काठमाडौं । चीनमा हुने ‘बेल्ट एण्ड रोड यू-१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमका बीच उक्त टोलीलाई बिदाइ गरेको हो । त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यू-१९ महिला विश्वकपको तयारी स्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्यांकन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । क्यानका अनुसार ‘बेल्ट एण्ड रोड सिरिज’ मंगलबारदेखि यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
‘बेल्ट एण्ड रोड यू-१९ सिरिज’ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




_hN4rwskxnG.jpg)
