मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका सात जनाको नामसमेत प्रहरीले सार्वजनिक गरेको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् । त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् । प्रहरीका अनुसार चालक लोप्चनको ढाडमा चोट लागेको छ । निमा थिङको बायाँ काँध र दाहिने हातमा, कान्छा ध्वज थिङको बायाँ करङमा, सुमिना थिङ र सिखा लामाको ढाडमा तथा हरिमाया थिङको बायाँ काँधमा चोट लागेको छ । त्यस्तै, वेयहान राना मगरको टाउको र ढाडमा चोट लागेको छ । सातै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहान करिब ८:३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भीमफेदी गाउँपालिका–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको थियो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । अस्पतालमा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए । अन्य सात जनाको उपचार भइरहेको छ ।
मकवानपुर सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, ७ घाइतेको नाम सार्वजनिक

Read Complete Original Article
Published originally on पर्दाफास






