काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले शनिबार बेपत्ता व्यक्तिको दाबी पेस गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेर ३२ जिल्लाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपत्ता रहेका छन् । त्यस्तै, धनकुटाका दुई, डडेल्धुराका १५, खोटाङका ६, भोजपुरका चार, अछामका दुई, कपिलवस्तु ६, जाजरकोट दुई, कालिकोटका ६, नवलपरासी पूर्वका १७, उदयपुरका १७ र काभ्रेपलाञ्चोकका ३५ जना नागरिक बेपत्ताको सूचीमा समावेश छन् । यसैगरी, नवलपरासी पश्चिमका ११, तेह्रथुमका एक, रुकुम पूर्वका चार, सप्तरीका ५१, बर्दियाका ७४, स्याङ्जाका आठ, रामेछापका ३७, दाङका ३८, सिन्धुपाल्चोकका २१९ र सिन्धुलीका ३७ जनाको सूचीमा उल्लेख गरिएको छ । यस्तै, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा र उदयपुर गरी ३२ वटा जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएको २२९४ जनाको विवरण मात्र समावेश गरिएको छ । विभिन्न सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ । प्राधिकरणले शनिबार सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेलापरेको भए उनी वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । यस्तै, बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । ३२ जिल्ला बाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ । अर्थतन्त्रमा पौने पाँच खर्ब क्षति१० भदौमा रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा चार खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले रसुवा-भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपत्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार बाढीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा कुल हानि (ड्यामेज) दुई खर्ब ८२ अर्ब ९० करोड र कुल नोक्सानी (लस) एक खर्ब ८९ अर्ब ७६ करोड गरी चार खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति भएको छ । विपत्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थानमा कुल सात खर्ब छ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान मूल्यांकन प्रतिवेदनमा छ । बाढीका कारण एक हजार ४६४ जनाको मृत्यु भएको थियो । पाँच हजार २५८ जना अझै बेपत्ता छन् । विपत्पछि १३ हजार ७९५ जनाको उद्धार गरिएको थियो । अहिले हजारौँ परिवार विस्थापित भई अन्यत्र बसोबास गर्न बाध्य छन् । बाढीबाट भएको हानि तथा नोक्सानीको विस्तृत मूल्यांकन गरी वित्तीय आवश्यकता अनुमान तथा पुनर्निर्माण योजनासहित विपत्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदन तयार पार्न नेपाल सरकारले राष्ट्रिय योजना आयोगलाई जिम्मा दिएको थियो । सोहीअनुसार आयोगले प्रतिवेदन तयार पारेको हो । बाढीले रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति गरेको छ । आयोगका अनुसार उत्पादनका साधन, यातायात तथा ऊर्जा पूर्वाधार, व्यापार, पर्यटन, कृषि र रोजगारीमा उल्लेख्य क्षति पुगेको छ । कोप-३१ मा भाग लिन परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्कीए प्रस्थानपरराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्नुभएको छ । टर्कीको अन्टाल्यामा यही नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी, उहाँले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने कार्यक्रम छ । सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेण्डाः ग्लेसियर, क्रायोस्फियर एण्ड रिसिलियन्स अण्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एण्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनुहुने छ । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौजना अधिकारीहरू सरकारी टोलीमा सहभागी छन् । परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ । टर्कीएमा नेपाल, ताजकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा पर्वतीय एजेण्डा र हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत हुनेछ । यस पटकको कोप बैठकमा नेपालले जलवायु न्याय, पर्वतीय पारिस्थितिकी प्रणालीको रक्षा र जलवायु वित्तलाई प्राथमिकताका साथ उठाउँदै छ । जलवायु परिवर्तनमा कुनै योगदान नरहे पनि हिमाली क्षेत्रमा परेको असर, हिमनदी पग्लेको समस्या र हालै भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता विपत्को क्षतिपूर्ति पाउनुपर्ने अडान नेपालको रहनेछ । नेपालले हानि तथा नोक्सानी कोषबाट ऋण नभई सहज र सोझै अनुदान सहयोग पाउनुपर्ने र कार्बन उत्सर्जन घटाउन धनी राष्ट्रहरूले गरेका प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुनुपर्ने माग अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा राख्ने तयारी गरेको छ ।
भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



(1).jpg)


