काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुर्ईदिने राजकीय भ्रमण टोलीमा निजी क्षेत्रबाट चार दर्जनभन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका छन् । जुन विगतका प्रधानमन्त्रीहरूको भ्रमणको तुलनामा ठूलो संख्या हो । किनभने यसअघि २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा निजी क्षेत्रबाट ३३ जनामात्रै सहभागी थिए भने २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा निजी क्षेत्रबाट २९ जना व्यावसायिक प्रतिनिधिमण्डलको सहभागिता थियो । तर, यसपटक प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा निजी क्षेत्रतर्फबाट ५३ जनाको सूची रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसपटक भ्रमणका क्रममा नयाँदिल्लीमा हुने ‘नेपाल-भारत बिजनेस राउण्ड टेबल’ तथा व्यावसायिक मञ्चमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ(सिएनआई)को नेतृत्वमा दुवै देशका निजी क्षेत्रबीच व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारका विषयमा छलफल हुने र कार्यक्रमलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यसूची रहेको छ । निजी क्षेत्रले भारतसँगको बढ्दो व्यापार घाटा, गैरभन्सार अवरोध र उच्च ढुवानी लागत घटाउन उच्च राजनीतिक तहमा उठाउनुपर्ने एजेण्डा तय गरेको छ भने व्यापार सन्धि पुनरवलोकन र निर्यात सहजीकरण पनि मुख्य एजेण्डाका रूपमा अघि सारेको छ । यसअघि २०७३ मा तत्कालीन प्रधानमन्त्री दाहालको भारत भ्रमणमा निजी क्षेत्रबाट ३३ जनामात्रै सहभागी थिए भने २०७२ मा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा पनि निजी क्षेत्रबाट २९ जना व्यवसायीको मात्रै सहभागिता थियो । निजी क्षेत्रले प्रधानमन्त्रीको भ्रमणका क्रममा मुख्य गरी जुट तथा स्टिलमाथिको अतिरिक्त शुल्क खारेजी, उत्पत्तिको नियम (रुल्स अफ ओरिजन) मा लचकता अर्थात् हाल भारतीय बजारमा भन्सारमुक्त पहुँच पाउन नेपाली उत्पादनमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्ने व्यवस्था घटाएर २० प्रतिशतमा झार्नुपर्ने, वनस्पति घिउ, एक्रिलिक यार्न, जिंक अक्साइड र तामाका उत्पादनमा लगाइएको कोटा प्रणाली खारेजी, गैरभन्सार अवरोध र गुणस्तर मान्यता, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चितता अर्थात् चिनी, गहुँ, धानजस्ता वस्तुको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाललाई छुट दिनुपर्ने माग गरेको छ । त्यसैगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको सफल सञ्चालनका लागि भैरहवा, महेन्द्रनगर र जनकपुरलगायतका बिन्दुबाट दुर्ईतर्फी हवाई रुटको अनुमति, व्यापार लागत घटाउन भारतका थप समुद्री बन्दरगाहहरूको सहज प्रयोग र एकीकृत जाँच चौकी (आइसिपी) निर्माणमा तीव्रता, नेपाली नागरिकले पनि भारतमा सहजै क्युआर कोडमार्फत् डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयन, दीर्घकालीन विद्युत् खरिद ग्यारेन्टी अर्थात् १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने समझदारीको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक आयोजनाको वार्षिक नवीकरण गर्नुपर्ने झन्झट हटाउनुपर्ने, जलविद्युत् आयोजनामा तेस्रो मुलुकको लगानी भए पनि भारतले बिजुली खरिदमा सुनिश्चितता गर्नुपर्ने, भारतीय प्रसारण लाइन प्रयोग गर्दा लाग्ने शुल्कमा सहुलियत र बंगलादेशसम्म विद्युत् निर्यातका लागि सहज ट्रान्जिट सुविधा उपलब्ध गराउनुपर्ने निजी क्षेत्रका माग रहेका छन् । त्यस्तै, नयाँदिल्लीमा आयोजना हुने ‘नेपाल-इण्डिया बिजनेस समिट’ मार्फत् नेपालमा भएका नीतिगत सुधारबारे जानकारी गराई पूर्वाधार, कृषि र पर्यटनमा भारतीय लगानी आकर्षित गरिनुपर्ने, व्यापारका क्रममा आउने समस्या तत्काल समाधान गर्न दुवै देशका वाणिज्य मन्त्रालयको नेतृत्वमा स्थायी द्विपक्षीय संयन्त्र निर्माण गर्नुपर्नेलगायतका सुझाव निजी क्षेत्रले दिएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्रीको यसपटकको भ्रमणलाई नेपाल–भारत आर्थिक सम्बन्धलाई निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ लैजाने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै व्यापार सन्धि पुनरवलोकन, व्यापार, गुणस्तर प्रमाणीकरण, सीमा नाका सहजीकरण, पारवहन तथा ऊर्जा र सम्पर्क सञ्जाल विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै उक्त विषय भारतसँग प्रमुखतासाथ उठाउनुपर्ने सुझाव दिएको छ । महासंघले सन् २००९ को व्यापार सन्धिको पुनरवलोकन समयसीमा तोकेर टुंग्याउनुपर्ने, १६ वटा प्राथमिक कृषि वस्तुको शुल्क र परिमाणात्मक बन्देजमुक्त व्यापारमा दुर्ई अर्थतन्त्रको आकार र नेपाली किसानको प्रतिस्पर्धी अवस्था हेरेर नेपाललाई सहुलियत दिनुपर्ने, भारतको विशाल सार्वजनिक खरिद बजारमा नेपाली उत्पादनलाई अवसर प्रदान गर्नुपर्ने, तेस्रो मुलुकसँग अधिमानपूर्ण व्यापार सम्झौता गर्ने नीतिगत स्थान सुरक्षित गर्न तथा गहुँ, धान र चिनी आयात–निर्यातको अपुग कोटा पुनरवलोकन गरी दीर्घकालीन र भरपर्दो आपूर्ति व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी व्यापार उपचार तथा गैरभन्सार अवरोध हटाउने सन्दर्भमा सन् २०१६ जनवरी ५ देखि नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको न्यून मूल्यांकनविरोधी शुल्क अर्थात् ‘एन्टी–डम्पिङ ड्युटी’ खारेज गर्नुपर्ने, भारतीय बजारमा नेपाली जुटको हिस्सा दुर्ई प्रतिशतभन्दा कम रहे पनि ४० प्रतिशतभन्दा बढी कच्चा जुट, मेसिनरी पार्टपूर्जा र सहायक सामग्री भारतबाटै आयात हुने गरेकाले करिब ११ अर्बको निर्यात र किसानको रोजीरोटी प्रभावित भएको उल्लेख गर्दै महासंघले उक्त शुल्क हटाउनुपर्ने र सन् २०२५ जुन ३० मा सुरु गरिएको मध्यावधि पुनरवलोकनमार्फत् थप शुल्क लगाइनु नहुने माग गरेको छ । साथै स्टिलमा लागू गरिएको सेफगार्ड र स्टिल आयात अनुगमन प्रणाली तथा प्लाइबोर्ड र दालचिनीमा पूर्वसूचनाबिना लागू गरिएका एकपक्षीय नियममा छुट दिनुपर्ने, अलैंची, चिया र अदुवाजस्ता प्रमुख कृषि उपजको निर्यातमा सिर्जना हुने गैरभन्सार अवरोध अन्त्य हुनुपर्ने पनि निजी क्षेत्रको माग रहेको छ । गुणस्तर तथा प्रयोगशाला परीक्षणको पारस्परिक मान्यताका लागि नेपाल गुणस्तर चिह्नलाई भारतीय मानक ब्युरोको मापदण्डसरह समकक्ष मान्यता र प्रमाणपत्रको म्याद समान बनाउनुपर्ने, दुवैतर्फका एकीकृत जाँच चौकीमा मान्यताप्राप्त प्रयोगशाला र क्वारेन्टाइन स्थापना गरी पशुजन्य, वनजन्य, खाद्यान्न र रासायनिक वस्तुको प्रमाणीकरणमा लाग्ने दुर्ईदेखि चार दिनको समय र लागत घटाउनुपर्ने, अलैंचीलगायत वस्तुमा नेपालमै गरिएको परीक्षणलाई मान्यता दिनुपर्ने तथा नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट जारी भौतिक सहीछापबिनाको अनलाइन उत्पत्ति प्रमाणपत्रलाई भारतीय भन्सारले स्वीकार गर्नुपर्ने पनि माग रहेका छन् । त्यसैगरी नेपाल उद्योग परिसंघ(सिएनआई)ले पनि परम्परागत कूटनीतिमा मात्र सीमित नराखी आर्थिक कूटनीति, लगानी, उत्पादन र निर्यात प्रवर्द्धनलाई केन्द्रमा राख्नुपर्ने भन्दै १० बुँदे अपेक्षा र व्यापार समस्या समाधानका पाँचबुँदे सुझाव दिएको छ । नेपाललाई उत्पादन तथा औद्योगिक लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न औद्योगिक पार्क, विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर, सडक, सुरुङमार्ग, द्रुतमार्ग र ऊर्जा परियोजनामा सार्वजनिक-निजी साझेदारी नमुना तथा भारतीय निजी क्षेत्रसँग संयुक्त लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गरिनुपर्ने सिएनआईको सुझाव छ । त्यस्तै, सिएनआईले भारतको मुन्द्रा, काण्डला र धाम्रासहित निजी क्षेत्रबाट सञ्चालित थप समुद्री, स्थल र हवाई बन्दरगाहमा पहुँच विस्तार गर्न पनि माग गरेको छ । सबै एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाहलाई भारतीय रेल सञ्जालसँग जोड्ने, थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने तथा द्विपक्षीय र तेस्रो मुलुकको व्यापार सहज बनाउन आन्तरिक जलमार्गको सम्भाव्य उपयोगबारे अध्ययन र पहल गर्नुपर्नेलगायतका सुझाव रहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा महासंघ, सिएनआई, नेपाल चेम्बर अफ कमर्स र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) लगायतका निजी क्षेत्रका संस्थाहरूको सहभागिता रहेको छ ।
भारत भ्रमणमा निजी क्षेत्रबाट हालसम्मकै ‘जम्बो टोली’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






