संसारमा यस्ता थुप्रै भौतिक संरचना छन् जसले मानव सभ्यताको इन्जिनियरिङ, वास्तुशास्त्र र वास्तुकलाको उत्कर्ष झल्काउँछन् । गगनचुम्बी महलहरू, विशाल प्रशासनिक भवन र सत्ताका मतियाराले देशको भौतिक सम्पन्नता, राजनीतिक पकड र राज्यको प्रशासनिक शक्तिलाई सानका साथ प्रदर्शन गरिरहेका हुन्छन् तर जब न्यायको मन्दिर भनिने न्यायालयको पवित्र प्रांगणमा प्रवेश गर्छौं तब त्यहाँको माटो, इँटा, सिमेन्ट र रडको जोडाइभन्दा कैयौंमाथि उठेको एउटा अदृश्य तर ब्रह्माण्डलाई थामिराख्ने चेतनाले स्वागत गरिरहेको हुन्छ । न्यायालयलाई फगत चारकुने पर्खालले घेरिएको एउटा सरकारी अड्डा, मुद्दा फर्छ्यौट गर्ने यान्त्रिक कारखाना र न्यायाधीशलाई नियमित हाजिरी जनाएर महिनाबारी बुझ्ने सामान्य जागिरेका रूपमा मात्रै बुझ्यौं भने, न्यायको मर्म, शाश्वत स्वरूप र न्यायालयको वास्तविक आत्मालाई किमार्थ आत्मसात गर्न सक्दैनौं । लोकतान्त्रिक प्रणाली, विधिको शासन र नागरिक स्वतन्त्रताको आधारस्तम्भ भनेकै स्वतन्त्र, निर्भीक र निष्पक्ष न्यायालय हो । राज्यको अखण्ड खम्बा हो, जसमाथि उभिएर एउटा साधारण नागरिकले राज्यको दमन, बलियाहरूको अन्याय र समाजको विभेदविरुद्ध समानताको श्वास फेर्छ । जब समाजका प्रताडित, असहाय, गरिब, अपहेलित र किनारीकृत पारिएका नागरिक जीवनका सबै ढोका बन्द भएपछि न्यायको अन्तिम आशा बोकेर अदालतको दैलोमा प्रवेश गर्छन् तब उनीहरूका लागि त्यो ठाउँ केवल इजलास रहँदैन, जीवनको अन्तिम सान्त्वना, आस्था र भगवानको शरणस्थलतुल्य मन्दिर बन्छ । न्यायाधीश भनेको जनताका जिजीविषाको शक्ति र उनीहरूको अन्तिम सहारा हो । जब राज्यका अन्य अंगबाट नागरिक अन्यायमा पर्छन्, जब कानुनका ठेलीहरूले निमुखाहरूको पक्षमा बोल्न छोड्छन् र चारैतिर अन्यायको अन्धकार छाउँछ तब नागरिकले देख्ने एकमात्र उज्यालोको किरण न्यायाधीशको मुखबाट झर्ने सत्यको शब्द हो । न्यायालयको तराजुले केवल कागजमा लेखिएका तौलमात्र मापन गर्दैन, त्यो त तराजु बोक्ने व्यक्तिको अन्तस्करणको शुद्धता, नैतिकता र न्यायप्रतिको अगाध समर्पणलाई मापन गरिरहेको हुन्छ । समाजमा हजारौं पद हुन्छन् मन्त्री हुन्छन्, प्रधानमन्त्री हुन्छन्, प्रशासक हुन्छन् र सुरक्षा प्रमुखहरू हुन्छन् तर यी सबै पद र न्यायको आसनमा बस्ने न्यायाधीशको बीचमा आकाश-पातालको किन फरक हुन्छ ? प्रकारान्तरले, न्यायाधीश भनेको जनताका जिजीविषाको शक्ति र उनीहरूको अन्तिम सहारा हो । जब राज्यका अन्य अंगहरूबाट नागरिक अन्यायमा पर्छन्, जब कानुनका ठेलीहरूले निमुखाहरूको पक्षमा बोल्न छोड्छन् र जब चारैतिर अन्यायको अन्धकार छाउँछ तब नागरिकले देख्ने