काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानकै आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोपका आधारमा कसैको धारणा बनाउन नहुने बताएका हुन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै बिचौलियाले भनेको भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु गलत भएको बताए । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे । त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ उनले प्रश्न गरे । शर्माले कांग्रेस सभापति गगन थापा र आफूलाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि पनि प्रश्न उठाए । गगन थापा जीवनमा ८/९ महिना मात्रै मन्त्री बनेको र आफू सांसद मात्रै भएको उल्लेख गर्दै उनले यस्ता आरोपको खण्डन गरे । बिचौलियाको भनाइलाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै शर्माले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाण मान्छ कि मान्दैन भन्ने उदाहरणसमेत दिए । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन,’ उनले भने । उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान, संविधान र कानुनअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गरे । राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । काभ्रेको कांग्रेसले पनि आफ्नो संगठनको जग बलियो बनाउनुपर्नेमा उनले जोड दिए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक तनाव नलिई अध्ययन, मेहनत र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे ।
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


.jpg)



