काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताले राष्ट्रिय हितमा असर पार्ने भन्दै सरकारको आलोचना गरेका छन्। उनले सत्ता स्वार्थका लागि विदेशीसमक्ष लम्पसार पर्ने विगतको प्रवृत्ति पुनः दोहोरिएको टिप्पणी गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा रावलले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी सन् १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाए। यस विषयमा सरकार र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ। भारतको सुरक्षा निकायले तालिम तथा प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको रावलको दाबी छ। नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै असन्तुष्टि जनाए। रावलले दुई पूर्वश्रममन्त्रीको गिरफ्तारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पनि जोडिएको अवस्थामा उनीहरूमाथि किन कानुन आकर्षित नभएको भन्दै प्रश्नसमेत गरे। सुशासन कायम गर्न कानुनको पालना, विधिको शासन र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको भएको उनको भनाइ छ।
भारत भ्रमणमा देशहितविपरीत सम्झौता भएको भीम रावलको आरोप

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






