काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को ४१औँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। शुक्रबार काठमाडौंको होटल मर्क्युरमा हुने संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको हो। संघको परम्पराअनुसार उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले हाल उपाध्यक्ष रहेका रेग्मीले नेतृत्व सम्हाल्न लागेका हुन्। पछिल्लो १३ वर्षदेखि संघमा उपाध्यक्ष नै अध्यक्ष बन्दै आएका छन्। दुई वर्षअघि भने अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। त्यतिबेला पूर्वअध्यक्षहरूको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेपछि शेरचनले उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि २०८१ पुसमा सम्पन्न संघको ३८औँ साधारणसभाले माछापुच्छ्रे बैंकका सीईओ कोइरालालाई अध्यक्ष र रेग्मीलाई उपाध्यक्ष चयन गरेको थियो। त्यस्तै, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल संघको नयाँ उपाध्यक्ष बन्ने निश्चित भएको छ। यस विषयमा बुधबार नै अनौपचारिक छलफलबाट सहमति जुटेको बताइएकाे छ। हाल संघको अध्यक्षमा कोइराला र उपाध्यक्षमा रेग्मी छन्। कार्यकारिणी समितिमा कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह सदस्य छन्। हिमालयन बैंकका सीईओ अशोक राणा संघका सल्लाहकार छन्।
बैंकर्स संघको नेतृत्व परिवर्तन हुँदै, अध्यक्षमा सुरेन्द्रराज रेग्मी पक्का !

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