एकमात्र उज्यालोको किरण भनेको न्यायाधीशको मुखबाट झर्ने सत्यको शब्द हो । न्यायाधीश व्यक्तिको सीमाभन्दा माथि हुन्छ । ऊ समाजको विवेकको पहरेदार हो । यदि न्यायाधीश बिक्यो, झुक्यो, प्रलोभनमा पर्यो वा डगमगायो भने त्यसले केवल एक थान मुद्दाको फैसला गुमाउँदैन, त्यसले सिंगो समाजको विश्वासको धरहरालाई चकनाचुर पार्छ । असाधारण धैर्य, विवेक र निस्पृहता भएको पात्रको रूपमा पाउनुपर्छ । ऊ जनताको आँसु पुछ्ने दैविक हात हो । समाजमा धर्मको रक्षा गर्ने जिउँदोजाग्दो प्रतीक हो । अन्य पेशा र पेशाकर्मीहरूको जीवनशैलीभन्दा न्यायाधीशको जीवन पूर्णतया अलग, संयमित र उच्च मर्यादाले ओतप्रोत हुनुपर्छ । न्यायाधीश बन्नुभनेको कुनै जागिर खानु होइन, आध्यात्मिक, बौद्धिक र नैतिक साधना हो । साँचो न्यायाधीशमाथिको अनुशासन, जीवनशैली, मर्यादा र निष्ठा संसारका सामान्य मानिसभन्दा कैयौं गुणामाथि हुनुपर्छ । अध्ययन, अनुसन्धान, जप, तप, ध्यान र आत्मसंयमले ओतप्रोत नभएको व्यक्ति कहिल्यै पनि न्यायको आसनमा बस्न योग्य हुँदैन । समाजमा जस्तोसुकै आँधीबेहरी आओस्, प्रलोभनका पहाड खडा होऊन् वा धम्कीका आँधी चलुन्, न्यायाधीश एउटा अटल हिमालयझैँ आफ्नो स्थानमा अडिग रहनुपर्छ । जसको मनमा लोभ, मोह, अहंकार र भौतिक विलासिताको लालसा छ, उसले कानुनका हजारौं ग्रन्थ पढे पनि सत्य र न्यायको पक्षमा उभिन सक्दैन । न्याय दिनुभनेको केवल कानुनी धाराको प्रयोग होइन, यो पवित्र विवेकको प्रकटीकरण हो । सादगी, निष्ठा न्यायाधीशको सबैभन्दा ठूलो कवच र शक्ति हो । अन्य जुनसुकै पदहरूलाई हेरौं, हामी कसैलाई पनि ‘मन्त्रीमूर्ति’, ‘सचिवमूर्ति’ वा ‘प्रधानमन्त्रीमूर्ति’ भनेर सम्बोधन गर्दैनौं तर न्यायको आसनमा बस्ने व्यक्तिलाई मात्र हामीले आदरपूर्वक ‘न्यायमूर्ति’ भन्छौं । जसलाई ‘न्यायमूर्ति’ भन्छौं, ऊ जनताका लागि ईश्वरको प्रत्यक्ष प्रतिनिधि वा ईश्वरकै अंश हो भन्ने मान्यता राखिन्छ । जबसम्म कुनै न्यायाधीशले आफूभित्र त्यो ईश्वरीय अंश र उत्तरदायित्वको बोध गर्दैन तबसम्म उसको आचरणमा प्रश्नचिह्न खडा हुन्छ । संसारका सामान्य मानिसहरूले आफ्नो दुईटा भौतिक आँखाले जे देख्छन्, त्यसलाई सत्य मान्छन् । साक्षीका बयान, कागजका फाइल र वकिलका कुटिल तर्क त्यही भौतिक आँखाले देखिने विषय हुन् तर न्यायको आसनमा बस्ने व्यक्ति साधारण मानिस होइन, उसका लागि ‘तेस्रो नेत्र’ खुलेको हुनुपर्छ । तेस्रो नेत्र खुल्नुभनेको अन्तर्दृष्टि जाग्नु हो । तेस्रो नेत्र नभएको न्यायाधीश केवल कानुनका दफा र उपदफा पल्टाउने एउटा यन्त्रमात्र बन्छ । एक साँचो न्यायमूर्तिको दिनचर्या ब्रह्ममुहूर्तको उठाइ, प्रातःकालीन ध्यान, शारीरिक एवं मानसिक शुद्धि र सादगीको प्रतिमूर्ति हुनुपर्छ । जो व्यक्ति विलासिता र प्रलोभनका अनन्त रंगहरूमा अल्झिरहन्छ, उसको अन्तस्करण कहिल्यै निर्मल हुनसक्दैन । ब्रह्ममुहूर्तको शान्त वातावरणमा गरिने साधनाले मानिसमा धैर्य, सहनशीलता र दिव्य विवेक पैदा गर्छ । त्यो सात्विक ऊर्जाले ओतप्रोत भएको मानिसमात्र इजलासमा बस्दा प्रलोभनका आँधीबेहरी सामु अडिग रहनसक्छ । अहिले हाम्रो न्याय प्रणाली कागजी खोष्टा, दसी-प्रमाण र कानुनी दफाहरूको जालोमा नराम्ररी रुमल्लिरहेको छ तर यथार्थ के हो भने न्याय फगत कागजी प्रमाणबाट मात्र निसृत हुने विषय होइन । कागजमा लेखिएका अक्षर झुटा हुनसक्छन्, साक्षीहरू बिक्न सक्छन् । साँचो न्याय भनेको गहिरो अध्ययन, अनुसन्धान, विवेक र साधनाका माध्यमबाट ब्रह्माण्डको चेतनाबाट निसृत हुने सत्यको प्रकटीकरण हो । एक साँचो न्यायाधीशले ती कागजी खोलहरूभन्दा हजार गुणामाथि उठेर पीडितको आँसुको भाषा बुझ्न सक्नुपर्छ । जब न्यायाधीश आफ्नो सम्पूर्ण अहंकारलाई पन्छाएर, सम्पूर्ण प्रलोभनलाई जितेर, मौन साधनाको गहिराइबाट सत्यलाई बाहिर ल्याउँछ तब त्यसले दिएको फैसलाले ब्रह्म न्यायको वास्तविक रूप प्रकट गर्छ । न्याय र न्यायाधीशको परम सत्य हो जसमाथि हाम्रो सम्पूर्ण लोकतान्त्रिक र नैतिक व्यवस्था टिकेको छ । अहिलेको राजनीतिक भागबण्डा र भनसुनका आधारमा हुने न्यायाधीश नियुक्तिले न्यायालयलाई सुधार्न सक्दैन । यो विकृतिको अन्त्य गर्न न्यायाधीश छान्ने छुट्टै, वरिष्ठ र जिम्मेवारीमा कतै खोट नलागेका, प्रतिष्ठित पात्रहरूको उच्चस्तरीय समूह बनाइनुपर्छ । छनोट गर्ने मुहान सफा हुन्छ तबमात्र न्यायालयमा योग्य, सात्विक र निष्ठावान् न्यायमूर्तिहरू प्रवेश गर्न सक्छन् । न्यायालय तबमात्र न्यायालय बन्छ जब त्यहाँ प्रवेश गर्ने असहाय र प्रताडित नागरिकले इजलासमा बस्ने न्यायाधीशको आकृतिभित्र ईश्वर विराजमान भएको अनुभूति गर्नसक्छ । जब एक पीडित नागरिकले देख्छ कि न्यायाधीशमा कुनै पक्षपात छैन, कुनै लोभ छैन र उसले बोल्ने प्रत्येक शब्दमा सत्य र धर्मको बासना छ तब उसले त्यस न्यायाधीशलाई केवल एक कर्मचारीमात्र देख्दैन ऊ त त्यसमाथि आफ्नो जीवनको रक्षक र भगवान्को रूप देख्छ । यदि जनताले न्यायाधीशको अनुहारमा निष्पक्षता र करुणाको सट्टा स्वार्थ, अहंकार र क्रुरता देख्छन् भने त्यो अदालत मन्दिर नरहेर केवल अन्यायको सौदाबाजी गर्ने अड्डा बन्छ । आजको सबैभन्दा ठूलो विडम्बना न्यायाधीश छान्दा केवल उसको कागजी योग्यता, वकिलको रूपमा बिताएको वर्ष वा परीक्षाको अंकलाई मात्र आधार मान्छौं तर न्यायप्रणालीलाई संल्याउने हो