काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। काठमाडौँको टिकाथलीबाट छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी बिहीबार बिहान भीमफेदी–कुलेखानी सडकखण्डमा दुर्घटनामा परेको हो। बिहान करिब ५ः४५ बजे सडकबाट करिब ५०० देखि ७०० मिटर तल भिरमा खसेर गाडी दुर्घटना भएको प्रारम्भिक विवरण छ। दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। मृत्यु हुनेमध्ये गाडीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकरकुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका सुवेक यादवको पहिचान खुलेको छ। अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेको सङ्ख्या ६ पुगेको छ। घाइतेमध्ये मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादवको पहिचान खुलेको छ। एक जना घाइतेको पहिचान खुल्न बाँकी छ। घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइते मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन गाउँ फर्किने क्रममा थिए। काठमाडौँको टिकाथलीबाट गाडी रिजर्भ गरेर राति करिब २ बजे सर्लाहीका लागि यात्रा सुरु गरेका उनीहरू अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए। मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने पाँच वर्षीय सक्षम यादवको शरीरमा भित्री चोट लागेको छ। तीन वर्षीय सुदन यादवको टाउको तथा मुखमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। हाल घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास तथा उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भीमफेदी ईभी दुर्घटना : मृतक दुईजनाको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/ev-accident-83-7-26-bhimphedi%20(1).jpeg)


