काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लिएर राजनीतिक वृत्तमा दोहोरो चरित्र देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले बिहान बालेनलाई ढाल्ने भन्दै चर्को आवाज उठाउनेहरू साँझ भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्याञ्जनकारको निवास पुग्ने गरेको दाबी गरेका छन्। उनले बिहान र साँझ फरक व्यवहार देखाउने राजनीतिक पात्रहरूको चरित्रमाथि प्रश्न उठाउँदै उनीहरू दोहोरो चरित्र भएका व्यक्ति हुन् वा जासुस भन्दै व्यङ्ग्य गरेका छन्। बाँस्कोटाले लेखेका छन्, ‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने नै हो भनेर घोक्रो सुकुञ्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्। डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन् कि जासुस ? सुनेर छक्क परियो।’ ज्वागलमा प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार व्याञ्जनकारको निवास रहेको छ। बाँस्कोटाको यो टिप्पणीले राजनीतिक वृत्तमा देखिएको आन्तरिक गतिविधि र नेताहरूको दोहोरो भूमिकामाथि व्यङ्ग्य गरेको देखिन्छ।
बालेनविरुद्ध चर्को बोल्नेहरू साँझ ज्वागल पुग्छन् : गोकुल बाँस्कोटा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