भने यो तरिका पूर्णतया अपर्याप्त र घातक साबित भइसकेको छ । न्यायाधीशको वर्तमान योग्यतामात्रै होइन उसको पारिवारिक परिवेश, बाल्यकालदेखिको आचरण, व्यवहार, उसका साथीसँगती र उसका विगतको सामाजिक निष्ठाको मसिनो अध्ययन, विश्लेषण र चिरफार गरिनुपर्छ । अहिलेको राजनीतिक भागबण्डा र भनसुनका आधारमा हुने न्यायाधीश नियुक्तिले न्यायालयलाई सुधार्न सक्दैन । यो विकृतिको अन्त्य गर्न न्यायाधीश छान्ने छुट्टै, वरिष्ठ र जिम्मेवारीमा कतै खोट नलागेका, समाजका निष्कलंक, प्रतिष्ठित पाको पात्रहरूको उच्चस्तरीय समूह बनाइनुपर्छ । जब छनोट गर्ने मुहान सफा हुन्छ तबमात्र न्यायालयमा योग्य, सात्विक र निष्ठावान् न्यायमूर्ति प्रवेश गर्नसक्छन् । न्यायपालिकाको सर्वोच्च आसनमा बस्ने, अर्थात् न्यायमूर्तिको नेतृत्व गर्ने प्रधानन्यायाधीशको कुर्सीमा बस्ने जब आफ्नो पदीय मर्यादा, आचरण र निष्ठाबाट चिप्लिन्छन्, तब त्यसले सिंगो न्यायपालिकाको मुहारमा कालो पोत्छ । पछिल्ला दशकमा नेपालको न्यायपालिकाले भोगेका राजनीतिक हस्तक्षेप, पदीय दुरुपयोग र नैतिक स्खलनका घटनाले न्यायालयलाई जनताको नजरमा धुलोमा मिलाइदिए । कुनै देशको न्यायालय तबसम्ममात्र जीवित मानिन्छ जबसम्म जनविश्वासको प्राण बाँचिरहन्छ । जनविश्वास गुमाएको न्यायालय र न्यायाधीश भनेको आत्मा हराएको शरीरबाहेक केही होइन । अहिलेको टड्कारो आवश्यकता भनेको न्यायपालिकालाई जरादेखि नै पुनर्जागृत गर्नु हो । पदले कोही पनि न्यायाधीश हुँदैन, साधना, निष्ठा, सादगी र निष्कलंक चरित्रले मात्र मानिसलाई न्यायाधीश बनाउँछ । न्यायाधीशहरूले आफूलाई फगत ‘जागिरे’ ठान्ने प्रवृत्तिलाई सदाका लागि तिलाञ्जली दिएर, ब्रह्मबाट निसृत हुने सत्यको प्रकटीकरणलाई कर्मले पालना गर्नुपर्छ । जबसम्म हामीले न्यायाधीशको छनोट गर्ने प्रक्रियालाई पारदर्शी, निष्कलंक र पारिवारिक-नैतिक पृष्ठभूमिको कसीमा बलियो बनाउँदैनौं, जबसम्म न्यायालयमा सात्विक साधनाले ओतप्रोत न्यायमूर्ति पुग्दैनन्, तबसम्म लोकतन्त्र बलियो हुनसक्छ न आमनागरिकले वास्तविक न्यायको अनुभूति गर्न सक्छन् । न्यायालयको मुहार फेर्न सर्वप्रथम न्यायाधीशहरूको अन्तस्करण बदलिनै पर्छ । न्यायाधीश साधारण जागिरे नभई समाजको विवेकको पहरेदार र न्यायको तेस्रो नेत्रले सुसज्जित दैविक प्रतिनिधि हो । कागजी खोष्टा र दसी-प्रमाणको सीमितताभन्दा माथि उठेर मौनसाधना, सादगी र ब्रह्मचेतबाट निसृत हुने सत्यलेमात्र ‘ब्रह्म न्यायको वास्तविक प्रकटीकरण गर्नसक्छ ।
ब्रह्मचेतको न्याय र हाम्रो यथार्थ : न्यायको तेस्रो नेत्र

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


.jpg)



