काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको जनाएको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। काठमाडौं–सर्लाही रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। सरकारका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा हुन् भने एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन्। दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम तथा घाइतेको उपचार खर्च उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्नेछ। सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।
भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च उपलब्ध गराउने सरकारको तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






