काठमाडौँ । स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यसहित नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित सुरु भएको एक्स्पो कात्तिक २१ गते शनिबारसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिँदै नर्सरी व्यवसायलाई उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने बताइन् । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उनको भनाइ छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र नेपाली फूलको बजार विस्तार गर्न एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिँदै मन्त्री चौधरीले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् । “नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ । संघले उठाएका हकहित, नीतिगत सहजीकरण र प्राविधिक सहयोगका सवालमा मन्त्रालय सकारात्मक छ”, उनले भनिन्, “व्यवसायीले जग्गाको समस्या पनि जानकारी गराउनुभएको छ । यसपटक हामीले कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउँदै छौँ । यसबाट छिटोभन्दा छिटो समस्या समाधान हुने विश्वास छ ।” उनले नर्सरी क्षेत्रमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस्ता प्रदर्शनी देशैभरि आयोजना गर्नुपर्ने बताइन् । कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा नर्सरी व्यवसायीलाई उपलब्ध गराउन माग गरे । लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गालाई उत्पादनमूलक काममा उपयोग गर्नुपर्ने उनको भनाइ छ । उनले सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । साथै, सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने गरी नीति बनाउन आग्रह गरे । तिहारका बेला ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात पूर्ण रूपमा रोक्नुपर्ने बताए । देशभरका खाली जग्गाको भौगोलिक अवस्थाअनुसार फूल, जडीबुटी तथा अन्य व्यावसायिक खेती गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन सकेमा मात्रै देश समृद्ध हुने बताए । एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका विभिन्न उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने सजावटी बिरुवा, फलफूलका बिरुवा, कृषि तथा वनजन्य उत्पादन र जडीबुटी नर्सरीका सामग्री मेलाका आकर्षणका रूपमा रहेका छन् । संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक तथा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टल रहेका छन् । मेलामा ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहित संघका छवटा आधिकारिक स्टल तथा प्रतिस्पर्धाका चारवटा स्टल छन् । संयोजक महर्जनले मेलामा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताइन् । उनका अनुसार आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै नर्सरी क्षेत्रमा लगानी, रोजगारी सिर्जना र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको मुख्य उद्देश्य हो । मेलामा व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा गराई उनीहरूको क्षमता विकास र व्यावसायिक हौसला बढाउने उद्देश्यले उत्कृष्ट उत्पादन तथा स्टललाई शिल्ड, नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । एक्स्पो बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । नर्सरी व्यवसायी संघ नेपालले यसअघि विभिन्न प्रदर्शनी तथा एक्स्पो आयोजना गर्नुका साथै नर्सरी बाटिका निर्माण, वृक्षरोपण र रक्तदानजस्ता सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ । यसपटकको एक्स्पोले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र उपभोग बढाउनुका साथै आयात प्रतिस्थापन, व्यावसायिक विस्तार र हरित अर्थतन्त्रको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।
भृकुटीमण्डपमा ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु, शनिबारसम्म चल्ने

Read Complete Original Article
Published originally on टक्सार






