Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबल विजेतालाई १० लाख २५ हजार पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यपुर थिमिमा खेलकुद महोत्सव हुँदै, मेयर कप फुटबल विजेतालाई १० लाख २५ हजार पुरस्कार
Photo / Coverage: हिमालय टाइम्स

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले खेलकुद क्षेत्रको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले आगामी पुसदेखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। महोत्सवको पहिलो प्रतियोगिताका रूपमा पुस ११ गतेदेखि बागमती प्रदेश अन्तरनगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेछ। मेयर कप फुटबल प्रतियोगिताको विजेताले १० लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दुई लाख ५० हजार रुपैयाँ मूल्यको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी खेलकुद महोत्सव तथा त्यसअन्तर्गत सञ्चालन हुने विभिन्न प्रतियोगिताबारे जानकारी गराएको हो। चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक र सम्पदायुक्त पहिचानलाई खेलकुदका माध्यमबाट पनि विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो। खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक, अनुशासित समाज र सक्षम युवा निर्माणको आधारका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। नगरभित्र लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुर्‍याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। खेलकुद पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि र नियमित प्रशिक्षणलाई नगरपालिकाले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो। उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, धैर्य र सामूहिक भावनाको विकास गर्ने बताउनुभयो। महोत्सवले विभिन्न खेल विधामा रुचि राख्ने खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै नगरपालिकाहरूबीच आपसी सद्भाव, मित्रता र सहकार्य अभिवृद्धि गर्ने उहाँको विश्वास थियो। महोत्सवको पहिलो कार्यक्रमका रूपमा आयोजना हुने मेयर कप फुटबल प्रतियोगिता मध्यपुर खेलमैदानमा सञ्चालन हुनेछ। बागमती प्रदेशभित्रका नगरपालिकाबीच हुने प्रतियोगितामा प्रत्येक नगरपालिकाबाट एउटा मात्र टोली सहभागी हुन पाउनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक नगरपालिकाले पुस ४ गतेभित्र टोली दर्ता गराइसक्नुपर्नेछ। टोली दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ। प्रत्येक टोलीमा बढीमा २० खेलाडी र पाँच जना अफिसियल गरी २५ जनासम्म सहभागी हुन पाउनेछन्। प्रारम्भिक दर्ताका क्रममा कम्तीमा १६ जना खेलाडीको नाम समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सहभागी टोलीले सम्बन्धित नगरपालिकाको आधिकारिक पत्रसहित खेलाडीको नागरिकता, जन्मदर्ता प्रमाणपत्र वा अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। खेलाडीको पासपोर्ट आकारको फोटो तथा प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक, टिम म्यानेजर र फिजियोथेरापिस्टलगायत अफिसियलको विवरण पनि अनिवार्य गरिएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का प्रचलित नियमअनुसार सञ्चालन हुनेछ। पुरस्कारतर्फ विजेताले १० लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। फेयर प्ले टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई दुई लाख ५० हजार रुपैयाँ मूल्यको मोटरसाइकल प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। फुटबलबाट सुरु हुने महोत्सवमा भलिबल, बुद्धिचाल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबल टेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकरलगायतका प्रतियोगिता समावेश गरिएका छन्। ती प्रतियोगिता राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापी स्तरमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु रहेको नगरपालिकाले जनाएको छ। पर्याप्त अवसर, प्रशिक्षण र प्रोत्साहनको अभावमा क्षमता प्रदर्शन गर्न नपाएका खेलाडीलाई उपयुक्त मञ्च प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। खेलकुदका माध्यमबाट विभिन्न स्थानीय तहबीच भाइचारा, सद्भाव, मित्रता, समन्वय र सहकार्य अभिवृद्धि गर्नु पनि महोत्सवको अर्को उद्देश्य हो। खेलकुदले प्रतिस्पर्धासँगै अनुशासन, हारलाई सहज रूपमा स्वीकार गर्ने र जितमा विनम्र रहने संस्कार विकास गर्ने नगरपालिकाको विश्वास छ। महोत्सवले खेलकुद क्षेत्रको विकाससँगै मध्यपुर थिमिको पर्यटन र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकको आगमन हुँदा नगरभित्रका होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने नगरपालिकाको विश्वास छ। मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक तथा सम्पदायुक्त पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र नगरलाई खेलकुद, संस्कृति तथा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत महोत्सवले राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम
Latest NewsJust now

पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बागमती नदी किनारका विस्थापित सुकुमबासी परिवारहरू यतिबेला गम्भीर संकट र त्रासमा छन् । जिल्ला... ...

रातोपाटी
विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने
Latest NewsJust now

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

काठमाडौं । विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालाका वक्ताहरूले विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण, पूर्वसूचनाको विश्वसनीयता र सञ्चारमाध्यमको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को गम्भीरताका आधारमा सोहीअनुसार पूर्वसूचना जारी गर्नुपर्ने बताए ...

केन्द्रबिन्दु
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो
Latest NewsJust now

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो

टोकियो । जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement