काठमाडौं। लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको रौनकले यतिबेला मधेश प्रदेशका गाउँदेखि सहरसम्म उत्सवमय बनेको छ। चार दिनसम्म श्रद्धा र निष्ठाका साथ मनाइने यो पर्वका लागि नदी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। जनकपुरधामका ऐतिहासिक सरोवरहरू गंगासागर, धनुषसागर र महाराजसागरलगायतका पोखरीहरूलाई बेहुलीझैँ सिँगारिएको छ। महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ किलोमिटर लामो घाट निर्माण गरिएको छ, जसलाई नेपालकै सबैभन्दा लामो छठ घाट मानिएको छ। वीरगञ्जको घडीअर्वा पोखरी र सप्तरीको छिन्नमस्तामा पनि विशेष तयारी गरिएको छ। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यस वर्ष जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले छठ मनाउने तयारी गरेका छन्। उनीहरूले कुनै सर्वसाधारणको घरमा बसेर धार्मिक विधि पूरा गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको पनि जनकपुर भ्रमण हुन सक्ने चर्चा रहे पनि औपचारिक पुष्टि हुन बाँकी छ। विशिष्ट व्यक्तिहरूको सम्भावित उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ। दीपावलीपछि बजारमा आर्थिक चहलपहल बढेको छ। छठका लागि आवश्यक पर्ने सामग्री र फलफूलको माग बढेसँगै व्यापारीहरू उत्साहित देखिएका छन्। जनकपुरधाममा मात्रै छठ लक्षित करिब ६ करोड रुपैयाँ बराबरको फलफूल भित्रिएको फलफूल व्यवसायी संघले जनाएको छ। पछिल्ला दशकमा तराई मधेशबाट सुरु भएको छठको लोकप्रियता अहिले काठमाडौंसहित देशका विभिन्न सहरमा समेत विस्तार भएको छ।
मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल

Read Complete Original Article
Published originally on नेपालन्युज






