Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि चुनावमा ट्रम्पको अग्निपरीक्षा, सिनेटका यी १० सिटमा किन छ नजर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि चुनावमा ट्रम्पको अग्निपरीक्षा, सिनेटका यी १० सिटमा किन छ नजर ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौती बढाउन सक्ने विश्लेषण गरिएको छ । यस चुनावले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) गरी अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन निर्धारण गर्नेछ । यसपटक सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव हुँदै छ । तीमध्ये ३३ नियमित र दुई विशेष चुनाव हुन् । हाल सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्रेटिक पार्टीका ४५ सदस्य छन् । दुई स्वतन्त्र सांसदले डेमोक्रेटहरूसँग मिलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सिनेटमा रिपब्लिकनको बहुमत खोस्न डेमोक्रेटहरूले कम्तीमा चार सिट थप जित्नुपर्ने हुन्छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक छ । १० राज्यका चुनावी प्रतिस्पर्धाले सिनेटको शक्ति सन्तुलन निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ । महँगी, इरानसँगको युद्ध, इन्धन र खेतीको बढ्दो लागतजस्ता मुद्दाले ती राज्यमा चुनावी प्रतिस्पर्धालाई रोचक बनाएका छन् । तीमध्ये केही राज्यलाई यसअघि रिपब्लिकन पार्टीको बलियो गढ मानिन्थ्यो । के हो मध्यावधि चुनाव र किन महत्त्वपूर्ण छ ? अमेरिकामा राष्ट्रपतिको चुनाव प्रत्येक चार वर्षमा हुन्छ भने संसद् (कंग्रेस) को चुनाव प्रत्येक दुई वर्षमा हुन्छ । राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा, अर्थात् दुई वर्षपछि हुने चुनावलाई मध्यावधि चुनाव (मिडटर्म इलेक्सन्स) भनिन्छ । यसमा संसद्का दुवै सदनका लागि मतदान हुन्छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटमा चुनाव हुन्छ । सिनेटमा प्रत्येक राज्यका दुई प्रतिनिधि हुन्छन् । कुल १०० सदस्य रहेको यस सदनको कार्यकाल ६ वर्षको हुन्छ । सबै सदस्यको चुनाव एकैपटक हुँदैन । प्रत्येक दुई वर्षमा करिब एकतिहाइ सिटका लागि चुनाव गराइन्छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिटमा भने प्रत्येक दुई वर्षमा चुनाव हुन्छ । हाल यस सदनमा डेमोक्रेटका २१४ र रिपब्लिकनका २१८ सदस्य छन् । यदि डेमोक्रेटिक पार्टीले कंग्रेसको एक वा दुवै सदनमा बहुमत हासिल गर्‍यो भने ट्रम्पलाई आफ्ना निर्णय कार्यान्वयन गर्न कठिन हुन सक्छ । १० राज्यमा कुन–कुन सिटमा छ प्रतिस्पर्धा ? महत्त्वपूर्ण मानिएका बिभिन्न १० राज्यका सिटमध्ये सातमा रिपब्लिकन र तीनमा डेमोक्रेटिक पार्टीका सांसद छन् । अलास्का यहाँ रिपब्लिकन सिनेटर ड्यान सुलिभानको प्रतिस्पर्धा डेमोक्रेटिक उमेदवार तथा पूर्वसांसद मेरी पेल्टोलासँग छ । ड्यान सुलिभान नाम गरेका एक स्वतन्त्र उमेदवार पनि चुनावी मैदानमा छन् । यस राज्यमा मतदाताले उमेदवारलाई आफ्नो प्राथमिकताअनुसार क्रमबद्ध गरेर मत दिन्छन् । यसलाई र्‍यांक्ड च्वाइस भोटिङ भनिन्छ । सन् २०२४ मा ट्रम्पले अलास्का १३ प्रतिशत मतान्तरले जितेका थिए । तर, अक्टोबरमा गरिएको सर्वेक्षणमा पेल्टोलाले सामान्य अग्रता लिएको देखिएको छ । आईवा र क्यान्सास आईवामा रिपब्लिकन सांसद जोनी अर्न्स्टले चुनाव नलड्ने भएपछि उनको सिट खाली छ । यहाँ रिपब्लिकन एश्ले हिंसन र डेमोक्रेट जोश ट्युरेकबीच प्रतिस्पर्धा छ । क्यान्सासमा रिपब्लिकन सिनेटर रोजर मार्शलको मुकाबिला डेमोक्रेट एडम ह्यामिल्टनसँग हुँदै छ । सन् १९३२ पछि क्यान्सासमा कुनै पनि डेमोक्रेटले सिनेट चुनाव जितेका छैनन् । यसपटक खेतीको बढ्दो लागत, ट्रम्पको ट्यारिफ नीति र इरान युद्धप्रति असन्तुष्टि चुनावी मुद्दा बनेका छन् । मेन र उत्तर क्यारोलिना मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्सको प्रतिस्पर्धा डेमोक्रेट ट्रोय ज्याक्सनसँग छ । उत्तर क्यारोलिनामा भने डेमोक्रेट पूर्वगभर्नर रोय कूपर र रिपब्लिकन माइकल ह्वाटलीबीच प्रतिस्पर्धा हुँदै छ । ट्रम्पले पनि यस राज्यमा कूपरको स्थिति बलियो रहेको स्वीकार गरेका छन् । अक्टोबरको सर्वेक्षणमा कूपरले दोहोरो अंकको अग्रता लिएको देखाइएको छ । ओहायो र टेक्सस ओहायोमा डेमोक्रेट शेरोड ब्राउन रिपब्लिकन जोन हस्टेडविरुद्ध चुनावी मैदानमा छन् । उपराष्ट्रपति जेडी भान्सले सिनेट छाडेपछि हस्टेडलाई उक्त सिटमा नियुक्त गरिएको थियो । टेक्ससमा डेमोक्रेट जेम्स टालारिको र रिपब्लिकन केन पाक्सटनबीच प्रतिस्पर्धा छ । सन् १९९४ यता टेक्ससमा कुनै पनि डेमोक्रेटले मध्यावधि चुनाव जितेका छैनन् । यसका बाबजुद अक्टोबरका सर्वेक्षणमा टालारिको सामान्य अग्रतामा वा प्रतिस्पर्धी उमेदवारसँग बराबरीमा देखिएका छन् । जर्जिया, मिचिगन र न्यु ह्याम्पसायर जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफको प्रतिस्पर्धा रिपब्लिकन माइक कोलिन्ससँग छ । मिचिगनमा डेमोक्रेट अब्दुल अल–सईद र रिपब्लिकन माइक रोजर्सबीच प्रतिस्पर्धा हुँदै छ । न्यु ह्याम्पसायरमा डेमोक्रेट क्रिस पापासको मुकाबिला पूर्वरिपब्लिकन सिनेटर जोन सुनुनुसँग छ । अक्टोबरको सर्वेक्षणमा ओसोफ, अल–सईद र पापासले आ–आफ्नो प्रतिस्पर्धामा अग्रता लिएको देखाइएको छ । यी प्रतिस्पर्धामा उमेदवारहरूको लोकप्रियतासँगै चुनावी चन्दा र प्रचारप्रसारमा हुने खर्चले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । टेक्ससमा एलन मस्कले पाक्सटनको समर्थन गर्ने रिपब्लिकन सुपर पीएसीलाई १५ करोड ८० लाख डलर दिएका छन् । ओहायोमा दुवै पार्टीका समर्थक समूहहरूले करोडौँ डलर खर्च गरेका छन् । सिनेटमा बहुमत प्राप्त हुँदा ट्रम्पलाई कस्तो असर पर्ला ? अमेरिकामा राष्ट्रपतिले सरकार सञ्चालन गर्छन् । तर, कानुन निर्माण र ठूला निर्णयका लागि उनलाई संसद्को समर्थन आवश्यक पर्छ । राष्ट्रपतिले नियुक्त गर्ने सर्वोच्च अदालतका न्यायाधीशसहित अन्य उच्च सरकारी पदका अधिकारीको नियुक्ति अनुमोदन गर्ने वा रोक्ने अधिकार सिनेटसँग हुन्छ । अन्तर्राष्ट्रिय सन्धि अनुमोदनमा पनि सिनेटको महत्त्वपूर्ण भूमिका हुन्छ । यसबाहेक, राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अघि बढेमा सिनेटले त्यसको सुनुवाइ गर्छ । यदि डेमोक्रेटहरूले सिनेटमा बहुमत हासिल गरे भने ट्रम्पलाई आफ्ना एजेन्डा अघि बढाउन कठिन हुन सक्ने बताइएको छ । उनले प्रस्ताव गरेका उच्च सरकारी पदका उमेदवारको नियुक्ति रोक्न सकिन्छ । कानुन र बजेटका विषयमा दुवै पार्टीबीच टकराव बढ्न सक्छ । सिनेटका समितिहरूले सरकारका निर्णय र कामकारबाहीमाथि छानबिन गर्न सक्छन् । यद्यपि, सीनेटमा बहुमत गुमाउँदैमा ट्रम्पले राष्ट्रपति पद गुमाउने वा उनको सरकार तत्काल ढल्ने होइन । उनको कार्यकाल जारी रहनेछ । तर, संसद्मा विपक्षीको नियन्त्रण बढ्दा उनका निर्णयमाथि प्रश्न उठाउने र चुनौती दिने शक्ति पनि बढ्ने बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play