काठमाडौं ।भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति उपलब्ध गराइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहदेखि उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । पहिचान हुँदै गएपछि थप विद्यार्थीलाई पनि विभिन्न चरणमा छात्रवृत्ति दिइनेछ । यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । अहिले त्यसलाई विस्तार गर्दै उच्च शिक्षासम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको हो । निर्णयअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ । त्यसका लागि सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय र क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गराउन निर्देशन दिइएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइनेछ । मन्त्री पोखरेलले पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र त्यसपछि पहिचानका आधारमा थप विद्यार्थीलाई पनि क्रमशः समेट्दै जाने बताएका छन् । यो निर्णय कार्यान्वयनमा आएपछि भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले जुनसुकै विषयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् ।
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

Read Complete Original Article
Published originally on नेपालन्युज






