नयाँदिल्ली । सन् १९९२ मा पहिलो फिल्म ‘दिवाना’ खेल्नुअघि नै शाहरूख खान टेलिभिजनमा एक सफल अभिनेताका रूपमा स्थापित भइसकेका थिए । सन् १९८८ मा नै उनले लेख टण्डनको टेलिभिजन सिरिज ‘दिल दरिया’ बाट अभिनय यात्रा थालेका थिए । तर दर्शकमा भने उनको अर्को सिरिज ‘फौजी’ पहिले रिलिज भयो । राजकुमार कपुरको निर्देशन रहेको ‘फौजी’ मा उनी अभिमन्यू राईको फौजी चरित्रमा मुख्य अभिनेता थिए । त्यसपछि ‘ब्याक–टू–ब्याक’ अजिज मिर्जाको ‘सर्कस’ र मणि कौलको ‘इडियट’ मा देखिए । सन् १९८९ को ‘उमीद’, ‘वाग्ले कि दुनिया’ देखि अंग्रेजी भाषाको टेलिफिल्म ‘इन ह्वीच एनी गिभ्स इट दोज वन्स’ मा काम गरिसकेका थिए । उक्त अंग्रेजी टेलिफिल्ममा काम गरिसकेपछि भने शाहरुखको अभिनय र शैलीलाई त्यसताकका चल्तीका अभिनेता दिलिपकुमारसँग तुलना गरिन थालियो । फिल्ममा अफर आउन थाले पनि शाहरुखले भने त्यसबारेमा सुरुवातमा अनिच्छा देखाएका थिए । तर, जब उनले फिल्म क्षेत्रमा प्रवेश गर्नेबारे सोचे, त्यसबेला उनलाई फिल्म आफ्नो लागि सही करिअर हो भन्नेमा पूर्ण विश्वास थिएन । सोही वर्ष (१९९१) को एक पुरानो अन्तर्वार्तामा उनकी आमाको इच्छाले कसरी शाहरुखको निर्णयमा प्रभाव पारेको थियो भन्ने कुरा खुल्छ । त्यसबेला २४ वर्षका शाहरुखले धेरै वटा प्रोजेक्टहरू हस्ताक्षर गरिसकेका थिए, तर पनि उनी आफूले फिल्ममा आउन धेरै ढिला त गरिरहेको छैन भन्ने प्रश्न आफैंलाई गर्थे । फिल्मप्रति कहिल्यै मोह थिएन भारतीय फिल्मका सबैभन्दा चर्चित कलाकार बन्नुअघि शाहरूख खानले टेलिभिजनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका थिए । सन् १९९१ सम्ममा उनले ‘चमत्कार’ (त्यसबेलाको नाम ‘भूत मेरा दोस्त’), ‘दिल आशना है’ र ‘किंग अंकल’ जस्ता फिल्महरू साइन गरिसकेका थिए । यद्यपि, उनले ‘दिवाना’ साइन गरिसकेका थिएनन्, जुन सन् १९९२ मा उनको पहिलो थिएटर रिलिज बनेको थियो । यी अवसरहरूका बाबजुद शाहरुखले आफू कहिल्यै पनि फिल्म उद्योगप्रति आकर्षित नभएको बताईरहेका थिए । हुन त त्यसताक फिल्ममा भन्दा टेलिफिल्ममा दर्शकहरु बढि थिए । टेलिफिल्ममा खेल्नु भनेको आम दर्शकका घरघरका टिभी सेटमा पुग्नु थियो । टेलिफिल्म र टेलिसिरियलबाट जनप्रीय बनिसकेका शाहरुखका लागि छँदाखाँदाको टिभी करिअरलाई लत्याएर फिल्म खेल्दा असफल पो हुने हो की भन्ने चिन्ता निकै थियो । सन् १९९१ को सुरुमा उनकी आमा लतिफ फातिमा खानको निधन भएपछि भने उनको दृष्टिकोण बदलियो । उनकी आमा चाहन्थिन्, शाहरूखले फिल्म खेलोस् । ‘म कहिल्यै फिल्मप्रति आकर्षित भइनँ,’ ‘डेक्कन हेराल्ड’सँगको त्यो पुरानो अन्तर्वार्तामा शाहरूखले भनेका थिए, ‘वास्तवमा, जब जब मैले फिल्म उद्योग र यसका शैलीहरूका बारेमा सुनेको छु, मलाई अलिक दिक्क लाग्थ्यो । म यसको हिस्सा बन्नै चाहँदिन थिएँ । तर आमाको निधन भएपछि मैले आफ्नो विचार बदलेँ । म उहाँलाई धेरै माया गर्थें र उहाँ सधैं मलाई कुनै न कुनै दिन ठूलो पर्दामा (सिल्भर स्क्रिन) हेर्न चाहनुहुन्थ्यो । सायद अहिले धेरै ढिला भइसकेको छ, तर पनि म उहाँकै लागि भए पनि यो गरिरहेको छु ।’ उनले थपे, ‘यसबाहेक, म अब हाम्रो दिल्लीको घरमा बस्नै सक्दिनँ । त्यहाँका सबै कुराले मलाई उहाँको सम्झना दिलाउँछन् । म बम्बई सर्न चाहन्छु, एउटा स्पष्ट ब्रेक लिन चाहन्छु र २४ सै घण्टा काममा व्यस्त रहन चाहन्छु ।’ अभिनय सिक्नेबारे शाहरूखको धारणा उक्त अन्तर्वार्तामा शाहरूखले अभिनय क्षमता बढाउन आफ्ना परम्पराभन्दा फरक विचारहरू पनि व्यक्त गरेका थिए । भनेका थिए, ‘अभिनय गर्न चाहने व्यक्तिलाई कुनै औपचारिक कक्षाको आवश्यकता पर्छ भन्नेमा म विश्वास गर्दिनँ ।’ बरु उनले यसको साटो अवलोकन, अभ्यास र आफ्ना कमजोरीहरूबाट सिक्नु नै अभिनय प्रदर्शन सुधार्नका लागि अत्यावश्यक हुने भनाई पेश गरेका थिए । ‘मैले त्यसरी नै अभिनय सिकेको हुँ, नराम्रा कलाकारहरूलाई हेरेर र उनीहरूले कसरी काम बिगार्छन् भन्ने देखेर । म आशा चन्द्रा वा रोशन तनेजाको अभिनय कक्षामा जाने सपना पनि देख्दिनँ । म सायद उनीहरूलाई नै अभिनयका एक–दुई कुरा सिकाउन सक्छु । मेरो विश्वास छ कि कसैले पनि तपाईंलाई कसरी अभिनय गर्ने भनेर सिकाउन सक्दैन,’ शाहरूखले त्यसबेला नै भनेका थिए, ‘यो तपाईं भित्रै हुनुपर्छ, अन्यथा यो सम्भव छैन । अवश्य पनि, अरू सबै कुरा जस्तै अभिनय पनि अभ्याससँगै सुधारिन्छ । तपाईं आफ्ना गल्तीहरू गर्नुहुन्छ र तिनैबाट सिक्नुहुन्छ ।’ टेलिभिजन कलाकारदेखि ग्लोबल सुपरस्टारसम्म उक्त अन्तर्वार्ताको तीन दशकभन्दा बढी समयपछि शाहरूख खान यतिबेला अन्तर्राष्ट्रिय रूपमा परिचित फिल्म स्टार बनिसकेका छन् । अथवा, कतिपयले त उनलाई बलिउडको ‘अन्तिम स्टार’ पनि भन्न थालेका छन् । उनको करिअरमा धेरै किसिमका अभिनय र व्यावसायिक रूपमा सफल फिल्महरू समावेश छन् । किङ खान अहिले सिद्धार्थ आनन्दद्वारा निर्देशित आफ्नो नयाँ ठूलो फिल्म ‘किङ’ को तयारीमा छन् । यो फिल्म यही क्रिसमसको छेकोमा प्रदर्शन हुने तालिका रहेको छ ।
भारतीय अभिनेता शाहरूख खान : टेलिभिजन कलाकारदेखि ग्लोबल सुपरस्टारसम्म

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






