्यान्वयन शैली र मानवीय प्रभावप्रति प्रश्न उठाए । जसको प्रभाव मध्यावधि निर्वाचनको परिणाममा देखिएको छ । दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित दस्तावेजको विवाद पनि यस निर्वाचनमा डेमोक्रेटिक पार्टीका लागि महत्त्वपूर्ण चुनावी मुद्दा बन्यो । यस्तै, निर्वाचनको दिन मतदानको प्राविधिक बाहेकका अन्य विषयमा देखिएको कमजोरीलाई पनि रिपब्लिकन पार्टी हार्नुको मुख्य कारण मानिएको छ ।

यो समाचार तयार पार्दासम्म विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ सिट जितेर बहुमतको आँकडा पार गरेको छ । कन्सासमा डेमोक्रेटिक पार्टीले करिब १०० वर्षपछि चुनाव जितेको छ । पछिल्लो पटक सन् १९३२ मा कन्सासबाट डेमोक्र्याट सिनेटर चुनिएका थिए । यसपटक डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर रोजर मार्सललाई पराजित गर्नुभएको छ । मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल अल–सइदले जित हासिल गर्नुभएको छ । यससँगै उहाँ अमेरिकी इतिहासमा सिनेटर चुनिने पहिलो मुस्लिम बन्नुभएको छ । तल्लो सदनमा कुल ४३५ सिट छन् । यी सबै सिटमा चुनाव भएको छ । विपक्षी डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा अगाडि छ । सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव भएको छ । जसमा डेमोक्रेटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन् । बाँकी चार सिटको मतगणना जारी छ ।

पछिल्लो नतिजालाई जोड्दा सिनेटमा डेमोक्रेटिक पार्टीको ५३ र रिपब्लिकन पार्टीको ४३ सिट पुगेको छ । गभर्नरमा कुल ३६ सिटमध्ये ३१ राज्यको नतिजा आइसकेको छ । २० डेमोक्र्याट र ११ रिपब्लिकनले सिट जितेका छन् । बाँकी राज्यमा मतगणना जारी छ । अमेरिकी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गर्न फरक-फरक संख्यामा सिट आवश्यक पर्छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । सिनेटमा कुल १०० सिट छन् । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन् । बहुमतका लागि २१८ सिट आवश्यक पर्छ ।

ट्रम्पको लागि आगामी बाँकी कार्यकाल कठिन
दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण भएपछि राष्ट्रपति ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा शक्ति सीमित हुनेछ । उहाँलाई नीतिहरू पारित गर्न मुस्किल पर्नेछ भने डेमोक्र्याट्सले तेस्रो पटक राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउन सक्ने सम्भावना पनि छ । राष्ट्रपति ट्रम्पले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार हुनुमा इरानविरुद्धको युद्ध कारण भएको स्वीकार गर्नुभएको छ । उहाँले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘तर म यो चुनावी नतिजालाई आफ्नो राष्ट्रपति कार्यकालको झट्का ठान्दिनँ । डेमोक्र्याटहरू यो ठूलो विजय प्राप्तिका लागि वर्षौंदेखि प्रयासरत रहेको छन् । अन्ततः लक्ष्य हासिल गरेका छन् । राम्रो कामका लागि डेमोक्र्याटहरूलाई बधाई ।’

राजनीतिक दिशा बदलिन सक्छ : पूर्वराष्ट्रपति ओबामा
निर्वाचनको नतिजाहरू सार्वजनिक भएपछि पूर्वराष्ट्रपति बराक ओबामाले हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनको परिणामबारे आफ्नो आधिकारिक प्रतिक्रिया दिनुभएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम साता ओबामा डेमोक्रेटिक उम्मेदवारहरूको पक्षमा मत माग्न चुनावी मैदानमै उत्रिनुभएको थियो । सो क्रममा उहाँले आफ्ना भाषणहरूमा राष्ट्रपति ट्रम्प र प्रशासनको चर्को आलोचना गर्नुभएको थियो । डेमोक्रेट्सले सिनेट र प्रतिनिधिसभा (हाउस) दुवैको नियन्त्रण आफ्नो हातमा लिने परिणामहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै भन्नुभयो, ‘अब डेमोक्रेट्सको मुख्य जिम्मेवारी कडा परिश्रम गरेर जहाँ-जहाँ अधिकार छ त्यहाँ सुधारका काम गर्नु र थप क्षति रोक्नु रहेको छ । अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् । आफूहरूले भोगिरहेका चुनौतीहरूको ठोस समाधान दिनसक्ने नेतृत्वको खोजीमा छन् ।’

इतिहासमै पहिलो पटक राज्यको गभर्नर बनिन् अश्वेत महिला
अमेरिकाको जर्जिया राज्यमा गभर्नर पदका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार केइसा लान्स बटम्स विजयी हुनुभएको छ । जितसँगै केइसा अमेरिकी इतिहासमा कुनै राज्यको गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला बन्नुभएको छ । उहाँ जर्जियाकै पहिलो महिला गभर्नरसमेत हुनेछिन् । मंगलबार सम्पन्न निर्वाचनमा बटम्सले रिपब्लिकन पार्टीका उम्मेदवार तथा व्यवसायी रिक ज्याक्सनलाई पराजित गर्नुभएको हो । ५६ वर्षीया बटम्स यसअघि एटलान्टा सहरको मेयरका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा वरिष्ठ सल्लाहकारका रूपमा पनि काम गर्नुभएको थियो । केइसाको जितसँगै जर्जियामा दुई दशकभन्दा लामो समयदेखि कायम रिपब्लिकन पार्टीको शासन अन्त्य भएको छ । उहाँले दुई कार्यकाल पूरा गरेर पद छाड्न लाग्नुभएका रिपब्लिकन गभर्नर ब्रायन केम्पको स्थान लिनुहुने छ । बटम्सका प्रतिस्पर्धी ज्याक्सन स्वास्थ्य क्षेत्रमा कर्मचारी व्यवस्थापनसम्बन्धी सेवा दिने कम्पनी ज्याक्सन हेल्थकेयरका अर्बपति संस्थापक हुनुहुन्छ ।

डेमोक्रेटिक पार्टीमाथि पनि उत्तिकै चुनौती
निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरूले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । यसपटक डेमोक्रेटिक पार्टीको विजय धेरै अर्थमा महत्त्वपूर्ण रहेको छ । परम्परागत रूपमा रिपब्लिकन पार्टीको किल्ला मानिएका क्षेत्रमा पनि डेमोक्रेट्स विजयी भएका छन् । निर्वाचनको सम्पूर्ण मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुन अझै केही दिन लाग्नसक्छ ।

प्राप्त बलिया जनमत डेमोक्रेट्सका लागि दबाबपूर्ण पनि हुनेछ । अब उनीहरूले ट्रम्पको विरोध गरेर मात्रै पुग्नेछैन । बरु, जनताका आर्थिक चिन्ताहरूलाई जिम्मेवार ढंगले सम्बोधन गर्न लाग्नुपर्ने छ । मतदाताले आगामी दिनमा हुने मूल्यवृद्धि र दैनिक जीवनका समस्यामा डेमोक्रेटिक पार्टीलाई पनि उत्तिकै जिम्मेवार ठान्नेछन् । राष्ट्रपति ट्रम्पसँग भिटो अधिकार कायम रहने हुनाले सदनले पारित गर्नसक्ने कानुनहरूमा हस्ताक्षर गर्न आनेकानी गर्न सक्नेछन् ।

मध्यावधि चुनावमा ट्रम्पलाई ठूलो धक्का

Read Complete Original Article
Published originally on हिमालय टाइम्स