काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाप्रति पार्टी स्तब्ध र मर्माहत भएको जनाएका छन् । काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय एउटै गाडी रिजर्भ गरेर छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको भन्दै रास्वपाले यसलाई गाउँ र समुदायका लागि अपूरणीय क्षति भनेको छ । रास्वपाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । पार्टीले घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचार, मृतकको पहिचान तथा शव व्यवस्थापनमा सहजीकरण र पीडित परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सडक दुर्घटनालाई यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषयका रूपमा उल्लेख गर्दै रास्वपाले आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
भीमफेदी दुर्घटनाः रास्वपाद्वारा मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






