काठमाडौं । बिहानै स्कुल गएका तीन जना बालबच्चा साँझ घर फर्किंदा कहाँ आउलान् ? कसैका बच्चा विद्यालय जान पाएनन् । पटक–पटक बस्ती र विद्यालय सार्दा बालबच्चाको शिक्षामा कस्तो असर पर्ला ? आफूहरू बस्दै आएको ठाउँ खाली गर्नुपरेपछि अब कुन छानामुनि रात बिताउलान् ? साँझ चुल्हो कसरी बल्छ ? यी प्रश्न र समस्या भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा आश्रित सुकुम्बासी परिवारका हुन् । यो चित्कार उनीहरूकै हो । काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो । गत असारदेखि उक्त भवनमा आश्रय लिइरहेका परिवारलाई अहिले त्यहाँबाट समेत हट्न प्रशासनले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार लिखित सूचना टाँस्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । यसअघि मंसिर २ गते नै एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो । प्रशासनको अल्टिमेटमपछि केही परिवारले होल्डिङ सेन्टर छाडिसकेका छन् । तर, अझै १९ परिवारका ५९ जना त्यहीँ आश्रित छन् । उनीहरूका लागि अब कहाँ जाने भन्ने प्रश्न अनुत्तरित छ । रौतहटकी ४५ वर्षीया पुनम देवी पासवानका चार छोरा र चार छोरीसहित १० जनाको परिवार बोडेस्थित कृषि तालिम केन्द्रमा आश्रित छन् । करिब २० वर्ष थापाथली क्षेत्रमा बिताएको उनको परिवार बस्ती हटाइएपछि कीर्तिपुर हुँदै बोडेको होल्डिङ सेन्टरमा पुगेको थियो । अहिले बोडेबाट पनि विस्थापित हुने सूचना पाएसँगै उनले बस्ती नछाड्ने अडान लिएकी छन् । ‘हाम्रो जग्गा कहाँ छ, त्यो देखाइदिनुपर्यो । जग्गा देखाएर बस्ने ठाउँको व्यवस्था गरिदिए हामी आफैँ जान्छौँ । यसरी बालबच्चा लिएर कहाँ जाने ?’ पुनम भन्छिन् । आज बस्ती खाली गर्ने सूचना पाएपछि परिवारहरूले बालबालिकालाई विद्यालय पठाएका छैनन् । बोडेको होल्डिङ सेन्टरबाट ११ जना विद्यार्थी विद्यालय जाने गरेका थिए । तर, आज पुनम देवी पासवानका तीन छोराछोरी मात्रै विद्यालय गएका छन् । बिहान करिब ७ बजेतिर आफूलाई जानकारी नै नदिई बालबच्चा कालीमाटीस्थित परोपकार स्कुल गएको उनले बताइन् । ‘बिहान बस आयो, बच्चाहरूलाई स्कुल पठाएँ । सधैँ बसले घरमा ल्याइदिन्थ्यो, आज आफैँ लिन आउनु भनेको छ । अब बस्ती खाली गर्नुपरे स्कुलबाट उनीहरूलाई कसरी ल्याउने ?’ उनी भन्छिन्, ‘सरकारले हामीलाई उठिबास त लगायो, बच्चाको भविष्य पनि अलपत्र पारिदियो ।’ होल्डिङ सेन्टरमा बसिरहेका सुमन चौधरी पनि सरकारले बास उठाउन खोज्दै गाससमेत रोकिदिएपछि परिवारहरू थप समस्यामा परेको बताउँछन् । त्यसैगरी, सुकुम्बासी अभियन्ता दलमर्दन कामीले आश्रयस्थल खाली गराउन दबाब बढिरहेका बेला विकल्पबिना आफूहरूलाई उठिबास लगाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरू जाने अर्को ठाउँ नभएकाले आश्रयस्थल नछाड्ने उनले चेतावनी दिएका छन् ।
बिहान स्कुल गएका बालबालिका साँझ कहाँ फर्किने ? सुकुम्बासीलाई बोडेबाट पनि उठिबासको त्रास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






