गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका भारतको जम्मूका ४० वर्षीय सुहैल गुप्तालाई खोज्न उनका दाइ सुमीत गुप्ता तीन महिनामा तीन पटक नेपाल आइसकेका छन्।सुमीतले भारतबाट फोनमा बीबीसीसँग भने,"हामीले स्थलगत रूपमा स्थानीय गाउँहरूमा गएर र विभिन्न कूटनीतिक पहलबाट पनि खोजी गरिरहेका छौँ। ड्रोनको सहायताबाट पनि खोज्ने काम गर्यौँ।"करिब दुई महिना यहीँ बिताइसकेको र दुई साता अघि मात्रै पछिल्लोपटक स्वदेश फर्किएको उनी बताउँछन्।कैलाश मानसरोवर यात्रामा रहेका सुहैल बाढीमा परी बेपत्ता भएका उनको परिवारको भनाइ छ। बाढीको तीन महिना बितिसक्दा पनि उनी जीवित नै छन् भन्ने शतप्रतिशत आशा रहेको भन्दै उनको खोजीकार्य जारि रहेको परिवारले जनाएको छ। गत सातामात्रै उनको परिवारले बाढी गएको क्षेत्रमा सुहैलका ताजा पोस्टरहरू टाँसेका छन्। उक्त पोस्टरमा उनलाई फेला पार्ने व्यक्तिलाई १० लाख नेपाली रुपैयाँ दिइने पनि उल्लेख छ। उनको जस्तै बाढीले क्षति पुर्याएका धेरै ठाउँमा अझै पनि हराइरहेका मानिसहरूका परिवारले आफ्नो आफन्त भेटे सम्पर्क गरिदिन सम्पर्क नम्बर उल्लेख गर्दै ताजा पोस्टर टाँसेका छन्।सरकारी तथ्याङ्क अनुसार उक्त बाढीले निम्त्याएको विपद्मा परी बेपत्ता भएका विदेशी नागरिकहरुको सङ्ख्या ७०० जनाभन्दा बढी छ। रोजगारी, भ्रमण र व्यवसायका लागि त्यस क्षेत्रमा रहेका नेपालका विभिन्न जिल्लाका ५,२८५ जना नेपाली नागरिकहरू पनि हालसम्म बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। कतिपय नेपाली परिवारले बाढीमा बेपत्ता आफन्तको आआफ्नो परम्परा अनुसार अन्तिम संस्कार समेत गरिसकेका छन्। भोटेकोशी र त्रिशूली नदीमा बगेर भारत पुगेको शव पहिचानमा ट्याटू कसरी सहयोगी बन्यो भाइ अझै भेटिने आशा सुहैलको परिवारलाई हुनुको कारण उनको मोबाइल फोनमा बाढी गएको दिनयता कम्तीमा विभिन्न पटक फोन जानु र केही पटक फोन उठ्नु भएको सुमीत बताउँछन्।सुमीतका अनुसार पछिल्लो पटक नोभेम्बर १६ तारिखमा समेत ३-४ घण्टी गएको थियो। "फोनको घन्टी जाने कारणले पनि हामीले आशा राखिराखेका छौँ। हामीले खोजीको क्रममा केही मानिसहरूले ट्रमाले आफैँलाई चिन्न नसकेको पनि घटना थाहा पायौँ। त्यसैले हामीलाई भाइ छ भन्ने आशा छ," सुमीतले फोनमा भने। "हामी सबै परिवार एकदमै धेरै तनावमा छौँ।"बेपत्तालाई मृत्यु घोषणा गर्ने प्रक्रिया कहाँ पुग्यो? Reuters ठूलो जनधनको क्षति हुने गरी भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा बेपत्ता भएका र यकिन विवरण प्राप्त भएका सुहैलजस्तै ६०० भन्दा बढी विदेशी नागरिकको औपचारिक रूपमा 'मृत्यु भएको' भन्ने घोषणा नेपाल सरकारले अब छिट्टै गर्ने अधिकारीहरूले बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म छिमेकी भारत / चीनसहित १९ वटा देशका ६२३ बेपत्ता विदेशी नागरिकहरूको यकिन विवरण प्राप्त भएको छ।"अब छिट्टै कार्यकारी समितिको बैठक बस्ने कुरा छ। त्यसले ६२३ जनाको विवरण नेपाल सरकारलाई सिफारिस गर्छ र सरकारबाट मृत्यु घोषणा हुन्छ," प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले भने। "बाँकी देशहरूलाई पनि हामीले परराष्ट्र मन्त्रालयमार्फत् ताकेता गरिरहेका छौँ। मृत्यु घोषणा भइसकेपछि परिवारले मृत्यु दर्ता गर्न सक्नुहुनेछ।"३४ वटा देशबाट ७२० जना हराइरहेको भन्ने प्रारम्भिक विवरणपछि सरकारले बेपत्ता नागरिकको सन्दर्भमा मृत्यु दर्ता वा घोषणा गर्ने सन्दर्भमा अध्यादेश जारी भएको थियो। उक्त अध्यादेश अनुसार प्राधिकरणले बेपत्ता व्यक्तिको विवरण यकिन गर्न प्रक्रिया बनाएर दशैँ अगाडि नै विदेशी नागरिकको हकमा परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावासहरूमा पत्राचार गरेको थियो। भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ताको मृत्युदर्ताका लागि कहिलेबाट बाटो खुल्छ?भोटेकोशीमा बाढीमा बेपत्ता २४ सय भन्दा बढीलाई 'मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो, क-कसले पठाए विवरण? प्राधिकरणले गत मंसिर ८ गते एउटा सूचना जारी गर्दै रसुवा-भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको दावी पेश गर्न भनेको थियो। उक्त सूचना अनुसार बेपत्ता विदेशी व्यक्तिको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राधिकरणमा प्राप्त भएको विवरणमाथि बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए स्वयं वा एकाघरको परिवारले ७ दिनभित्र दाबी पेस गर्न भनिएको छ। प्राधिकरणको सूचना अनुसार विदेशी व्यक्तिको हकमा भारतका २१३, अमेरिकाका ६९, फ्रान्सका ४, क्यानडाका २७, बेलारुसका एक, सिङ्गापुरका ९, यूकेका ३२, हँगेरीका २, बेल्जियमका २, काजकिस्तानका २, चीनका ८५ र रिपब्लिक अफ दक्षिण अफ्रिकाका ६ गरी थप १२ देशका नियोगबाट विवरणहरू प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यसबारे विस्तृतमा जानकारी लिन वा कुनै दाबी विरोध भए पेश गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न सूचना जारी गरिएको हो।सुमीतका भाइ सुहैलको नाम पनि भारतका बेपत्ता २१३ जनाको सूचीमा उल्लेख छ। तर सरकारले यी प्रक्रिया अघि बढाइरहँदा आफ्नो भाइ फर्किने वा भेटिने आशा नगुमाएकोले खोजी जारी राखिने सुमीत बताउँछन्।कतिपय परिवारलाई प्रशासनिक र कानुनी प्रयोजनका लागि मृत्यु दर्ता प्रमाणपत्र लिन आवश्यक पर्ने भएका कारण सरकारले गरिरहेको प्रक्रियामा आफ्नो कुनै आपत्ति नभएको उनले बताएका छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
भोटेकोशी-त्रिशूली बाढीको तीन महिना: बेपत्तालाई 'मृत घोषणा' गर्ने प्रक्रिया अन्तिम चरणमा

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






