भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने उपहार दिएका हुन् । प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार सेट प्रदान गरेका छन् । कलात्मक काठको बट्टामा राखेर दिइएको उक्त उपहारमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश छ । प्रधानमन्त्री शाहले मोदीलाई दिएको उक्त उपहार व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् । भेटवार्ताका क्रममा मोदीले शाहलाई उक्त घडा हस्तान्तरण गरेका हुन् । त्यसैगरी, नेपाली दूतावासका तर्फबाट पनि भारतीय प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानमा नेपालका पशुपतिनाथ मन्दिरसँग जोडिएका धार्मिक सामग्री र भारतको गंगाजल समावेश भएका छन् । यसले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ ।
बालेनले के दिए मोदीलाई, मोदीले के दिए उपहार ?

Read Complete Original Article
Published originally on पर्दाफास






