विराटनगर । विराटनगरस्थित बालसुधार गृहभित्रै गाँजा र प्रतिबन्धित मोबाइल फोन फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रहरीको निगरानी हुँदाहुँदै पनि प्रतिबन्धित सामग्री भेटिएको हो । विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार प्रहरीले सञ्चालन गरेको खोजतलासका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल फोन र सुर्तीजन्य पदार्थ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बिहानदेखि सुधार गृहका विभिन्न स्थानमा खोजी गरेको थियो । सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार नियमित जाँचका क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल फोन र थोरै परिमाणमा गाँजा फेला परेको हो । सुधार गृहभित्र मोबाइल प्रयोग गर्न अनुमति नभए पनि ती सामग्री कसरी भित्रिए भन्नेबारे स्पष्ट हुन नसकेको उनले बताए । सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना असईको नेतृत्वमा ११ जना प्रहरी परिचालित छन् । सुरक्षाकर्मीको निगरानी हुँदाहुँदै पनि आफन्त तथा भेटघाटका लागि आउने व्यक्तिले जाँच छल्दै प्रतिबन्धित सामग्री पुर्याएको हुन सक्ने आशंका गरिएको छ । बालसुधार गृहमा क्षमताभन्दा अत्यधिक चाप हुनु अर्को चुनौती बनेको छ । ५० जनाको क्षमता रहेको ब्लकमा अहिले १९३ जना बालबिज्याइँकर्ता राखिएका छन् । त्यस्तै, १८ वर्ष उमेर पार गरेका र उच्छृंखल गतिविधिमा संलग्न भएकाहरूलाई मोरङ कारागारभित्र छुट्टै राखिएको छ । त्यहाँ ६२ जना छन् । दुवै स्थानमा गरी बालबिज्याइँकर्ताको संख्या २५५ पुगेको छ ।
बालसुधार गृहभित्र भेटियो गाँजा र मोबाइल फोन, सुरक्षा व्यवस्थामाथि प्रश्न

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






